
एकपटक फ्रान्सको मार्सेल्स सहरमा प्लेग रोग फैलियो । धेरै मानिस रोगका सिकार भइरहेका थिए । प्लेग रोगको उपचार नियन्त्रणबाहिर थियो । यो रोग लाग्नुको कारण र यस रोगको उपचार पद्धति कसैले पत्ता लगाउन सकेको थिएन । प्लेग रोगीसँग डाक्टरहरू नै डराउन थाले ।
यस रोगलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा बृहत् परामर्श गर्न सहरभरिका डाक्टरहरूको सभा बोलाइयो । सभामा एक वरिष्ठ डाक्टरले भने, ‘यो अत्यन्त खतरनाक सरुवा रोग हो । यो रोग कुन जीवाणुका कारण लाग्छ भन्ने पत्ता लगाउन यस रोगबाट मरेका व्यक्तिको पोस्टमार्टम गर्नुपर्छ । यसमा पोस्टमार्टम गर्ने व्यक्तिकै ज्यान जाने सम्भावना अत्यधिक हुन्छ ।’
लामो समयसम्म सभामा सन्नाटा छायो । कोही पनि पोस्टमार्टमका लागि तयार भएनन् । यस्तैमा एक युवा डाक्टर अगाडि सरे । उनले भने, ‘मेरो मृत्युले धेरैको ज्यान बच्छ भने म यसका लागि तयार छु । केही गरी जाँचका क्रममा मेरो मृत्यु भयो भने मेरो सम्पूर्ण सम्पत्ति अस्पतालको नाम गरिदिनुहोला ।’
उनले प्लेग रोगबाट मृत्यु भएका एक व्यक्तिको शरीर पोस्टमार्टम गरी जाँच सुरु गरे । जाँचका क्रममा पत्ता लागेका कुरा उनले लेख्दै गए । जाँचका क्रममा उनले प्लेग रोग लाग्नुको कारण र उपचार प्रक्रिया पनि पत्ता लगाए । तर, यति गरुन्जेल उनको शरीरमा प्लेगका जीवाणु यति फैलिसकेका थिए कि उनको उपचार सम्भव भएन । आफ्नो बलिदान दिएर यसरी विश्वलाई प्लेग रोगको निदानको जानकारी दिने ती महान् डाक्टर थिए– हेन्नी गायन ।