
विनाभन्सार गैरकानुनी रूपमा भित्रिने सामानहरूमा रोक लगाउन सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले माग गरेको छ । संघका पदाधिकारीसहितको टोलीले भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै अवैध आयात रोक्न माग गरेको हो ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेललाई बुझाएको ज्ञापनपत्रमा विनाभन्सार गैरकानुनी रूपमा भित्रिने सामानहरूमा रोक लगाउन माग गरेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । घरायसी प्रयोजनका नाममा अवैध तरिकाबाट सामानहरू भित्रिएकाले सबै मालवस्तुहरूको उचित रूपमा भन्सार गराउन संघले भन्सार प्रमुख पौडेललाई आग्रह गरेको थियो ।
बेलहिया नाका हुँदै घरायसी प्रयोजनका लागि भन्दै लाखौँ रुपैयाँका सामानहरू भित्रिने हुँदा सुनौलीमा बढी व्यापार हुने र भैरहवालगायत वरपरका बजार शून्य अवस्था रहेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको भनाइ छ ।
स्वदेशी व्यवसायी निकै मर्कामा परेको गुनासो संघका सदस्य फर्महरूबाट आएकाले संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै संघले भन्सार प्रमुख त्यसैगरी सीमा सुरक्षार्थ सशस्त्र प्रहरी युनिटसँग छलफल प्रक्रिया अगाडि बढाएको बताए । अध्यक्ष श्रेष्ठले भने, ‘हामीले समस्या उठाएका मात्रै छैनाैँ, समाधानका विकल्प पनि दिएका छौँ । यसको कार्यान्वयन हुनेमा आशावादी छौँ ।’
उद्योगी व्यवसायीको समस्याका विषयमा कार्यालयले गम्भीर रूपमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । चोरी निकासी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराखेको बताउँदै व्यवसायीहरूको साथ पाए थप कडाइका साथ काम गर्ने पौडेलले प्रतिबद्धता जनाए ।