
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘राजनीतिमा केही असम्भव छैन भन्छन् नि, कांग्रेस र हामी एक ठाउँमा नआउने भनेर कसम त खाएका छैनौँ ।’
ओलीको यो अभिव्यक्तिमा वर्तमान प्रधानमन्त्री प्रचण्डलाई बाहिर राख्न एमालेले केही समयपछि कांग्रेसलाई प्रधानमन्त्रीको अफर गर्न सक्ने संकेत थियो । तर, ओलीले यस्तो अभिव्यक्ति दिएको एक घन्टा पनि नबित्दै कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले त्यसको खण्डन गरिदिएका छन् ।
राष्ट्रपति निर्वाचनमा मतदानपछि बाहिर आएका थापालाई सञ्चारकर्मीले ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया मागे । थापाले भने, ‘२०८४ सालसम्म त्यो सम्भावना छैन ।’
थापा वर्तमान सत्तागठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् । गत १० पुसमा माओवादीलाई रोक्न नसक्दा गुमेको राजनीतिक क्षति परिपूर्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई प्रमुख जिम्मेवारी दिएर माओवादी अध्यक्षसँग निरन्तर परामर्शमा खटाएका थिए ।
त्यसैले आफ्नोसमेत अथक प्रयासमा बनेको वर्तमान सत्तागठबन्धनले प्रतिनिधिसभाको बाँकी पूर्ण कार्यकाल बिताउनेमा थापा विश्वस्त छन् । उनले धेरैपटक सार्वजनिक रूपमा त्यस्तो अभिव्यक्ति दिँदै आएका छन् ।
बिहीबार पनि थापाले त्यसैलाई बल पुग्ने गरी भने, ‘२०८४ मा त्यो सम्भावना हुन सक्छ । हामी बालकोट आउँछौँ । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौँ ।’
एमालेले धेरैपटक धेरैलाई झुक्याएकाले यसपटक भने त्यो सम्भावना नभएको उनको भनाइ छ ।