
- कराँते, तेक्वान्दो, बक्सिङ, कुङ फु, जुडोलगायत कम्ब्याट गेम्स (हतियारविना नै खेलिने खेल) मानिसको व्यक्तिगत विकासका लागि महत्वपूर्ण छन् । मार्सलआर्टका सबै विधाले प्रशिक्षार्थीलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छन् । शारीरिक र मानसिक रूपमा सशक्त बनाउन यसको महत्वपूर्ण भूमिका रहन्छ ।
- आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सलआर्ट खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुने हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाको शरीर राम्ररी विकास हुन्छ । लचकता बढ्छ । स्मरणशक्ति पनि तेजिलो बनाउँछ ।
- गुरु र अग्रजहरूलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ, त्यो पनि मार्सलआर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ ।
- शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ । खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ ।
- राम्रो निद्रा लाग्छ । अल्छीपन हटाउँछ । युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउँछ ।