१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
Invalid date format o६:३८:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘विद्यार्थी हितकारी परिषद्’ अर्थात् सफा विद्यार्थी राजनीति

गुन्डागर्दी, नेताको चाकरी, चन्दा असुली, तालाबन्दी, मोसो आदिसँग जोडिएर आउने विद्यार्थी संगठनका नामले विद्यार्थी आन्दोलनमाथि नै प्रश्न उठाइरहेका छन्

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३८:oo

तीन वर्षअघि यही वेला म युनिभर्सिटी अफ भर्जिनियामा एउटा फेलोसिपमा सहभागी भएको थिएँ । पुगेकै दिन त्यहाँका विद्यार्थी नेताले हामीलाई करिब डेढ घन्टा लगाएर कलेज घुमाए । उनले आफ्नो कलेजबारे गरेको व्याख्या सुन्दा म छक्क पर्थें । उनको क्याम्पसप्रतिको प्रेम, लगाव र विश्वासले मलाई उनी र क्याम्पसप्रति आदरभाव जाग्यो । 

मैले उनलाई त्यहाँको विद्यार्थीको परिषद्ले के गर्छ भनेर सोधेँ । उनले भने– ‘हामीले अघिल्लो साता ‘टेक्टबुक डोनेसन ड्राइभ’ चलायौँ, जहाँ विद्यार्थीले आफूलाई नचाहिने किताब दिन्छन् र आफूलाई चाहिने किताब लिन्छन् । अब यो साताचाहिँ हामी ‘इन्टरनेसनल करियर फेयर’ गर्दै छौँ । मैले हाम्रो अस्कल र त्रिचन्द्रको राजनीति सम्झिएँ ।

बेलायतको लेबर पार्टीको विद्यार्थी युनियन, लेबर स्टुडेन्ट्सले २००५ मा सुरक्षित यौनका निम्ति आन्दोलन गर्‍यो, जसका कारण कन्डममा लाग्ने ट्याक्स पाँच प्रतिशतमा झर्‍यो । अहिले पनि संसारका विभिन्न विद्यार्थी संगठनले यौन शिक्षाका लागि अभियान सञ्चालन गर्छन्, विद्यार्थीलाई ‘गुड टच’, ‘ब्याड टच’बारे अभियान चलाउँछन् । मलाई थाहा छैन, हामीकहाँ यौन शिक्षा र महिला हिंसाबारे कुन संगठनले यस्ता अभियान चलाएका छन् ।

विभिन्न देशका विभिन्न पार्टीका विद्यार्थी संगठन, क्लब, ‘स्टुडेन्ट गभर्मेन्ट’ले विद्यार्थी र युवाका लागि गरेका काम निकै लोभलाग्दा छन् । अधिकांश विश्वविद्यालयमा विद्यार्थी संगठनमा विद्यार्थीको वृत्तिविकासका कार्यक्रम ल्याइन्छ । कसरी ‘रेजुमे’ बनाउने, निवेदन कसरी लेख्ने र आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने तालिम दिइन्छ । 

विद्यार्थी हितकारी परिषद्को औचित्य : अहिले हुँदै आएको विद्यार्थी राजनीति देशको राजनीतिसँग नजिक छ, विद्यार्थीसँग छैन । विद्यार्थी राजनीतिका वकालतकर्ताहरू विद्यार्थी राजनीतिले इतिहासमा दिएका ठुल्ठूला लोकतन्त्रवादी क्रान्तिकारी नेताको नाम लिन्छन् । तर, गत १५–१६ वर्षलाई हेर्ने हो भने विद्यार्थी राजनीतिको नाम मिडियामा आउनुनपर्ने मुद्दामा आइरहेको छ ।

गुन्डागर्दी, नेताको चाकरी, चन्दा असुली, तालाबन्दी, मोसो आदिसँग जोडिएर आउने विद्यार्थी संगठनका नामले विद्यार्थी आन्दोलनमाथि नै प्रश्न गरिरहेको छ । कुनै पनि संगठनको उद्देश्य हुन्छ । उद्देश्य सकिएपछि कि संगठनको औचित्य सकिन्छ, कि संगठनले नयाँ उद्देश्य लिनुपर्छ । अहिलेका विद्यार्थी संगठनले ६२–६३ को आन्दोलनपछि आफ्नो नयाँ उद्देश्य लिन सकेनन् । फलस्वरूप विद्यार्थी संगठनको औचित्य समाप्त भयो । हिजो पञ्चायत र राजतन्त्रविरुद्ध लड्न जन्मिएका संगठन आज आफ्नै पार्टीका नेताहरूको स्वार्थसामु लम्पसार परेका छन् । 

आजको विद्यार्थी नेता अगाडि–पछाडि ‘केटा’ या ‘भाइ’हरूको झुन्ड लिएर हिँडिरहेको हुन्छ । विद्यार्थी नेता आमविद्यार्थीको पहुँचभन्दा धेरै टाढा पुगिसकेका छन् । होस्टेल र पुस्तकालयको दुरुपयोग, कमिसन, भनसुन, आफ्नो मान्छेलाई सहुलियतलगायत विकृतिले विद्यार्थी नेताबाटै आमविद्यार्थी दुःखी छन् । 

स्ववियुलाई खारेज गरेर पृथक् संरचनाको ‘क्याम्पस हितकारी परिषद्’ गठन गर्न ढिला भइसकेको छ । परिषद्मा विद्यार्थी नै चुनिएर आउने भए पनि शिक्षक, कर्मचारी र अभिभावकजस्ता अन्य सम्बन्धित पक्षसमेत त्यसमा रहनेछन् ।
 

विद्यार्थी राजनीति विद्यार्थी नेताका लागि प्रदेश र केन्द्रको सांसद र केन्द्रीय सदस्यको भर्‍याङ बनेको छ भने पार्टीका नेताका लागि ‘भोट बैंक’ । विद्यार्थी राजनीति करोडाैँको खेलमा परिणत हुँदा विद्यार्थी संगठन फगत पढ्ने समयको बर्बादीका रूपमा दर्ज हुँदै आएको छ । विद्यार्थी राजनीति भोलिका नेताका लागि राम्रो मैदान बने पनि भोलिका मतदाताका लागि भने ‘फोहोरी राजानीति’को साक्षी बन्दै छ ।

विद्यार्थी नेताले कलेजको गेटबाट छिर्दा क्याम्पसको दुर्गन्धित शौचालय, भताभुंग पुस्तकालय या दलीय आडमा भर्ती भएका आफ्नै पार्टीका शिक्षकलाई कक्षामा नआएको देख्दैन । समयमै परीक्षा नभएको थाहै पाउँदैन । तर, गेटबाट छिर्नेबित्तिकै ऊ कलिला विद्यार्थीलाई कसरी नेविसंघ, अखिल वा क्रान्तिकारीको सदस्य बनाउने भन्ने ध्याउन्नमा हुन्छ । त्यसैले, अब यी विद्यार्थी संगठनको औचित्य सकियो, यी संगठन भत्काऔँ र नयाँ संरचना बनाऔँ ।

यहीँनेर नयाँ संरचना चाहिन्छ कि चाहिँदैन भन्ने बहस हुन सक्छ । ०७३ मा ‘विद्यार्थी हितकारी परिषद्’को अवधारणा प्रस्ताव गर्दै गर्दा हामीले अहिलेको जस्तो संगठन आवश्यक छैन, तर विद्यार्थीको हकहित, आवश्यकता, वृत्तिविकासका लागि ‘राजनीति’ होइन, ‘विद्यार्थी राजानीति’ गर्ने परिषद्को अवधारणा अघि सारेका थियौँ । हाम्रो तर्क थियो, समस्या राजनीतीकरणको होइन, दलीयकरण या गुटीयकरणको हो ।

विद्यार्थी हितकारी परिषद्को संरचना :  कक्षा १२ सम्म कुनै खालको विद्यार्थी संगठन आवश्यक छैन । १८ वर्ष पुगेका नागरिकमा भने विद्यार्थी हितकारी परिषद् आवश्यक छ, जसले नागरिकमा चेतनाको विकास गर्न मद्दत गरोस् । त्यस्तो नयाँ विद्यार्थी राजनीतिको नेतृत्व नयाँ वैकल्पिक पार्टीहरूले गर्नुपर्छ । अब क्याम्पसभित्रका विद्यार्थी मिलेर अहिलेको फोहोरी विद्यार्थी राजनीतिविरुद्ध मोर्चाबन्दी गर्दै संगठित हुन जरुरी छ । 

प्रत्येक क्याम्पसमा ‘विद्यार्थी हितकारी परिषद्’ बनाउन जरुरी छ । त्यस्तो संरचनामा परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहन सक्छन् । यी जिम्मेवारीसहित क्याम्पसमा पढाइ हुने प्रत्येक संकाय र विषयका एक पुरुष र एक महिला, प्रत्येक कक्षाका प्रतिनिधिको रूपमा एक पुरुष र एक महिला प्रतिनिधि र केही छुटेका प्रतिभाशाली विद्यार्थीलाई मनोनयनबाट समेटेर परिषद् गठन हुनेछ ।

विषय र संकायको प्रतिनिधित्व गरेर आएका सदस्यले आफ्नो विषयमा नेतृत्व गर्नेछन् भने कक्षा र मनोनयनबाट आएका प्रतिनिधिले भने आआफ्नो कक्षाको प्रतिनिधित्व गर्दै विभिन्न क्लबको नेतृत्व गर्नेछन् । उद्यमशील विकास क्लब, विज्ञान क्लब, साहित्य क्लब, सांस्कृतिक क्लब, सामाजिक सेवा क्लब, स्पोर्ट्स क्लब, ह्यापिनेस क्लब आदि गठन गरेर विद्यार्थीमुखी कामका निम्ति परिषद् क्रियाशील रहन सक्छ ।

स्ववियुलाई खारेज गरेर हामीले पृथक् संरचनाको ‘क्याम्पस हितकारी परिषद्’ गठन गर्न पनि ढिला भइसकेको छ । क्याम्पस हितकारी परिषद्को केन्द्रमा विद्यार्थी नै चुनिएर आउने भए पनि अन्य सम्बन्धित पक्ष, जस्तै– शिक्षक, कर्मचारी र अभिभावकसमेत सो परिषद्मा रहनेछन् । क्याम्पस विकासका निम्ति क्याम्पस हितकारी परिषद् सबै पक्षको साझा संस्था बन्न जरुरी छ, जहाँ क्याम्पस र विद्यार्थी हितको कुरा होस् ।

विद्यार्थी हितकारी परिषद्को घोषणापत्र :  विद्यार्थी हितकारी परिषद्को गठनसँगै यसले के–के गर्ने मात्र होइन, के–के नगर्ने भनेरसमेत स्पष्ट बताउन जरुरी छ । अहिले हामीले जे–जे विकृति भन्यौँ, त्यो नगर्ने, नदोहोर्‍याउने भनेर प्रशिक्षित गर्नु, गराउनु र व्यवहारमै उतार्नु परिषद्को प्रमुख उद्देश्य रहनेछ ।

विद्यार्थी हितकारी परिषद्का प्रमुख उद्देश्य निम्न हुनेछन् :
१. विद्यार्थीलाई आवश्यक नीति कार्यक्रमका लागि रचनात्मक रूपमा वकालत गर्नु । सरकारको नीति तथा कार्यक्रममा परेका शिक्षा र विद्यार्थीसँग सम्बन्धित कार्यक्रमबारे स्वतन्त्र रूपमा बहस र मूल्यांकन गर्नु । विद्यार्थीले सर्टिफिकेट राखेर पाउनुपर्ने लोन, छात्रावृत्ति र पाठ्यक्रम सुधारका लागि परिषद्ले वकालत गर्न सक्छ । आफूनिकट राजनीतिक आस्था भएको सरकार नेतृत्वमा रहँदा पनि आलोचना गर्ने ल्याकत र विवेक नै परिषद्को पुँजी हुनेछ ।

२. विद्यार्थीको वृत्तिविकासका कार्यक्रम सञ्चालन परिषद्को अर्को जिम्मेवारी हो । ‘सिभी’ बनाउन सिकाउनु, व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गर्नु, नेतृत्वकला सिकाउने, सञ्चार सीप सिकाउने, देशभक्ति, विपत् व्यवस्थापन, निर्णय लिने क्षमताको विकास, द्वन्द्व व्यवस्थापन, उद्यमशीलतालगायत कार्यक्रम सञ्चालनको नेतृत्व गर्नु परिषद्को काम हुनेछ ।

३. राष्ट्रिय मुद्दामा विभिन्न पक्षका विज्ञ ल्याएर विद्यार्थीको आलोचनात्मक र विश्लेषणात्मक चेतको विकास गर्न परिषद्ले नेतृत्व लिन जरुरी छ ।

४. क्याम्पसका संरचना सुधारमा नेतृत्व लिने जिम्मेवारी पनि परिषद्कै हुनेछ ।

. खेलकुद सप्ताह, साहित्य महोत्सव, कलाकारिता प्रदर्शनलगायत विद्यार्थीको क्षमता उजागर गर्ने कार्यक्रम सञ्चालन गर्न जरुरी छ । साथै, यौन शिक्षा, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्यलगायत विषयमा पनि परिषद्ले काम गर्नुपर्छ ।

६. विद्यार्थीलाई नियमित र प्रवेश परीक्षाका निम्ति सहयोग गर्न अग्रज विद्यार्थीको संलग्नतामा तयारी कक्षा सञ्चालन गर्न जरुरी छ । क्यालेन्डरअनुरूप समयमै परीक्षा र समयमै नतिजा निकाल्न खबरदारी गर्ने काम पनि विद्यार्थी परिषद्ले गर्न सक्छ ।

७. अधिकांश क्याम्पसमा पूर्वविद्यार्थीको समूह बलियो छैन । यो डिजिटल जमानामा एकअर्कालाई सहयोग गर्न र प्रोत्साहन गर्न पूर्वविद्यार्थीहरूको नेटवर्किङ बलियो हुन जरुरी छ । परिषद्को दायित्वभित्र यो पनि हुन जरुरी छ ।

८. सीपसँगै संस्कार पनि शिक्षाको अभिन्न अंग हो । तसर्थ, ‘धन्यवाद’ र ‘सरी क्लब’ गठन गरेर राम्रो गरेका मानिसको सम्मान गर्ने र आफूले गल्ती गर्दा माफी माग्ने संस्कारलाई बलियो बनाउन नेतृत्व लिनु परिषद्को काम हुनेछ ।

९. जातीय, लैंगिक, भौगोलिकलगायत विभेदविरुद्धको जागरण, दाइजो, छाउपडीलगायत सामाजिक विसंगतिविरुद्ध अभियानको नेतृत्व पनि परिषद्ले लिन सक्छ ।

१०. विद्यार्थीलाई सीप सिकाउन ‘इन्टर्न’ र पार्ट टाइम जागिर/उद्यमका निम्ति कलेजले प्रोत्साहन गर्ने वातावरण बनाउन सके पनि परिषद्ले समन्वय गर्न सक्नुपर्छ ।

चुनौती र सम्भावना :  अहिले केही व्यक्ति नेता बन्ने दौडका कारण विद्यार्थी आन्दोलन नै धरापमा परेको छ । प्रत्येक पार्टीले आफ्नो अहिलेको विद्यार्थी संगठन भत्काएर नयाँ अवधारणाअनुसार यस्ता परिषद् गठन गर्न नसक्ने हो भने भ्रातृ संगठनसँगै माउ पार्टीको अस्तित्व नै धरापमा पर्नेछ । यिनै संगठन सुध्रिने सम्भावना देखिन्न । 

यो परिषद्मा बसेर राम्ररी विद्यार्थीको हितमा काम गर्ने नेतालाई आफ्नो पढाइ सकेपछि पार्टीहरूले सीधै केन्द्रीय कमिटी, प्रदेश कमिटी वा अन्य पार्टीको मूल कमिटीमा अवसर दिने व्यवस्था गर्न सकिन्छ । अझ, राम्रो काम गर्ने विद्यार्थीलाई सीधै समानुपातिक र प्रत्यक्षमा केही सिट सुरक्षित गर्न सकिन्छ । सर्त भने एउटै बनाउन जरुरी छ, क्याम्पसमा पार्टी, दल वा गुटको राजनीति नगर्ने, विद्यार्थीको राजनीति मात्र गर्ने । त्यसो गर्न सके, विद्यार्थी हकहित पनि हुने थियो, विद्यार्थी नेताले पनि अवसर पाउने थिए र माउ पार्टीले पनि जनमत बढाउन सक्थ्यो । 

नयाँ विद्यार्थीको भर्ना फारममा विद्यार्थीको फोटो टाँसेर बाँचेको विद्यार्थी राजनीति, चन्दा आतंक, टेन्डरमा कमिसन र आर्थिक हिनामिनामा रमाएका विद्यार्थी नेता र कार्यकर्ता उत्पादनको फ्याक्ट्री बनेको विद्यार्थी संगठनबाट अब माथि उठ्ने वेला आएको छ । यातायातमा ४५ प्रतिशत छुट दिलायौँ भनेर कति एउटै उपलब्धिको ब्याज खाइरहने ? अब विद्यार्थी आन्दोलनले नयाँ मुद्दा र नयाँ दिशा पक्रनुपर्छ । नत्र, हाम्रा विश्वविद्यालय, विद्यार्थी नेता र हालका विद्यार्थी संगठन नै नेपालको प्रगतिका बाधक बन्नेछन् । 

अन्त्यमा, विद्यार्थी र युवामा आत्महत्या दर बढ्दो छ । तनावका कारण विद्यार्थीको मानसिक स्वास्थ्यमा निकै समस्या आउन थालेको छ । ‘बुलिङ’को समस्या बढ्दो छ । तर, युवा विद्यार्थीका यस्ता समस्यामा हाम्रा विद्यार्थी संगठन कति सचेत छन् ? तिनले यी मुद्दामा कति काम गरे ? समाधानका निम्ति के–के योजना अघि सारे त ? यदि हाम्रा विद्यार्थी नेता र विद्यार्थी संगठन यी मुद्दामा सचेत छैनन् भने यिनको औचित्य सकियो । यसमा थप छलफल आवश्यक छैन ।