मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ चैत ६ सोमबार ०७:३२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री नेसन्स कपमा कमजोर टोलीसँग खेल्दै नेपाल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ चैत ६ सोमबार ०७:३२:००

नेपाल, भुटान र लाओसबीच थ्री नेसन्स कप फुटबल प्रतियोगिता मंगलबारदेखि दशरथ रंगशालामा हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी भुटान र लाओस फिफा वरीयतामा नेपालभन्दा निकै तल छन् । एन्फाले बलियो नभएर कमजोर प्रतिद्वन्द्वी राष्ट्रलाई निमन्त्रणा दिएर मैत्रीपूर्ण खेल आयोजनाको घोषणा गरेको दिनदेखि नै यसको चर्काे आलोचना भइरहेको छ । यस किसिमको मैत्रीपूर्ण खेलले खेलाडीको स्तरमा कुनै विकास नहुने खेलाडीदेखि फुटबलसँग सम्बन्धित व्यक्तिले गुनासो गरेका छन् । 

एन्फाको आयोजनामा हुने थ्री नेसन्स कपमा सहभागी हुन भुटान र लाओस आइतबार नेपाल आइसकेका छन् । शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । नेपालले पहिलो खेल लाओसविरुद्ध ८ चैत र दोस्रो खेल १४ चैतमा भुटानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल १७ चैतमा हुनेछ । एन्फाले खेल्ने तालिकाका दुवै खेल फिफा मान्यताप्राप्त समयमा हुनेछ । फिफाको पछिल्लो विश्व वरीयतामा नेपाल १७५औँ स्थानमा छ । भुटान १८५ र लाओस १८७औँ स्थानमा छन् ।

‘खेलाडीहरूको स्तर उकास्न आफूभन्दा माथिल्लो लेभल खेल्ने राष्ट्रसँग प्रतिस्पर्धा हुनुपर्छ, आफूभन्दा तल्लो स्तरको टोलीसँग खेल्दा कसैको पनि विकास हुँदैन,’ नेपाल राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले नयाँ पत्रिकासँग भने, ‘खेलाडीहरू राम्रो टोलीसँग खेल्दा स्तरसमेत वृद्धि हुने र वरीयतामा समेत सुधार आउँछ ।’ फिफा वरीयतामा आफूभन्दा माथि रहेको टोलीसँग प्रतिस्पर्धा गर्दा टेक्निकली पनि फाइदा हुने पूर्वकप्तान सिंहको भनाइ छ । ‘राम्रो टोलीसँग खेल्दा टेक्निकल रूपमा हामीले धेरै फाइदा लिन सक्छौँ, यसमा राम्रो नतिजा आए नेपालको फिफा वरीयतासमेत सुधार हुन्छ,’ उनले भने । 

भुटान १३ पटक नेपालसँग पराजित
नेपाल र भुटानबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । नेपालले ती सबै खेलमा भुटानलाई एकपक्षीय नतिजाले हराएको छ । नेपालले भुटानलाई दुईपटक ६ गोलभन्दा माथि अन्तरले हराएको छ । दुईपटक भुटान नेपालसँग पाँच गोलले पराजित भएको थियो । सन् २०१८ मा नेपाल र भुटानबीच अन्तिमपटक भिडन्त भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । नेपालले लाओसविरुद्ध एकपटक मात्र प्रतिस्पर्धा गरेको छ । सन् २०१६ को एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई १–० ले हराएको थियो । 

थ्री नेसन्स कपमा आयोजक नेपाल फिफा वरीयतामा आफूभन्दा मुनि रहेको टोलीसँग प्रतिस्पर्धा गर्दै, वरीयतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७औँ स्थानमा

तथ्यांकअनुसार नेपाल आफ्ना दुई प्रतिद्वन्द्वीभन्दा बलियो छ । राम्रो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेल आयोजना हुने पूर्वकप्तान सिंहले बताए । ‘मैत्रीपूर्ण खेल भनेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुनुअघिको तयारी खेल्ने हो, यहाँ कुनै उपाधि जित्नु छैन,’ उनले भने, ‘यस्तो अवस्थामा आफूभन्दा बलियो र आफ्नै स्तरको टोलीसँग खेल्दा राम्रो हुने थियो ।’

६ खेलाडी पहिलोपटक प्रशिक्षणमा
सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरण शनिबार सकियो । लिगमा उत्कृष्ट प्रदर्शन गरेका ६ युवा खेलाडीलाई एन्फाले राष्ट्रिय टोलीमा मौका दिएको छ । सातदोबाटो युथका स्ट्राइकर दीपकराजसिंह ठकुरी, एपिएफका रक्षक सनिस श्रेष्ठ र मिडफिल्डर मणिकुमार लामा, मनाङ मस्र्याङ्दीका रक्षक रन्दिप पौडेल, सुमित श्रेष्ठ र खुमलटार युथका रक्षक पदम भट्टराई पहिलोपटक टोलीको प्रशिक्षणमा परेका छन् ।

नेपाली टोलीले आइतबारबाटै प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षक भिसेन्जोले टोलीको घोषणा आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन् । नेपालबाहिर रहेका रोहित चन्द र कप्तान किरणकुमार लिम्बूसमेत प्रशिक्षणमा जोडिनेछन् । यसैगरी, घाइते खेलाडी अञ्जन विष्टलाई समेत टोलीमा बोलाएका छन् । 

प्रशिक्षक भिसेन्जोलाई चुनौती
गत साता एन्फाले इटालियन नागरिक भिसेन्जो अल्वार्टोलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बनाएको थियो । प्रशिक्षक भिसेन्जो आफ्नो प्रशिक्षणमा सुखद नतिजा निकाल्न चाहन्छन् । एन्फाले प्रशिक्षकको रेकर्ड खराब नबनाउन कमजोर टोलीलाई आमन्त्रण गरेको मानिएको छ । ‘पहिलो खेलमै पराजित भए विवाद र आरोप लाग्न सक्छ, यसै कारण एन्फाले कमजोर टोलीलाई बोलाएको पनि हुन सक्छ,’ सिंह भन्छन् । 

एन्फाले अब्दुल्लाह अल्मुताइरीको स्थानमा भिसेन्जोलाई जिम्मेवारी दिएको हो । अल्मुताइरीको समयमा नेपालले एसियाकै बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गरेको थियो । उनको प्रशिक्षणमा नेपालले राम्रो नतिजा निकालेको थियो । अल्मुताइरीको प्रशिक्षणमा नेपालले २२ अन्तर्राष्ट्रिय खेल खेल्यो । उनको समयमा इरान, जोर्डन, अस्ट्रेलिया, भारत, ओमान, अफ्रिकन राष्ट्र मोरिसस, थाइल्यान्ड, कुवेत, इन्डोनेसियासहित दक्षिण एसियाका सबै टोलीसँग नेपालले खेलेको थियो । यसक्रममा उनले १७ युवा खेलाडीलाई डेब्यु गराएका थिए । 

 साफ च्याम्पियनसिप बेंग्लोरमा 
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ पुरुष च्याम्पियनसिप आगामी २१ जुनदेखि भारतको बेंग्लोरमा आयोजना गर्ने भएको छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघले मिति घोषणा गरेको हो । भारतीय फुटबल संघका अध्यक्ष कल्याण चौबेले खेलहरू श्री कान्तिभरा स्टेडियममा हुने बताएका छन् । १३औँ संस्करणको साफ २०२१ माल्दिभ्समा आयोजना भएको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।