
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताएका छन् । उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी भए पनि जसपालाई नै दिने भन्नेबारे निर्णय नभइसकेको उनको भनाइ छ ।
शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर उनले यस्तो बताएका हुन् । अब छिट्टै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने उनले बताए ।
‘उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौँ । दलहरूबीच सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिने कुरा आठ दलबीच प्रवेश गरिसकेका छैन । त्यसैले आठ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने ।
जसपाले भने केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
पदको लोभका कारण पुस १० मा कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गर्दै उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग सहमति नहुने प्रस्ट पारे ।