मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ६ सोमबार ०९:२४:००
Read Time : > 11 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

उद्योग–व्यवसायको चिन्ता ऋणीभन्दा बैंकलाई बढी छ [भिडियाेसहित]

Read Time : > 11 मिनेट
२०७९ चैत ६ सोमबार ०९:२४:००

विगत एक वर्षदेखि उद्योगी व्यवसायीहरू ब्याजदर घटाउनुपर्ने माग राख्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत छन् । ब्याजदर बढेकै कारण ऋण तिर्न र उद्योग–व्यवसाय चलाउन नसकेको उनीहरूले गुनासो गरेका छन् । बैंकको खराब कर्जा र ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने ऋणीको संख्या दोब्बरले बढेको तथ्यांक बाहिर आएको छ । ठीक यही वेला विश्वकै शक्तिशाली देश अमेरिकामा तीनवटा बैंक डुबेको घटनाले संसारभर तरंग ल्याएको छ ।

यसै घटनालाई जोडेर नेपालको बैंकिङ क्षेत्र के–कति सुरक्षित छ भनेर बहससमेत हुन थालेको छ । बैंकविरुद्धको आन्दोलन, बैंकिङ क्षेत्रको जोखिम तथा अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायलगायत विषयमा केन्द्रित भएर नयाँ पत्रिकाका कृष्ण रिजालपवन तिमिल्सिनाले नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीसँग गरेको संवादको सार :

पछिल्लो समय उद्योगी व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत छन् । कतिपय ठाउँमा अराजक गतिविधि पनि भएका छन् । यस्ता गतिविधिप्रति नेपाल बैंकर्स एसोसिएसनको धारणा के छ ? 

हामीले दुई साताजति अघि प्रेस विज्ञप्ति नै जारी गरेर आफ्नो धारणा राखिसकेका छौँ । बैंक तथा वित्तीय संस्थाविरुद्धका यस्ता अन्दोलन कुनै पनि अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण हो । अहिले ब्याजदर घट्नुपर्ने अथवा एकल अंकमा कायम हुनुपर्ने जुन खालको माग आएको छ, त्यो स्वतः निर्णय गरेर हुने कुरो होइन । ब्याजदरलाई बजारका विभिन्न तत्वले निर्धारण गर्छ । वेलावेला घट्ने र बढ्ने भइरहेको छ ।

अहिले विश्वव्यापी रूपमै ब्याजदर बढ्ने क्रम रहेको छ । अझै पनि ठूला–ठूला अर्थतन्त्र भएका युरोप, अमेरिका, बेलायतलगायतले ब्याजदर थप बढाइरहेका छन् र थप बढ्ने संकेत गरिरहेका छन् । पाकिस्तानमा आज बैंकदर २० प्रतिशत हाराहारी रहेको छ । त्यहाँ मूल्यवृद्धि २८ प्रतिशत छ । संसारभर महँगी बढिरहेको छ । विश्वमा जुन अवस्था र माहोल छ, नेपालमा त्योभन्दा फरक हुनुपर्छ भन्ने अपेक्षा गर्नु आफैँमा ठीक होइन । 

हाम्रो भनाइ के हो भने ब्याजदर घट्ने–बढ्नेचाहिँ बजारको कारणले हुन्छ । तरलता कम हुँदै जाँदा ब्याजदर बढ्ने हुन्छ । निक्षेपमा मूल्यवृद्धिभन्दा धेरै कम ब्याजदर दिएमा निक्षेप पलायन हुने जोखिम हुन्छ । हाम्रो धेरै तत्वलाई हेरेर, निक्षेपकर्ताको माग, बजारको मूल्यवृद्धि, माग र आपूर्तिलगायत सबै पक्षलाई हेरेर ब्याजदर निर्धारण गरेका हुन्छौँ । वेला–वेला परिवर्तन हुन्छ ।

यति प्राविधिक र संवेदनशील कुराको छिनोफानो सडकमा गएर गर्न खोज्नु दुर्भाग्यपूर्ण हो । यसले नेपालको अन्तर्राष्ट्रिय छविसमेत बिगार्छ । विदेशका ऋणदाता तथा लगानीकर्ताले नेपाललाई हेर्ने नजरसमेत नराम्रो बन्न सक्छ । अहिलेका गतिविधि बैंकलक्षित देखिए पनि कालान्तरमा त्यसको असर उद्योग–व्यवसायमै देखिन्छ । बैंकको रेट नै बैंकले तोक्न नपाउने माग आउँछ भने त्यसले त अप्ठ्यारो पार्छ नि ।

कुनै पनि उद्योग–व्यवसायमा ऋणीको ३० प्रतिशत र बैंकको ७० प्रतिशत लगानी हुन्छ । उद्योग–व्यवसायमा केही समस्या परेमा बैंक अझ बढी अप्ठ्यारोमा पर्छ । यसर्थ, कुनै पनि उद्योग–व्यवसायको विषयमा ऋणी जति चिन्तित हुन्छन्, त्योभन्दा बढी चिन्तित बैंक हुन्छ ।

हामीले नियामक निकायसँग र प्रधानमन्त्रीसमक्ष समेत हाम्रा कुरा राखिसकेका छौँ । एकदमै अप्ठ्यारो स्थिति आएको छ । कामै गर्न नसकिने अवस्था सिर्जना हुन थालेको छ । यदि हामीले पनि बैंक नै बन्द गरेर बस्नुपर्ने अवस्था आयो भने त्यसले त झन् भयावह स्थिति सिर्जना गर्नेछ । जुन कल्पनासमेत गर्न सकिँदैन । बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको गतिविधिको हामी घोर विरोध गर्दछौँ, यसलाई छिटो रोक्नुपर्छ । 

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको आन्दोलनलगायत गतिविधिले वित्तीय क्षेत्रमाथिको भरोसा नै गुम्ने खतरासमेत बढेको विश्लेषण भइरहेको छ । यसमा तपाईंको मूल्यांकन के छ ?

वित्तीय क्षेत्रको समग्र विश्वसनीयतामा कुनै कमी आएको छैन । अप्ठ्यारो परिस्थिति छ, चुनौती छ, काम गर्न गाह्रो भएको पक्कै हो । जब २०२० तिर कोभिड सुरु भइसकेपछि हाम्रो अर्थतन्त्र दुई–तीन वर्ष लगातार समस्यामा प¥यो । त्यसपछि हाम्रो अर्थतन्त्र केही तंग्रिन लागेको थियो । तर, युक्रेन–रसिया युद्ध र त्यसले सिर्जना गरेको अप्ठ्यारो परिस्थिति, मूल्यवृद्धिलगायतले गर्दा नयाँ तरंग ल्याएको छ । यी सबै परिस्थितिमा बैंकहरू सम्हालिएर अघि बढिरहेका छन्, जिम्मेवार भएर काम गरिरहेका छौँ । 

आजभन्दा ६–७ महिनाअघि हाम्रो विदेशी मुद्रा सञ्चिति खस्किएर घट्दैघट्दै गएर ९ अर्ब डलर हाराहारीमा आइसकेको थियो र त्यसले ७ महिनाभन्दा कम मात्रै आयात धान्ने अवस्था थियो । राष्ट्र बैंकले आयात निरुत्साहित ग¥यो, बैंकहरूले त्यसलाई अनुशरण गरे । त्यसरी अघि बढेपछि केही आयात घटेको छ, रेमिट्यान्स बढेको छ, भुक्तानी सन्तुलन राम्रो भएको छ, स्थिति सुधारोन्मुख भएको छ । यी सबैको पछाडि बैंकिङ उद्योगले गरेको जिम्मेवारीपूर्ण कदमको पनि हात छ । 

अहिले तरलता केही बढेको छ, निक्षेपको दर केही घटेको छ, कर्जाकै दर पनि घटेको छ, प्रिमियम घटाइएको छ । यसबाट साना तथा मझौला उद्यमीलाई राहत मिलेको छ । हामीले दीर्घकालीन मुद्दती निक्षेपको दर ११ प्रतिशत नै राखेर निक्षेपकर्तालाई हतोत्साहित पनि हुन दिएका छैनौँ । हामी सन्तुलित भएर अघि बढिरहेका छौँ । 

ऋण तिर्न नसकेकै कारण कालोसूचीमा पर्नेको संख्या उच्च दरमा बढेको छ । कतिपयले ऋण तिर्न नसकेर नै आत्महत्या गरेका घटना बाहिर आइरहेका छन् । बैंकहरूको खराब कर्जा पनि अझ बढिरहेको छ । यी सबै घटना तथा परिवेशलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ ? 

अहिले गएका वर्षको तुलनामा खराब कर्जा बढेको कुरा सत्य नै हो । तर, त्यसको पृष्ठभूमि तथा आधार कोभिडकालमै बनिसकेको थियो । त्यो वेला उद्यम व्यवसाय समस्यामा परेका थिए । धेरै उद्योग व्यापार नै बन्द हुने अवस्थामा पुगेका थिए । फेरि अन्तर्राष्ट्रियस्तरकै मूल्यवृद्धिलगायत कारण उद्यम व्यवसाय प्रभावित भए ।

अनि माग घट्यो, व्यवसायीको आत्मविश्वासमा पनि कमी आयो । तर, यी सबै पृष्ठभूमिलाई ख्याल नगरीकन ‘ब्याजदर’लाई दोष लगाइएको छ । यी सबै परिस्थितिको कारक ब्याजदर मात्रै होइन, अरू पनि छन् । विश्वव्यापी मूल्यवृद्धिको प्रभाव छ । तर, अहिले पनि हेर्ने हो भने स्थिति नियन्त्रणमै छ । अहिले २.४ प्रतिशत हाराहारी मात्रै खराब कर्जा छ, जुन अन्त पनि देखिन्छ । हामी सजग हुनुपर्छ, तर आत्तिहाल्नुपर्ने स्थिति छैन । तर, यो स्थितिलाई कसरी सुल्झाउने भन्ने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्छ । भिडभाड र सडकले यो समस्या सुल्झाउन सक्दैन । 

पर्यटन क्षेत्रमा सुधार देखिएको छ, ऊर्जाको निर्यात सुरु भएको छ, अन्य क्षेत्रमा क्रमशः सुधार हुँदै छ । सरकारी वित्त क्षेत्रमा केही समस्या भए पनि समग्र क्षेत्रमा केही आशावादी हुने ठाउँ छ । त्यसैले समस्या समाधान गर्न लागौँ, हामी बैंकर तयार छौँ । आज हाम्रो बैंकिङ क्षेत्रको ४८ सय अर्ब लगानी भएको छ, अधिकांश निजी क्षेत्रमै छ, हाम्रो लगानीको सुरक्षाका लागि पनि हामी निजी क्षेत्रलाई अघि लिएर जान तयार छौँ । 

उद्यमी व्यवसायीहरू सडक संघर्षमै आउनुपर्ने वातावरण कसरी बन्यो होला ? यसमा बैंक, उद्यमी व्यावसायी र नियामकीय निकायको कमजोरी के–कस्ता भए ?

कहीँ न कहीँ केही न केही सुधार गर्नुपर्ने ठाउँ त भई नै हाल्छ । सबै निर्णय उचित नहुन पनि सक्छन्, त्यसबाट सिक्नुपर्ने हुन्छ । तर, हामी विगतमा के भयो, समस्या किन आयो भन्ने विषयमा केन्द्रित हुनुभन्दा समस्या समाधान गर्नेेतर्फ लाग्नुपर्छ । समस्यामा परेका क्षेत्रलाई मद्दत गरेर अघि बढ्नुपर्छ । सरकारले पनि अबको दिनमा आर्थिक एजेन्डालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । हाम्रो संरचनागत सुधारमा पनि ध्यान दिनुपर्छ । हामी आन्तरिक उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ । आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हरित ऊर्जामा ठूलो लगानी दिन बाह्य क्षेत्र तयार छ ।

हामी बैंकिङ क्षेत्र पनि पर्यटन, हरित ऊर्जा, कृषिलगायत क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ । कृषिवस्तुको आयात ३–४ खर्बको छ । त्यो भनेको त्यहाँ लगानी आवश्यक छ भन्ने पनि हो । त्यसैले सरकार, निजी क्षेत्र र बैंक बढीभन्दा बढी उत्पादनमा केन्द्रित हुनुपर्छ । निजी क्षेत्रले पनि उत्पादनका लागि कर्जा माग्न आउनुपर्छ । माग नै आएन भने हामी आयातमै लगानी गर्न पनि बाध्य हुनुपर्छ । अनि, सरकारी नीति पनि त्यहीअनुसार बन्नुपर्छ । अर्थतन्त्रमा अप्ठ्यारोमा छ । यस्तो संवेदनशील समस्याको समाधान सडकमा गएर ल्याउन खोज्यो भने त्यसको परिणाम भयावह हुन्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन । 

बैंकहरूले नियमविपरीत बढी प्रिमियम असुलेको भनेर राष्ट्र बैंकले थुप्रै बैंकलाई कारबाही नै ग¥यो, बढी असुलिएको प्रिमियम फिर्ता नै गरायो । सेवाशुल्क मनपरी भएको गुनासो प्रशस्त सुनिन्छ । यस्ता गतिविधिले पनि उद्यमी व्यवसायी बढी चिढिएका हुन् कि ? 

तथ्यांकमा रहेर कुरा गरौँ, नेपालका बैंक तथा वित्तीय संस्थाले लिएको सेवाशुल्क संसारकै सबैभन्दा सस्तोमध्येमा पर्छ । धेरै शुल्कमा नियामकीय नियन्त्रण छ । बैंकको कुल आयमा सेवाशुल्कको हिस्सा हेर्ने हो भने हाम्रो दक्षिण एसियामै कम छ । 

बैंक भनेको अर्थतन्त्रको मुख्य अंग हो । यसर्थ, अर्थतन्त्र राम्रो हुनलाई बैंकको स्वास्थ्य राम्रो हुनुपर्छ । बैंकिङ क्षेत्रको स्वास्थ्य राम्रो हुन बैंकले नाफा गर्नुपर्छ, नाफाविना त कुनै पनि उद्योग–व्यवसाय स्वस्थ हुँदैनन् नि । तर, नाफा कारणयोग्य हुनुपर्छ भन्नेमा कुनै शंका छैन । 

हामी सजग हुनुपर्छ, सबैभन्दा ठूलो प्राथमिकताचाहिँ निक्षेपकर्तामा ध्यान दिनुपर्छ । उहाँहरूको दीर्घकालीन लाभमा पनि हामीले सोच्नुपर्छ । यदि निक्षेप नै रहेन भने त कर्जा कसरी दिइन्छ र ? यसका साथै ऋणीको बारेमा पनि हामी सजग हुनुपर्छ, किनकि त्यहाँ पनि हाम्रो ठूलो लगानी भएको हुन्छ । हामी सामान्यतः ७०:३० को अनुपातमा कर्जा दिइरहेका हुन्छौँ । अर्थात्, कुनै पनि परियोजनामा ऋणीले आफ्नो पुँजीको रूपमा ३० प्रतिशत लगानी गर्छ र ७० प्रतिशत बैंकले लगानी गरिदिन्छ । यसर्थ, त्यो परियोजनामा लगानीका हिसाबले बैंकको हिस्सा बढी भयो नि । भोलिको दिनमा केही समस्या परेमा बैंक अझ बढी अप्ठ्यारोमा पर्छ नि । यसर्थ, कुनै पनि उद्योग–व्यवसायको विषयमा ऋणी जति चिन्तित हुन्छन्, त्योभन्दा बढी हामी चिन्तित हुन्छौँ । साझेदारका रूपमा हामी बढी चिन्तित हुन्छौँ । 

तर, बैंकले यति नाफा गर्‍यो, उति नाफा गर्‍यो भनेर आलोचना हुने गरेको छ, जुन गलत हो । बैंकले नाफा आर्जन गर्न जरुरी छ, साथै उद्योगी व्यवसायीले पनि नाफा आर्जन गर्न जरुरी छ । सेयरमा रहेको प्रतिफलको हिसाबले हेर्ने हो भने बैंकको नाफा अझै पनि कम छ । अहिले पनि पुँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) १०–११ प्रतिशत मात्रै छ । ६ सय ७० अर्बको पुँजीमा जम्मा वर्षमा ५०–६० अर्ब मात्रै नाफा आइरहेको छ । 

त्यसैले बैंकको नाफालाई लिएर हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्छ जस्तो लाग्छ । सकारात्मक रूपमा लिनुपर्छ । जलविद्युत्को सम्भावना छ । नेपाललाई मात्रै होइन, दक्षिण एसिया र सिंगो विश्वलाई नै हरित ऊर्जामार्फत योगदान दिन सक्छौँ । यसका लागि लगानी आउने बाह्य स्रोत पनि छन् । तर, हामी ठीक भएनौँ भने स्रोत आउँदैन । सबैले संरक्षण गर्नुपर्ने उद्योगचाहिँ बैंकिङ नै हो । 

उद्यमी व्यवसायीको मुख्य माग कर्जाको ब्याजदर घटाएर एकल अंकमा झार्नुपर्ने भन्ने नै छ । प्रधानमन्त्रीले सार्वजनिक रूपमै ब्याजदर घटाउने पहल भइरहेको बताउनुभएको छ । अहिले कर्जाको ब्याजदर एकल अंकमा झर्ने सम्भावना के–कति छ ? 
ब्याजदरलाई धेरै तत्वले प्रभाव पार्छ । तरलता सहज हुँदै जाँदा ब्याजदर कम हुन्छ । कोभिडको समय जतिवेला तरलता अधिक थियो, त्यो वेला एकल अंकको ब्याजदर थियो । तर, कोभिडभन्दा अघिचाहिँ १२ प्रतिशतको हाराहारीमा ब्याजदर थियो । कोभिडको अप्ठ्यारो वेलामा हामीले उद्योग व्यावसाय जोगाउनुपर्छ भनेर बैंक तथा वित्तीय संस्थाले रिबेटका रूपमा १० अर्बभन्दा बढी सीधा नगद दियौँ । त्यही वेला १ सय ५० अर्बको पुनर्कर्जा आयो, जसको दर पनि सस्तो थियो । तरलता बढी भयो । अनि ब्याजदर पनि सस्तो भयो । पछि तरलता संकुचन हुँदै गयो । पुनर्कर्जा घट्यो । अनि बजारले नै ब्याजदर पनि बढी बनायो । 

ब्याजदर निर्धारण गर्नेजस्तो प्राविधिक र संवेदनशील विषयको छिनोफानो सडकबाट गर्न खोज्नु दुर्भाग्यपूर्ण हो । यसले नेपालको अन्तर्राष्ट्रिय छविलाई समेत बिगार्छ । अहिलेका गतिविधि बैंकलक्षित देखिए पनि कालान्तरमा त्यसको असर उद्योग–व्यवसायमै पर्ने देखिन्छ । 

कसैले ब्याजदर सस्तो बनाउने माग गर्नेभन्दा पनि ब्याजदर कम हुने वातावरण बनाउनुपर्छ । वातावरण बन्यो भने स्वतः ब्याजदर घट्छ नि । कतिपय कुरा हाम्रो आन्तरिक नियन्त्रणमा हुन्छ, तर अर्थतन्त्रको बाह्य क्षेत्रसँग सम्बन्धित धेरै कुरा नियन्त्रणबाहिर छ । भारतसँग पेग भएका कारण विदेशी मुद्राको दर कति हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । अन्तर्राष्ट्रिय रूपमा माग र मूल्य हाम्रो नियन्त्रणभन्दा बाहिर छ । त्यसले हाम्रो मूल्यवृद्धिलाई प्रभाव पार्छ । भारतीय नीति नियम तथा बजारले पनि हाम्रो अर्थतन्त्र प्रभावित हुन्छ । यस्ता तमाम विषयले मूल्यवृद्धि वा ब्याजदरलाई असर गर्छन् ।

यसर्थ, ब्याजदर घट्छ कि घट्दैन भन्ने प्रश्न नै सही दिशामा छैन कि जस्तो लाग्छ । तर, संघीयता आइसकेपछि ०७४/७५ वेलादेखि धेरैजसो समयमा कर्जाको ब्याजदर १२–१३ प्रतिशत हाराहारीमा रहँदै आएको छ । अहिले पनि ब्याजदर त्यही हाराहारीमा छ । अहिले तरलता कम भएको, मूल्यवृद्धि बढी भएको अवस्थामा पनि त्यही हाराहारीमा ब्याजदर छ । त्यसैले दर बढी भयो भन्ने भन्दा पनि ब्याजदरसँग सम्बन्धित तत्वहरूलाई सुधार गर्न सकेमा स्वतः कम हुन्छ । 

के–के कुरामा सुधार गर्न सक्यो भने ब्याजदर घट्न सक्छ ? 

ब्याजदरमा अर्को कुरा छ, नेपालमा पनि बैंकहरूले दुईथरी ब्याजदर दिइरहेका छन्– एउटा परिवर्तनीय, अर्को परिवर्तन (स्थिर) नहुने । एउटाचाहिँ बजारसँगै फरक हुँदै जाने ब्याजदर हुन्छ । त्यो भनेको कोभिडको वेला ८ प्रतिशत थियो भने अहिले १२–१३ प्रतिशत होला । अर्कोचाहिँ स्थिर ब्याजदर हुन्छ । त्यो कर्जाअवधिभर परिवर्तन हुँदैन । ब्याजदर परिवर्तनको जोखिमलाई बैैंकले जिम्मा लिएर यस्तो फिक्स्ड ब्याजदर भएको ऋण दिन्छौँ । यदि स्थिर दरमा ऋण लिएको भए अहिलेको यस्तो समस्या आउने थिएन ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याउने, विदेशी मुद्रा सञ्चिति बढाउने राष्ट्र बैंकको स्पष्ट उद्देश्य थियो, जुन सफल पनि भएको छ । त्यसका लागि सेवा नियन्त्रण गर्ने भन्ने थियो र मौद्रिक नीतिमार्फत गरिएको पनि हो । त्यही वेला श्रीलंका र पाकिस्तानको कुरा आइरहेको थियो । अर्थतन्त्रमा विरोधाभास छ, कुनै एउटामा सुधार ल्याउँदा अर्कोमा असर पर्न सक्छ । अब मूल्यवृद्धि कम गर्न सक्ने हो भने त्यसको प्रभाव ब्याजदरमा पर्न सक्छ । यद्यपि, अहिले केही सकारात्मक सुधार भइरहेको छ । ब्याजदर क्रमशः केही घट्दै जाने पनि देखिएको छ । सुधारको स्थिति छ । 

बजारलाई खुला राख्ने मान्यताविपरीत बैंकहरू ब्याजदर निर्धारणमा भद्र सहमति गर्दै आएका छन् । बैंकहरू कहिलेबाट प्रतिस्पर्धामा जाने हुन् ? 
ब्याजदरलाई बजारले नै निर्धारण गर्ने हो । कोभिडका वेलामा बजारलाई छाडेर ब्याजदर न्यून गर्दा अहिलेसम्म त्यसको असर देखिएको छ । निक्षेपमा बढी ब्याज दियो भन्ने गुनासो सुनिन्छ । हामीले दीर्घकालीन रूपमा मुद्दती निक्षेप राख्नेलाई राम्रै ब्याज दिइरहेका छौँ । छोटो अवधिकालाई घटाएका छौँ । प्रिमियम पनि घटाएका छौँ । हामी जिम्मेवार भएरै अघि बढिरहेका छौँ । 

कहिलेकाहीँ के हुन्छ भने बैंकहरूले आ–आफ्नो किसिमले तोक्छन् । अप्ठ्यारो परेका वेला स्थिरताका लागि पनि एउटा समझदारी बनाइएको हुन्छ । पछि गएर कुनै न कुनै समयमा त्यो बजारलाई नै छाडिदिन पर्छ । कहिलेकाहीँ कुनै बैंकको वा बजारको कुरा मात्रै पनि हुँदैन, समग्र अर्थतन्त्रको स्वार्थ हेर्नुपर्ने हुन्छ । 

नेपालको बैंकिङ क्षेत्र धेरै नै नियमनमा छ, अनुशासित छ र दक्षिण एसियामै राम्रो गरिरहेको छ । निक्षेपको दायित्वको संरचना जोखिमपूर्ण छैन, लगानी पनि एक ठाउँमा केन्द्रित छैन । त्यसैले कुनै क्षेत्रमा समस्या आएकै कारण बैंक डुब्ने अवस्था छैन । यद्यपि, हामी सजग हुन आवश्यक छ । 

नेपालको समग्र बैंकिङको कर्जा नै निक्षेपमा आधारित छ । विदेशतिर अन्य उपकरण पनि हुन्छन्, हामीकहाँ अझै विकास भइसकेको छैन । निक्षेपकर्तालाई त सधैँ महत्व र प्राथमिकता दिनैपर्छ, मूल्यवृद्धिभन्दा माथि ब्याजदर दिनैपर्छ । निक्षेपकर्ताले उचित प्रतिफल पाएनन् भने पैसा प्रणालीमा नबस्न पनि सक्छ । 

बैंकहरूले प्रत्येक वर्ष औसत २० प्र्रतिशतले ऋण वृद्धि गर्दै आएका छन् । तर, अर्थतन्त्रको विस्तार वार्षिक सरदर ४.५ प्रतिशत हाराहारी मात्रै छ । बैंकले दिएको ऋणले उत्पादन बढाउन तथा अर्थतन्त्रको वृद्धिमा अपेक्षित योगदान गर्न नसकेको आरोप लाग्ने गरेको छ । यसमा तपाईंहरूको धारणा के हो ?
आजभन्दा ५० वर्षअघिदेखिका कुरा गर्ने हो भने पनि जुनसुकै शासन पद्धतिमा पनि धेरैजसो समय नेपालको आर्थिक वृद्धि ४ प्रतिशतकै हाराहारीमा रहेको देखिन्छ । ०४६ सालपछि बजारलाई जब खुला छाडियो, त्यतिवेला वृद्धिदरमा केही सुधार देखिएको छ । सधैँजसो राजनीतिक अस्थिरता भयो, २५–२६ जना त प्रधानमन्त्री नै फेरिसकेका छौँ । त्यसकारण यसको सम्पूर्ण दोषचाहिँ बैंकलाई दिनुहुँदैन ।

बैंकले छरिएर बसेको निक्षेप संकलन गरेको छ । निक्षेप संकलन गरेर कर्जा प्रवाह गरिरहेको छ । वित्तीय पहुँच र वित्तीय समावेशितामा ठूलो योगदान दिएको छ । आज ७ सय ५२ पालिकामा बैंक पुगिसकेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा नै ५ हजार हाराहारी पुगिसकेका छन् । रेमिट्यान्स आयो र त्यसले खपत बढायो । जताबाट पैसा आयो, खपतले उतै लगिदियो । यसमा बैंकको मात्रै दोष छैन । सुधार गर्ने ठाउँ अझै पनि छन् । अब कसरी जाने भन्ने कुरामा हामी फोकस हुन सके राम्रो हुने थियो । 

विश्वकै शक्तिशाली देश अमेरिकामा तीन बैंक डुबेको घटनाले संसारभर तरंग ल्याएको छ । नेपालको बैंकिङ क्षेत्र कति सुरक्षित छ ? निक्षेपकर्ताको पैसा बैंकमा सुरक्षित छ भन्ने आधार के–के हुन् ? 
अमेरिकाको सिलिकन भ्याली बैंक, सिग्नेचर बैंक र अर्को बैंक टाट पल्टिएको कुरा आएको छ । ती बैंक र हाम्रो नेपालको बैंकको तुलना हुन सक्दैन । उनीहरूको र हाम्रो सञ्चालनको तरिका तथा अवस्था नै फरक छ । हामीसँग ४ करोड ८३ लाख खाताको निक्षेप छ, स–साना निक्षेप धेरै छन् ।

संस्थागत निक्षेप ४० प्रतिशत हाराहारी मात्रै छ । त्यहाँ केन्द्रीय बैंक (फेड)को दर बढ्दै जाँदा उहाँहरूले बन्डमा गरेको लगानी घाटामा हुने भयो, त्यसलाई मिलाउँदा समस्या भयो । लगानी गरेका क्षेत्र पनि विविध थिएनन् । तर, हाम्रो ४८ सय अर्बको लगानी हेर्नुहुन्छ भने कुनै पनि क्षेत्रमा १०–१२ प्रतिशतभन्दा बढी लगानी नै देखिँदैन । पहिला केही समय रियल इस्टेटमा बढी थियो, तर त्यसको व्यवस्थापन गरेर सीमा लगाइसकिएको छ ।

यतापट्टि कर्जा प्रवाहमा पनि विविधीकरण छ, एक ठाउँमा मात्रै छैन भने अर्कातिर निक्षेपको दायित्व पनि एक ठाउँमा छैन । त्यसैले बैंक डुब्ने सम्भावना हुँदैन । नेपालको बैंकिङ क्षेत्र धेरै नै नियमनमा छ, अनुशासित छ, त्यसैले गर्दा नेपालमा बैंक डुब्ने भन्ने हुँदैन । आजको दिनसम्म पनि हाम्रो निक्षेपको दायित्वको संरचना जोखिमपूर्ण छैन, लगानी पनि एक ठाउँमा केन्द्रित नभएकाले जोखिममा छैन । कुनै क्षेत्रमा समस्या आएकै कारण बैंक डुब्ने अवस्था छैन ।नेपालको बैंकिङ क्षेत्र असाध्यै सुरक्षित छ, दक्षिण एसियामै राम्रो गरिरहेका छन् । यद्यपि, हामी सजग हुन आवश्यक छ । बैंक, नियमनकारी निकाय र सरोकारवालाले यस्तो अवस्था नआउने गरी सजग हुन आवश्क छ । 

अहिले एउटा प्रश्न सबैतिर सुनिदै आएको छ– आखिर पैसा कहाँ छ ? बैंकमा पैसा छैन, सरकारसँग पैसा छैन, उद्यमी व्यवसायीसँग पैसा छैन, जनतासँग पैसा छैन ? त्यसो भए पैसा कहाँ छ ? यो प्रश्नमा तपाईंको जवाफ के छ ? 
व्यवसायमा आम्दानी, खर्च र बचत भन्ने हुन्छ । व्यावसायिक हिसाबले भन्दा पोहोरसम्म नेपालले जति बाहिर पैसा पठाउँथ्यो, त्योभन्दा निकै कम पैसा मात्रै ल्याउन सक्थ्यौँ । हामीले आयात गरेर पैसा बाहिर पठाउने हो र रेमिट्यान्स, निर्यात र पर्यटनबाट पैसा ल्याउने हो । त्यो वेला बढी पैसा बाहिर नै गयो र नेपालको शोधनान्तर ऋणात्मक भयो, हामी घाटामा थियौँ । तर, त्यसमा अहिले बिस्तारै सुधार आएको छ ।

अहिले बैंकमा ८६ प्रतिशत सिडी रेसियो (निक्षेप कर्जा अनुपात) छ । अर्थात्, १ सय ७० अर्ब थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छौँ, हामी । पैसा बैंकमा छ भनौँ । राष्ट्र बैंकका अनुसार ६ सय अर्बभन्दा बढी नगद बजारमा छ । यो मुद्रा प्रवाह जिडिपीको आकारमा धेरै होइन । अहिले पैसा छैन भन्ने ‘व्याख्या’ फैलिएको छ, सबैले यही भनिरहेका छन् । तर, तरलता बढेको छ, कतिपय उद्योग–व्यवसायले राम्रो गरिरहेका छन् । पैसा कहाँ छ भन्ने प्रश्न अहिले सान्दर्भिक हो जस्तो लाग्दैन । 

अर्थतन्त्रको बाह्य क्षेत्र र मौद्रिक क्षेत्रमा केही सुधार आएको देखिन्छ । तर, सरकारी वित्त क्षेत्र (फिस्कल साइट)तर्फ भने प्रशस्तै समस्या देखिन्छ । राजस्व संकलनमा ऐतिहासिक कमी आएको, पुँजीगत खर्च बढ्न नसकेको अवस्था छ । बैंकिङ क्षेत्रको नेतृत्वकर्ताको रूपमा अर्थतन्त्रको आगामी परिदृश्य कस्तो देख्नुहुन्छ ? 
अझै पनि हामी चुनौतीकै अवस्थामा छौँ । आयात रोकेर बाह्य क्षेत्रमा केही स्थिरता ल्याउँदा राजस्व प्रभावित भएको छ । राजस्व नउठ्ने र पुँजीगत खर्च पनि नहुने अवस्था राम्रो होइन । सरकारले बजेटको आकार नै घटाइसकेको छ । सरकारले पूर्वाधारलगायतमा खर्च नगर्दा बजारमा पैसा आउँदैन र बैंक तथा वित्तीय संस्थाले निक्षेप पनि पाउँदैनन् । 
वास्तवमा हाम्रो संरचनागत सुधार नै आवश्यक छ ।

सबैभन्दा बढी हामी उत्पादनमा फोकस हुनैपर्छ । आजको दिनमा ४–५ सय अर्ब रुपैयाँबराबरको कृषिवस्तु आयात गरिरहेका छौँ, जुन हामी आफैँ उत्पादन गर्न सक्छौँ । नेपाल आज २ सय ५० वर्षको आधुनिक इतिहासमा सबैभन्दा युवा जनसंख्या बढी रहेको अवस्था छ । यो धेरै समयसम्म रहँदैन । पर्यटनमा धेरै अवसर छ । अहिले पनि जिडिपीको तुलनामा सार्वजनिक ऋणको अनुपात न्यून नै छ, अझै ऋण परिचालन गर्न सक्ने ठाउँ छ । हरित अर्थतन्त्रका लागि थुप्रै पैसा दिन विश्व बैंकलगायत तयार छन् । नेपालको वित्तीय क्षेत्र सक्षम रूपमा अघि आइसकेको छ । यी सबै पक्षलाई मिलाएर लैजाने र अवसरको सदुपयोग गर्ने हो भने आगामी परिदृश्य राम्रो देखिन्छ । केही चुनौती छन्, त्यसमा सजग भएर अघि बढ्नुपर्नेछ । धेरै बिग्रियो, बिग्रियो मात्रै पनि भन्नुहुँदैन, ठीक हुँदै जान्छ भन्ने आत्मश्विासका साथ अघि बढ्नुपर्छ । 

अहिलेको अवस्थामा हामीले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै एकै ठाउँमा आएर समस्या समाधानका उपाय खोज्नुपर्छ । सबै पक्ष पारदर्शी भएर एक ठाउँमा उभिनुपर्छ । खासगरी, निजी क्षेत्र र बैंक एउटै डुंगामा छौँ, एकअर्कालाई ठाउँ दिने र सहयोग गर्ने हो भने अघि बढ्न सकिन्छ । एकले अर्कोलाई बिगार्न खोज्यौँ भने दुवै पक्ष अप्ठ्यारोमा पर्छौं । हाम्रोे अर्थतन्त्र सहनशील छ, हामी सहनशील छौँ, थुप्रै समस्या भोगेर र सहेर आएका छौँ ।