
नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ चैतका लागि निर्धारण गरिएको महाधिवेशनमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार दिउँसो एक कार्यक्रम गरी उनले उम्मेदवारी घोषणा गर्दै महासंघको गरिमालाई थप उचाइ प्रदान गर्न सक्दो योगदान गर्ने बताए । ‘हामी उद्योगी–व्यवसायीको छाता संस्थालाई थप सुदृढ बनाउन पेट्रोलियम क्षेत्रबाट के–कस्तो योगदान गर्न सकिन्छ, म त्यसका लागि तयार भएर केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दछु,’ उनले भने ।
प्रधानले वस्तुगत समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । यो समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ। महासंघमा एक सय २३ वस्तुगत संघ आबद्ध छन् ।
यी वस्तुगत संघका अध्यक्षहरूले मात्र मतदान गर्न पाउने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेका उमेशलाल श्रेष्ठ समूहबाट प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सो कार्यक्रममा पनि उपस्थित थिए ।