१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालसँग टेस्ट राष्ट्रसँग खेल्ने अवसर

विश्वकप क्रिकेट लिग–२ को तेस्रो स्थान सुरक्षित गरे नेपालले एकदिवसीय ग्लोबल विश्वकप छनोटमा टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्ड र जिम्बाबेविरुद्ध प्रतिस्पर्धा गर्नेछ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:५४:००

नेपाल आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को चौथो स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ को तेस्रो स्थान सुरक्षित गरे नेपालले एकदिवसीय ग्लोबल विश्वकप छनोटमा टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्ड र जिम्बाबेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बिहीबार युएईसँग हार व्यहोरे नेपाल चौथो स्थानमा सीमित हुँदै सीधै विश्वकप छनोट खेल्ने अवसरबाट वञ्चित हुनेछ । 

अहिले अंक तालिकामा नेपालले मात्र तेस्रो स्थानका लागि दाबेदारी दिइरहेको छ । पाँचौँ स्थानमा रहेको अमेरिकाले सबै खेल खेल्दै ३५ अंक जोडेको छ । सिरिजमा नेपाल, युएई र पपुवा न्युगिनीका मात्र खेल बाँकी छन् । युएईले बाँकी दुई खेलमा जित्दा पनि तेस्रो स्थान भेटाउन सक्दैन । पपुवा न्युगिनी ११ अंकका साथ सातौँ स्थानमा छ । 

नेपालले तेस्रो स्थान रक्षा गरे विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउनेछ । आइसिसी एकदिवसीय विश्वकप छनोट जुन–जुलाईमा जिम्बाबेमा आयोजना हुनेछ । विश्वकप छनोटमा विश्वकप सुपर लिगको पुछारका पाँच टोलीले विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । आयोजक जिम्बाबे तथा आयरल्यान्डले यसअघि नै एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि सम्भवतः पहिलोपटक टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउन लागेको हो ।

यो अवसर प्राप्त गर्न नेपालले पहिले युएईलाई पराजित गर्नुपर्नेछ । विश्वकप छनोटमा सहभागी रहने १० टोलीको शीर्ष दुईमा रहन सके नेपाल भारतमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट हुनेछ । नेपालले विश्वकप लिग–२ मा १८ जित र १५ हारको सामना गरेको छ । 

युएईलाई एकदिवसीय मान्यताको चिन्ता
विश्वकप लिग–२ अन्तर्गत १३९औँ खेलमा पपुवा न्युगिनी र युएईबीच बुधबार त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदै छ । पपुवा न्युगिनीको यो सिरिजकै अन्तिम खेल हो । युएईले पपुवा न्युगिनीपछि घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो अन्तिम खेल भएका कारण पपुवा न्युगिनी जितका साथ सिरिज सकाउन चाहन्छ । 

पछिल्लो समय पपुवा न्युगिनी युएईमाथि हावी भइरहेको छ । सिरिजअन्तर्गत पपुवा न्युगिनीले लगातार चार खेलमा युएईमाथि उत्कृष्ट जित निकालेको छ । यसबीचमा युएईले पपुवा न्युगिनीलाई एक खेलमा मात्र हराएको छ । अंक तालिकामा पपुवा न्युगिनीलाई कमजोर टोली मानिएको थियो । तर, पपुवा न्युगिनीले युएईसँगको प्रत्येक खेलमा दमदार प्रदर्शन ग¥यो । पपुवा न्युगिनीले लिगमा केवल पाँच जित निकालेको छ । त्यसमा पनि चार जित युएईमाथि नै रह्यो ।

पपुवा न्युगिनीसँग लगातार खेलमा पराजित भएका कारण नै युएई अहिले छैटौँ स्थानमा झरेको हो । गणितीय आधारमा युएईले एकदिवसीय मान्यता रक्षा गर्न सक्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकप लिग–२ को शीर्ष पाँच स्थानमा रहने टोलीको चार वर्षका लागि एकदिवसीय मान्यता जोगिने जनाएको छ । स्कटल्यान्ड, ओमान, नामिबिया र नेपालले आ–आफ्नो एकदिवसीय मान्यता रक्षा गरिसकेका छन् । अहिले अमेरिका र युएईबीच मात्र पाँचौँ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ । रनरेटमा अमेरिका युएईभन्दा बलियो छ । फेरि अमेरिकाले पाँचौँ स्थानमा युएईसँग स्पष्ट चार अंकको अग्रता लिएको छ ।

युएईले बाँकी दुई खेलमा सामान्य जित निकाल्दा पनि पाँचौँ स्थान सुरक्षित गर्न सक्ने अवस्था छैन । दुई जितले युएईले अंक तालिकामा अमेरिकासँग समान ३५ अंक बनाउनेछ । समान अंक भएको अवस्थामा जित संख्या गणना हुनेछ । जित संख्या पनि एकै हुँदा हार हेरिनेछ । यी दुवै परस्थितिमा पाँचौँ स्थानमा रहने टोलीबीचको रनरेट समीक्षा हुनेछ । 

रनरेटका आधारमा अमेरिका निकै माथि छ । युएईलाई पाँचौँ स्थान रक्षा गरी एकदिवसीय मान्यता रक्षा गर्नका लागि उत्कृष्ट जित निकाल्नुपर्ने दबाब छ । यस्तो नतिजा निकाल्न नसक्दा युएईको एकदिवसीय मान्यता खोसिनेछ । युएई लगातार ब्याटिङ र बलिङमा कमजोर देखिएको छ । त्रिवि क्रिकेट मैदानमा युएई यी दुवै पक्षमा संघर्षरत देखिन्छ । युएईको मध्यक्रम ब्याटिङ चलिरहेको छैन । अर्कोतिर, पपुवा न्युगिनीले नेपालबाहेक युएईविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको देखिन्छ ।