१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : मकवानपुरमा छोइसाङ, वन विज्ञानमा दीपेन्द्र विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमखी क्याम्पसमा पहिलोपटक माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उम्मेदवार सभापतिमा विजयी भएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको हिजो (चैत ५ गते) सम्पन्न निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा (तामाङ) विजयी भएका हुन्। 

उनी माओवादी केन्द्र, कांग्रेस र राप्रपानिकट विद्यार्थी संगठनहरू अखिल क्रान्तिकारी, नेविसंघ र राप्रविसको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए। यसअघिका प्रत्येक स्ववियु निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवार स्ववियु सभापतिमा निर्वाचित हुँदै आएका थिए।

अखिल क्रान्तिकारीका तामाङले एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीनिकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका नवराज शर्मा (पौडेल)लाई हराएका हुन्। सोमबार बिहान सम्पन्न मतगणनाअनुसार विजयी तामाङले आठ सय १३ मत प्राप्त गर्दा प्रतिस्पर्धी पौडेलले ६ सय ८२ मत प्राप्त गरेका छन्। 

यसैगरी सचिवमा नेविसंघका बर्साद घिमिरे र कोषाध्यक्षमा अनेरास्ववियुकी हिमानीकुमारी सुवेदी निर्वाचित भएकी छिन्। उनीहरूले क्रमशः सात सय ६७ र आठ सय चार मत प्राप्त गरेका छन्। यस्तै, सदस्यहरूमा अनेरास्ववियुका पाँचजना र अखिल क्रान्तिकारीका तीनजना विजयी भएका छन्। 

समानुपातिकतर्फ अनेरास्ववियुसहितको गठबन्धनले सात सय ६९ मत र अखिल क्रान्तिकारीसहितको गठबन्धनले सात सय ८० मत प्राप्त गरेको छ। कुल तिन हजार ९१ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा एक हजार पाँच सय ७४ मत खसेको थियो। 

वन विज्ञानमा दीपेन्द्र कँडेल विजयी

यता मकवानपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस वन विज्ञान अध्ययन संस्थानको स्ववियुमा कांग्रेसनिकट विद्यार्थी संगठनका दीपेन्द्र कँडेल सभापतिमा निर्वाचित भएका छन्।

उनले अनेरास्ववियुका सभापतिका उम्मेदवार अरुण अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन्। 

कँडेलले २१४ मत पाउँदा अधिकारीले एक सय दुई मत पाएका छन्। कँडेल नेविसंघ, अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए भने अधिकारी एमाले र एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए।

यस्तै, स्ववियु सचिवमा अनेरास्ववियुका किस्मत रेग्मी र कोषाध्यक्षमा क्रान्तिकारीकी दिपना खड्कामगर विजयी भएकी छिन्। स्ववियु कार्यसमिति सदस्यमा क्रान्तिकारीका तीन र नेविसंघका दुईजना विजयी भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. ललितकुमारलाल दासले जानकारी दिए।