१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नवीन अर्याल काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार १०:०५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, क्यानले थाल्यो छानबिन

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार १०:०५:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका सबै जहाज अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ । शुक्रबारदेखि नै श्रीका जहाजले कुनै पनि सेक्टरमा उडान गर्न पाउनेछैनन् ।

बिहीबार काठमाडौंबाट भैरहवा उडानको क्रममा श्रीको ड्यास क्यू ४०० जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि आपतकालीन अवतरण गर्नुपरेको थियो । सोही घटनालाई लिएर हवाई क्षेत्रको नियमनकारी निकाय क्यानले सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक अनुसन्धान सुरु गरेको हो ।

क्यानको एयर वर्दिनेस टिमले इन्जिनबाट फायर वार्निङ आएर आपतकालीन अवतरण गर्नुपरेको जहाज परीक्षण गर्दा गम्भीर समस्या देखिएपछि सबै जहाज ग्राउन्डेड गर्ने निर्णयमा पुगेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘क्यानको प्राविधिक टोलीले सबै जहाजको प्राविधिक परीक्षण गर्छौँ,’ भुलले भने, ‘एयर वर्दिनेस टिमले काम सुरु गरिसकेको छ ।’ प्राविधिक परीक्षण नगर्दासम्म श्रीका कुनै पनि जहाजले उडान गर्न नपाउने उनले बताए ।

सूचना अधिकारी भुलका अनुसार, इन्जिनमा आगो देखिएको जहाज यसअघि ग्राउन्डेड थियो । जहाज मर्मत गरेर उडाउनेबित्तिकै इन्जिनमा समस्या देखिएपछि दुईजना इन्जिनियरलाई बिहीबार दिउँसै ‘सस्पेन्स’ गरिएको छ ।

‘ग्राउन्डेड जहाज मर्मत गरेर उडाउनेबित्तिकै समस्या देखिएको छ,’ भूलले भने, ‘यसको मतलब इन्जिनियरले म्यानुअल्ली जहाजको चेकजाँच र मर्मत–सम्भारमा लापरबाही गरेको पुष्टि हुन्छ ।’ क्यानको प्राविधिक टोलीले जहाजको इन्जिन खोलेर हेर्दा कैफियत देखिएको उनको भनाइ छ ।

श्रीका चारवटा सिआरजे र चारवटा ड्यास क्यू ४०० गरी आठवटा जहाज छन् । यसअघि नै चारवटा जहाज ग्राउन्डेड थिए । श्रीले तीनवटा क्यू ४०० र एउटा सिआरजेबाट विभिन्न आन्तरिक सेक्टरमा नियमित उडान गर्दै आइरहेको थियो। 

‘पहिल्यै ग्राउन्डेड जहाजको प्राविधिक परीक्षण गर्नुपरेन, तर उडानमा रहेका सबै जहाजको परीक्षण गर्छौँ,’ भुलले भने, ‘कुनै समस्या नदेखिएका जहाजलाई उडान गर्न दिन्छौँ, कैफियत देखिएका जहाज ग्राउन्डेड गरिदिन्छौँ।’ कैफियत देखिएका जहाजले समस्या समाधान गरेर मात्र उडान गर्न पाउनेछन् । 

क्यानले श्री एयरलाइन्समा कार्यरत इन्जिनियर तथा प्राविधिकहरूको पनि चेकजाँच गर्ने भएको छ । ‘जहाजको म्यानुअल्ली चेकजाँच तथा मर्मत–सम्भारमा लापरबाही भेटिएको छ, दुईजना इन्जिनियर सस्पेन्स गरिसक्यौँ,’ भुलले भने, ‘अरू इन्जिनियरको अवस्थाबारे पनि चेकजाँच हुनेछ ।’

बिहीबार चालक दलका सदस्यसहित ७८ जना सवार जहाजको इन्जिनबाट फायर वार्निङ आएपछि उडेको २३ मिनेटमै धादिङ धार्केमाथिको आकाशबाट फर्काएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।  

यसअघि १ माघमा यती एयरलाइन्सको एटिआर– ७२ जहाज पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेपछि क्यानको प्राविधिक टोलीले सबै एटिआर जहाजको परीक्षण गरेको थियो । परीक्षणको क्रममा सबै जहाज उडानयोग्य भेटिएका थिए । अहिले बुद्धसँग १४ र यतीसँग पाँचवटा एटिआर जहाज रहेका छन् ।

यस्तै, गुण एयरलाइन्सले पाइलट तथा कर्मचारीलाई समयमै तलब खुवाउन नसकेपछि क्यानले सबै जहाज ग्राउन्डेड गरिदिएको छ । क्यानको निर्देशनपछि गुणका सातवटै जहाज ग्राउन्डेड छन् । गुणसँग अहिले पाँचवटा जेटस्ट्रिम र दुईवटा बिचक्राफ्ट जहाज रहेका छन् । जसमध्ये पाँचवटै जेटस्ट्रिम जहाज अमेरिकन कम्पनीलाई बिक्री गर्ने टुंगो लागिसकेको गुणले जनाएको छ ।

जहाज उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिँदा हवाई सुरक्षामा जोखिम बढ्न सक्ने ठहर गर्दै क्यानले अनिश्चितकालका लागि सबै उडान रोकिदिएको हो । तलब सुविधा नै नपाएका कर्मचारीले सेवा दिँदा हवाई सुरक्षा कति होला ? हवाई सुरक्षा प्रत्याभूति बढाउन नसकेसम्म उडान गर्न दिन नहुने क्यानको निष्कर्ष छ ।