१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Tuesday, 25 June, 2024
अजित अधिकारी काठमाडाैं
२o७९ चैत ५ आइतबार ११:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एउटै पाइपलाइनबाट यसरी ल्याउने तयारी हुँदै छ पेट्रोल र डिजेल 

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार ११:४५:oo

चार वर्षदेखि डिजेल मात्रै ढुवानी भइरहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी गर्ने गरी आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पूर्वाधार तयार गरिरहेका छन् । पाइपलाइनबाट आगामी पुसबाट पेट्रोलसमेत आउने निश्चित भएपछि निगमले चारजना प्राविधिकलाई एउटै पाइपबाट पेट्रोल र डिजेल ढुवानी गर्ने तालिम प्रदान गरेको निगमको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘आइओसीले मोतीहारी डिपो सञ्चालनमा ल्याउँदै गर्दा त्यहाँको भण्डारण ट्यांकमा एउटै पाइपबाट आएको डिजेल र पेट्रोल विनामिसावट अलग–अलग भण्डारण ट्यांकमा खसालेको थियो,’ उनले भने, ‘यो सबै दृश्य निगमका प्राविधिकले प्रत्यक्ष रूपमा हेरेर र थप तालिम लिएर फर्किएका छन् ।’

आइओसीले मोतीहारी डिपोसम्म बिछ्याएको पाइपलाई नै अमलेखगन्जसम्म विस्तार गरी अहिले डिजेल ढुवानी भइरहेको छ । आइओसीको बरौनी रिफाइनरीबाट सुरु भएको पाइपलाइन पटना हँुदै मोतीहारीसम्म बिछ्याइएको थियो । चार वर्षदेखि मोतीहारीबाट निगमले समेत पाइप जोडेर डिजेल ढुवानी गरिरहेको हो ।

निगमको अमलेखगन्ज डिपोमा पेट्रोल भण्डारण गर्ने पूर्वाधार नहुँदा डिजेल मात्र आयात भइरहेको थियो । तर, आइओसी र निगमले पेट्रोल भण्डारणका लागि अहिले तीन ठूला भण्डारणगृह बनाइरहेका कारण एक वर्षभित्रै सोही पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी हुने यादवले जानकारी दिए ।

मोतीहारी डिपोमा एक सातासम्म तालिम लिएर फर्केका आयल निगमका पाइपलाइन इन्जिनियर प्रशान्त भट्टराईले प्रविधिको प्रयोगका कारण एउटै पाइपबाट ढुवानी भए पनि पेट्रोल र डिजेल मिसावट नहुने बताए । ‘एउटै पाइपबाट ल्याए पनि डिजेल र पेट्रोल अलग–अलग भण्डारणगृहमा खसालिन्छ । यसमा थोरै पनि मिसावट हुन पाउँदैन,’ उनले भने । उनका अनुसार आवश्यकताका आधारमा पेट्रोल र डिजेलमध्ये कुनै एउटा पेट्रोलियम सुरुमा पठाइन्छ । तर, दुई घन्टा पेट्रोल हालियो भने तुरुन्त रोकेर फेरि दुई घन्टा डिजेल ढुवानी गर्ने छोटो समयको कार्यतालिका भने बनाइँदैन । उदाहरणका लागि सुरुमा पेट्रोल पठाइयो भने अमलेखगन्जको पेट्रोल भण्डारणगृह भरी हुन्जेलसम्म हालिन्छ । ‘पाइपलाइनबाट दुई–तीन दिनसम्म लगातार पेट्रोल मात्रै पनि पठाउन लगाउनुपर्ने हुन्छ,’ भट्टराईले भने, ‘पेट्रोल पुगिसकेको जनाउ हामीले दिएपछि पाइपमा तुरुन्तै डिजेल हालिँदैन ।’ आफूसँगै अमलेखगन्जस्थित पाइपलाइन परियोजनामा कार्यरत सुनील यादव, ऋषिराम शर्मा र सञ्जयकुमार चौधरीले तालिम लिएको उनले जानकारी दिए । उनका अनुसार निगमले डिजेलको माग गरेपछि आइओसीका अधिकारीले पाइपमा रहेको पेट्रोलसँगै पाइपलाइन कम्प्यारटेबल किरोसिन (पिसिके) पठाउँछ । यो एक किसिमको मट्टीतेल नै हो । ‘आइओसीको मोतीहारी डिपोले पनि १७ फागुनबाट डिजेल ल्याउन थालेको थियो । तीन दिनसम्म डिजेल ल्याएपछि मात्र पेट्रोलको माग गरेको थियो । त्यसपछि आइओसीको बरौनी रिफाइनरीबाट पेट्रोल नदिएर सुरुमा थोरै पिसिके हालेर पठाइएको थियो । त्यसपछि भने पेट्रोल आएको थियो,’ भट्टराईले भने ।

उनका अनुसार शुद्ध पेट्रोल र पिसिके मिसिएको विन्दु पत्ता लगाएर अलग–अलग भण्डारणगृहमा पठाउन भने सबैभन्दा ठूलो चुनौती हुन्छ । पिसिके भण्डारण गर्न निगमले अमलेखगन्जमा दुई लाख ५० हजार लिटर क्षमताका दुईवटा ‘मिक्स ट्यांक’ बनाइरहेको छ । ‘पाइपमा पेट्रोल र पिसिके कहाँसम्म आइरहेको छ भन्ने कुरा कन्ट्रोल रुमको कम्प्युटरबाट देखिन्छ । हामीले खासगरी घनत्व र तापक्रम हेरेर पत्ता लगाउँछौँ,’ भट्टराईले भने । पेट्रोलको घनत्व बढी र पिसिकेको घनत्व कम हुन्छ । आइओसीका अधिकारीले कति घनत्व र कति परिमाणको पिसिके पठाएको भन्ने कुरा पहिले नै निगमका प्राविधिकलाई जानकारी दिएका हुन्छन् ।

पाइपलाइनबाट आइरहेको पेट्रोलको घनत्व कम हुँदै गएको कम्प्युटरमा देखिन्छ । पेट्रोलको अन्तिम घनत्व कतिसम्म हो भन्ने निगमका प्राविधिकलाई जानकारी हुन्छ । त्यसैले घनत्व घटेर अन्तिम विन्दुमा आएपछि पाइपलाइनबाट पेट्रोलको भण्डारणमा तेल जानबाट तत्कालै रोकिन्छ र मिक्स ट्यांकमा पाइपलाइनबाट आइरहेको तेल खसालिन्छ ।

‘कम्प्युटरको माध्यमबाटै एउटा भण्डारणगृहमा गइरहेको तेल अर्कोमा पठाउने हो । तर, यो काममा अति संवेदनशील भई उच्च प्राथमिकता दिएर गर्नुपर्ने हुन्छ,’ उनले भने । पिसिके थोरै मात्र राखेर पठाइएको हुँदा एक–दुई घन्टामै सकिन सक्छ । पिसिके सकिन लागेको पनि घनत्वबाटै थाहा हुन्छ । आइओसीले पिसिकेलगत्तै डिजेल हालेर पठाइएको हुन्छ । त्यसैले यसको घनत्व बढ्न थालेपछि कम्प्युटरमा बसिरहेका इन्जिनियरहरू थप चनाखो हुने गर्छन् । 

आइओसीका अधिकारीले पाइपलाइनबाट पठाएको डिजेल कति घनत्वको छ भन्ने जानकारी पनि निगमलाई दिएका हुन्छन् । त्यसैले सो घनत्वबराबरको डिजेल अमलेखगन्जस्थित भण्डारणगृहको मुखैमा आएपछि मिक्स ट्यांकमा गइरहेको तेललाई ड्राइभर्ट गरी डिजेलको भण्डारणगृहमा पठाइन्छ ।

‘घनत्वका आधारमा शुद्ध डिजेल र शुद्ध पेट्रोलको केही मात्रा मिक्स ट्यांकमा जान सक्छ, तर अतालिएर पिसिकेलाई डिजेल र पेट्रोलको भण्डारणगृहमा कहिल्यै पठाइँदैन,’ भट्टराईले भने । पाइपलाइनबाट डिजेल र पेट्रोल पठाउँदा बीचमा पिसिके हाल्ने प्रविधिका कारण एउटै पाइपलाइन भए पनि मिसावट भने नहुने उनको भनाइ छ ।

पेट्रोल र डिजेलको भण्डारणगृहमा पाइपलाइनबाट आइरहेको पिसिके जान नदिन निगमका प्राविधिकहरू स्थलगत रूपमै पनि पाइपको तेल परीक्षण गर्ने उनले बताए । भण्डारणगृहको छेउमा पिसिके आउन लागेको कम्प्युटरबाट देखिन्छ । त्यसपछि सुरुमा १५–१५ मिनेट, त्यसपछि पाँच–पाँच मिनेट र अन्तिममा दुई–दुई मिनेटमा पिसिकेको घनत्व कर्मचारीबाट परीक्षण हुन्छ,’ भट्टराईले भने, ‘स्थलगत परीक्षण गर्दा देखिएको घनत्वको मात्रा आइओसीले पठाएको पेट्रोल र डिजेलको घनत्वसँग मेल खाएपछि मात्रै भण्डरण ट्यांक परिवर्तन गरिन्छ ।’

पाइपलाइनको सुरुवाती विन्दु अहिले बरौनी रिफाइनरीमा छ । जुन अमलेखगन्जबाट तीन सय ७५ किलोमिटर टाढा पर्छ । तर, अमलेखगन्जका लागि पेट्रोल र डिजेल मोतीहारी डिपोबाटै पम्पिङ गर्ने गरी स्टेसन तयार गरिँदै छ । अमलेखगन्ज र मोतीहारीको दूरी भने ६९ किलोमिटर मात्रै हो ।

एक वर्षपछि आइओसीको मोतीहारी डिपोबाटै अमलेखगन्जसम्मको पाइपलाइन कन्ट्रोल हुनेछ । त्यसवेला निगमका प्राविधिक र मोतीहारीस्थित आइओसीका प्राविधिकको समन्वयमा पाइपलाइनबाट विनामिसावट पेट्रोल र डिजेल ढुवानी हुनेछ ।

पाइपलाइनबाट पेट्रोल ल्याउन के–के बन्दै छ अमलेखगन्जमा ?
६९ किलोमिटर लामो मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट चार वर्षसम्म डिजेल मात्र आयात भएपछि आइओसी र निगम मिलेर पेट्रोल ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेका छन् ।

निगमको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयमा आइओसीले ४१ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारणगृह बनाउन सुरु गरेको छ । त्यस्तै, आधुनिक सुविधासम्पन्न ल्याब, पेट्रोल र डिजेललाई मिसावट हुनबाट रोक्ने गरी पाइपलाइनमा हालिने कम्प्यारटेबल किरोसिन (पिसिके) भण्डारणका लागि दुई सय ५० किलोलिटर क्षमताका दुईवटा मिक्स ट्यांक र दुईवटा पानी ट्यांकी आइओसीले नै बनाइरहेको छ ।

निगमले चार हजार एक सय किलोलिटर र पाँच हजार किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्यांक र थप पाँच हजार किलोलिटरको डिजेल ट्यांक बनाइरहेको छ । यसअघि पाइपबाट आएको डिजेल भण्डारण गर्न चारवटा ट्यांक निर्माण गरिसकिएको छ ।

ad
ad
ad
ad