
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए। सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको सामुन्नेमा गम्भीर ‘नोटिस’मा रहेको उनले प्रस्ट्याए।
‘त्यो विषय वास्तवमै गम्भीर छ। किनभने व्यक्तिको रूपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो। तर, पार्टीको महामन्त्रीको रूपमा या सांसद्को रूपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारका केही मर्यादाहरू हुन्छन्। त्यसैले, के हो भने झापा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको नेकपा(एमाले)का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो। तर, नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजारपटक पर्छ,’ शर्माले भने।
गत शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेपछि सभामुख घिमिरेको आलोचना भइरहेको छ।