१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:५१:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सहकारीसचिवको आत्महत्या प्रकरण: सञ्चालकविरुद्ध मृतककी श्रीमतीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

सहकारीको रकम सञ्चालकहरूले व्यक्तिगत रूपमा परिचालन गरेको भन्दै परेको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले अस्वीकार गरेको छ । सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोडभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै ५३ वर्षीया मीनाकुमारी शर्माले सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, लेखा संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदीविरुद्ध २३ फागुनमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले प्रमाण नपुगेको दाबी गर्दै जाहेरी दर्ता गरेको छैन । मीनाकुमारी सोही सहकारीका सचिव प्रेमप्रसाद शर्माकी श्रीमती हुन्, जसले सरकारीको रकम दुरुपयोग भएको भन्दै २९ पुसमा आत्महत्या गरेका थिए । 

मीनाकुमारीका भिनाजु अधिवक्ता रामचन्द्र शर्माले सहकारीको रकम दुरुपयोग भएको प्रमाण पेस गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताए । उनले भने, ‘रकम दुरुपयोग भएपछि सहकारीका सचिव प्रेमप्रसादले आत्महत्या गरे । सुसाइड नोटमा पनि उनले सोही विषय उल्लेख गरेका छन् । पीडितले विषय उठान गरेर जाहेरी दिँदा पनि प्रहरीले दर्ता नै गरेन ।’ 

अधिवक्ता शर्माका अनुसार सहकारीका अध्यक्ष विदुरले विनाधितो सहकारीबाट ८३ लाख रुपैयाँ ऋण लिएका छन् । उनले श्रीमती मनु सुवेदीको नाममा पनि ४२ लाख ऋण झिकेका छन् । त्यस्तै, कोषाध्यक्ष नरेन्द्रबहादुरले सहकारीबाट ४५ लाख र लेखा संयोजक विनोदले ४० लाख ऋण लिएका छन् । उक्त रकम उनीहरूले कुस्मास्थित हार्नेस जिपलाइन प्रालिमा लगानी गरेका छन् । जिपलाइनका अध्यक्ष पनि विदुर नै हुन् । 

उनीहरूको यो कार्य सहकारी ऐन, २०७४ को दफा ४६ विपरीत भएको देखिन्छ । ऐनको दफा ४६ ले सहकारी सञ्चालकलाई निजी स्वार्थ समावेश भएको निर्णय प्रक्रियामा संलग्न हुन वर्जित गरेको छ । कसैले कानुन उल्लंघन गरेको ठहर भए हानि–नोक्सानीबापतको रकम दोषीबाट असुल गरिने ऐनमा भनिएको छ । ऐनको दफा ४६ को उपदफा १ र २ मा भनिएको छ, ‘सहकारी सञ्चालकले आफ्नो निजी स्वार्थ समावेश भएको निर्णय प्रक्रियामा संलग्न हुनुहुँदैन ।

सञ्चालकले आफूलाई मात्र व्यक्तिगत फाइदा हुने गरी सहकारी संस्थामा कुनै कार्य गर्न गराउन हुँदैन । अधिकार क्षेत्रभन्दा बाहिर गई कुनै काम–कारबाही गरेमा त्यस्तो काम–कारबाहीप्रति सञ्चालक व्यक्तिगत रूपमा उत्तरदायी हुनेछ र त्यस्तो कामबाट सहकारी संस्थाको, सदस्य वा अन्य कुनै व्यक्तिलाई हानि–नोक्सानी हुन गएमा निजबाट असुलउपर गरिनेछ ।’

अधिवक्ता रामचन्द्रका अनुसार उनीहरूले ऋणबापतको सबै रकम बोर्डको निर्णयविना नै व्यक्तिगत नाममा झिकेका थिए । जसको जानकारी सहकारीका सचिव प्रेमप्रसादलाई गराइएको थिएन । सहकारीको अध्यक्ष, कोषाध्यक्ष र व्यवस्थापकको मिलेमतोमा झिकिएको ऋणबारे जानकारी पाएपछि सचिव प्रेमप्रसाद तनावमा थिए । सोही तनावका कारण आत्महत्या गरेको उनले ‘सुसाइड नोट’मा समेत उल्लेख गरेको अधिवक्ता रामचन्द्रले बताए । 

‘सहकारीका सचिव थिए प्रेमप्रसाद । तर, उनलाई जानकारी नै नदिई अध्यक्ष, कोषाध्यक्ष र व्यवस्थापकको मिलेमतोमा ऋण झिकियो । लगेर आफ्नै कम्पनीमा लगानी गरे । खबर प्राप्त भएपछि प्रेमप्रसाद तनावमा आए । उनले आत्महत्या गरे । ‘सोसाइट नोट’मा पनि यो विषय उल्लेख गरेका छन्,’ उनले भने ।

मृतक प्रेमप्रसादकी श्रीमती मीनाकुमारीले सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीमा जमानत वा सुरक्षण नराखी ऋण प्रवाह भएको, सहकारीको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेको, ऋण असुल हुन नसक्ने गरी समितिका सदस्य, निजको नातेदारलाई ऋण प्रवाह गरेको, संस्थाको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी सहकारी संस्थालाई हानि–नोक्सानी पुर्‍याएको विषय उल्लेख छ । 

पर्वत प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपानेले प्रमाण संकलन भइनसकेकाले जाहेरी केही अवधिका लागि रोकिएको जवाफ दिए । उनले भने, ‘उहाँहरूले जाहेरी दिनुभएको छ । यसअघि पनि उहाँहरूले सहकारीका सञ्चालकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा हाल्नुभएको थियो । हामीले पक्राउ गर्‍यौँ । अदालतको आदेशबाट उनीहरू हिरासतमुक्त पनि भइसके ।’