Skip This
विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ चैत २ बिहीबार १३:२९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १३:२९:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ ।

निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहवरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ह्याम्मर र एक्स्काभेटर लगाएर ट्यांकी फुटाउन थालेको हो । 

लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताए । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैँले ट्यांकी फुटाउन थालेका हुन् ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरण लाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरण लाइनको ट्यांकी आरसिसी ढलान बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले जानकारी दिए ।

विजयखर्कका सात सय २५ घरधुरीलाई पानीको सुविधा दिने गरी ०७९ साउन ५ गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएससहित रु. २९ करोड १३ लाख ९८ हजार ९९० लागतमा सक्ने गरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का लागेको हो । 

०८१ साउन ४ गतेसम्म सक्ने गरी उक्त निर्माण कम्पनीले ०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्तीनजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।

ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय नरेन्द्र ढकालले बताए । ‘पहिलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ट्यांकी निर्माण र पाइपलाइनको कामसमेत भएको छैन । सरकारी जग्गा छँदाछँदै व्यक्तिको जग्गामा कार्यालय भवन निर्माण सुरु गरिएको छ । सडक फराकिलो बनाउँदा काटिने ठाउँमा ट्यांकी निर्माण गरिएको छ । उपभोक्ता समिति गठनसमेत एकलौटी गरियो,’ उनले भने, ‘आयोजनामा स्थानीयलाई काम गर्न दिइएन । सबै कामदार बाहिरबाट ल्याएर लगाइएको छ । हामी सुरुबाटै गुणस्तर कायम गराउन लागिपर्‍याैँ । हाम्रो खबरदारीलाई उपभोक्ता समितिले बेवास्ता गर्दा यस्तो भयो ।’

लिफ्टिङ खानेपानी आयोजनाका लागि मेनलाइन र वितरण लाइन गरी ११ वटा आरभिटी ट्यांकी, एउटा ट्रिटमेन्ट प्लान्ट, १०८.१५ किलोमिटर वितरण पाइपलाइन, ८.९९ किलोमिटर ट्रान्समिसन पाइपलाइन, एउटा कार्यालय भवन, पाँचवटा गार्ड हाउस, एउटा सम्प वेललगायतका संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म आयोजनाको करिब ३३ प्रतिशत काम सकिएको उपभोक्ता समितिले जनाएको छ ।

लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइनतर्फको ट्यांकीको गुणस्तरमा पनि स्थानीय बासिन्दाले प्रश्न उठाएका छन् । स्थानीयले फलामको काँटीले कोतर्दा ह्वारह्वार्ती ट्यांकीको प्लासटर झरेको भिडियो बुधबार मात्रै सामाजिक सञ्जालमा राखेपछि चौतर्फी विरोध भइरहेको छ । 

लिफ्टिङ खानेपानी आयोजनाको काममा गुणस्तर कायम गराउन आफूहरू निरन्तर लागिपरेको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले दाबी गरे । ‘आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । काम गर्ने क्रममा केही ठाउँमा खराबी आउनु स्वाभाविक हो । बिग्रिएको ठाउँमा सच्याउँदै जानुपर्छ,’ उनले भने, ‘गुणस्तरका विषयमा कसैसँग सम्झौता हुँदैन । म आफू पनि इन्जिनियरिङ विषयको विद्यार्थी हुँ । केही व्यक्तिले खुला आँखाले हेरेर विरोधका लागि विरोध सुरु गरेका छन् । गुणस्तरका विषयमा उपभोक्ता समिति सजग छ र समयमै काम सम्पन्न हुन्छ ।’

वितरण लाइनमा २० हजार लिटरको दुई तथा १४ हजार, १२ हजार र दश हजार लिटरको एक–एकवटा ट्यांकी निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पुर्‍याउने गरी डिपिआर बनेको छ । मेनलाइनअन्तर्गत साप्सुखोलामा एक लाख लिटर, फूलमती, जुरेथुम्का, बागेढुंगा र स्वास्थ्यचौकी डाँडामा २० हजार तथा सहदेवगढीमा ५० हजार लिटरको ट्यांकी निर्माणको काम भइरहेको छ ।