
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुंगामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलिमिटर वर्षा मापन गरिएको छ ।