१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आसिफले जिते एमसिसी अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले इंग्ल्यान्डका बेन स्टोक्स र जोस बटलरजस्ता विश्व चर्चित क्रिकेटरलाई पछि पार्दै सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड जिते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:२१:oo

नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित ओपनर आसिफले इंग्ल्यान्डका बेन स्टोक्स र जोस बटलरजस्ता विश्व चर्चित क्रिकेटरलाई पछि पार्दै सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड जितेका हुन् । विश्वकै पुरानोमध्ये एक क्लब एमसिसीले सिएमजे स्पिरिट क्रिकेट अवार्ड सन् २०१३ देखि थालनी गरेको हो । 

एमसिसीका पूर्वअध्यक्ष क्रिस्टोफर मार्टिन जेन्किन्सको सम्झनामा सो अवार्ड प्रदान गर्दै आइरहेको छ । यसपटक नेपाली खेलाडीले बाजी मारेको हो । गत वर्षको फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै आसिफलाई अवार्ड दिइएको एमसिसीले जनाएको छ । अल अमरेत क्रिकेट मैदानमा आयरल्यान्डका ब्याट्सम्यान एन्डी म्याकबर्नीलाई सहज रूपमा रनआउट पार्न सक्थे । तर, उनले खेल भावना देखाउँदै म्याकबर्नीलाई रनआउट गरेनन् । 

 आयरल्यान्डविरुद्धको १९औँ ओभर
यसै भावनाका कारण नै आसिफले सिएमजे स्पिरिट अवार्ड जित्न सफल भए । गत वर्ष युएईमा भएको खेलमा इनिङ्सको १९औँ ओभरमा कमलसिंह ऐरीले आयरल्यान्डविरुद्ध बलिङ गरेका थिए । त्यसवेला आयरल्यान्ड ११३–८ को अवस्थामा थियो । १९.३ ओभरमा मार्क आदिरले एक रन लिने प्रयास गरे । नन स्ट्राइक एन्डबाट कुदेका म्याकबर्नी कमलसँग अल्झिएर क्रिजमै लडे । मिडविकेटमा गएको बल समात्ने क्रममा कमल र म्याकबर्नी एकआपसमा ठोक्किए । 

म्याकबर्नी उठेर क्रिजतर्फ दौडिए । म्याकबर्नीका पार्टनर आदिर भने आधा क्रिज नाघिसकेका थिए । कमलले मिडविकेटबाट विकेटकिपर आसिफलाई बल दिए । आसिफको ग्लोबमा बल आउँदासम्म म्याकबर्नी क्रिजभन्दा धेरै टाढा थिए । उनले चाहेको भए म्याकबर्नीलाई सहजै रनआउट गर्न सक्थे । तर, उनले रनआउट गरेनन् ।

आसिफको यो खेल भावना घटना विश्वभरि नै चर्चित भएको थियो । विश्वका प्रसिद्ध समाचार एजेन्सी तथा क्रिकेटरले आसिफको प्रशंसा गरेका थिए । विश्व क्रिकेटको आधिकारिक संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत आफिसको प्रशंसा गरेको थियो । यसअघि नै आइसिसीले आसिफलाई स्पिरिट अफ दी क्रिकेट इयर २०२२ अवार्ड प्रदान गरेको थियो ।

ad
ad