Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ३० मंगलबार ०६:१९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नवनिर्वाचित राष्ट्रपति पौडेलले सम्हाले जिम्मेवारी

पहिलो निर्णय सुशीलकुमार लम्साललाई मोरक्कोको गैरआवासीय नेपाली राजदूतमा नियुक्त

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ३० मंगलबार ०६:१९:००

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि पदीय जिम्मेवारी सुरु गरेका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने संविधानमा व्यवस्था छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहबीच पौडेलले पद तथा गोपनीयताको शपथ लिएका थिए । पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पौडेलले पहिलो निर्णयका रूपमा सुशीलकुमार लम्साललाई मोरक्कोको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् । उनी इजिप्टका लागि आवासीय राजदूत हुन् । कार्यभार सम्हालेपछि राष्ट्रपति पौडेल लैनचौरस्थित सहिदस्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।

पौडेलको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बिदाइ भएकी छिन् । भण्डारीले राज्यबाट कुनै सेवा–सुविधा नलिने घोषणा गरिसकेकी छिन् । भण्डारीको बिदाइमा राष्ट्रपति पौडेलसमेत सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिएर बिदाइ गरेका भण्डारीलाई राष्ट्रपति पौडेलले कारसम्मै पुगेर बिदाइ गरेका थिए । उनलाई सेनाको टुकडीले बालुवाटारस्थित भण्डारीको छोरी उषाकिरणको निवाससम्म पुर्‍याएको थियो । भण्डारीको निवास मर्मत भइरहेकाले उनी छोरीको घरमा बसेकी हुन् ।

 पौडेलको सांसद पद रिक्त, १० वैशाखमै उपनिर्वाचन
तनहुँ १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट राजीनामा दिएका छन् । संविधानको धारा ६२ (६) को व्यवस्थाबमोजिम पौडेलले संसद् सचिवालयमा राजीनामा दिएपछि तनहुँ १ रिक्त भएको छ । रिक्त क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चितवन २ मा उपनिर्वाचनका लागि तोकेको १० वैशाखकै मितिमा तनहुँ १ मा पनि निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले ३ चैतमा उपराष्ट्रपति निर्वाचनबाट कुनै सांसद रिक्त भएमा त्यहाँ पनि १० वैशाखमै उपनिर्वाचनको तयारी गरेको छ । 

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई, अमेरिकाको पनि बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई ज्ञापन गरेकी छिन् । राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् । पत्रमा भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख छ । 

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार राष्ट्रपति पौडेललाई बधाई दिएका छन् । उनले ट्विटरमा पौडेलसँग शीतलनिवासस्थित शपथ समारोहमा भेटेको तस्बिर राखेर लेखेका छन्, ‘तपाईंको नेतृत्वमा नेपाल–चीन सम्बन्ध थप सुदृढ हुनेछ ।’ नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।