१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

३० वर्ष पार महिलाबीच वक्तृत्वकला प्रतियोगिता, बच्चा बोकेरै आए प्रतियोगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

‘म दिनभर खेतमा काम गर्न जान्छु । एक दिनको ज्याला पाँच सय दिन्छन् । तर, मसँगै काम गरेका पुरुषले सात सय पाउँछन् । मैलेचाहिँ पुरुषले जति किन पाउँदिनँ ?’ काखीमा दूधेबालक च्यापेर मञ्चमा बोल्दै गरेकी नीलकण्ठ नगरपालिका– १२ की रीता खनाल प्रश्न गर्छिन्, ‘समान कामको असमान ज्याला कहिले अन्त्य हुन्छ महोदय ?’

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार धादिङको नीलकण्ठ नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा उनले उठाएको प्रश्न आमश्रमिक महिलाको साझा समस्या हो । समान कामको असमान ज्याला छ । २४ घन्टामा १६ घन्टा काम गर्ने महिला दिदीबहिनीको राष्ट्रिय आय र श्रममा गणना भएको छैन । महिलाको श्रमलाई शून्यमा गणना गर्दा महिला दिदीबहिनी त पछाडि परे नै, देशको अर्थतन्त्र पनि सुधार हुन नसकेको विषय उनले उठाइन् । महिलाको सीप र क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सकिएको छैन । दुईतिहाइ अर्थतन्त्र धानेको महिलाको सीप र क्षमतालाई राज्यले पहिचान गर्न सके देशको अर्थतन्त्रले ठूलै छलाङ मार्ने कुरामा जोड दिइन् ।

सामान्यतः ज्यामी काम गर्ने महिलाले सात सय पाउँछन् । सँगै बालुवा, सिमेन्ट, कराही बोक्ने पुरुषले झन्डै दोब्बर पाउँछन् । दक्ष भनिएका पुरुषले न्यूनतम १५ सयभन्दा माथि ज्याला पाउँछन् । ठेकेदारले लगाएको काममा होस् वा गाउँघरमै हुने ज्याला–मजदुरीमा पनि महिला पीडित देखिन्छन् । महिलालाई गाउँघरमा चलेकै दररेट दिइरहेको ठेकेदार राजकुमार श्रेष्ठ बताउँछन् । ‘हामी बुढाबुढी नै सँगै काम गर्छाैँ । घर बनाउने काम होस् वा अन्य निर्माणका काममा सँगै हुन्छौँ । तर, हामीभन्दा माथिका ठेकेदारले नै मसँगै काम गर्ने श्रीमती र मलाई ज्याला छुट्याएर दिन्छन् । श्रीमती पनि मजत्तिकै काम गर्छिन्,’ श्रेष्ठ भन्छन्, ‘ठेकेदारले मलाई दक्ष भन्छन् । तर, मेरी श्रीमतीलाई अदक्ष मानी मलाईजति ज्याला हिसाब गर्न मान्दैन । मलाई थाहा छ श्रीमतीले पनि मैलेजति काम गरेकै हुन्छ । त्यसैले, समान कामको समान ज्याला हुनुपर्छ ।’

‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धादिङमा पनि विविध कार्यक्रम गरी मनाइएको हो । न्यून तहका महिला दिदीबहिनीको समस्या जानकारी लिई समाधान खोज्ने र उनीहरूको नेतृत्व विकास गर्न नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले बताए ।

‘श्रममा महिला–पुरुष बराबरी, समृद्ध  नेपालमा हाम्रो हिस्सेदारी’ विषयमा ३० वर्ष पार गरेका महिला दिदी–बहिनीबीच वतृत्वकला प्रतियोगिता गरिएको हो । उनले भने, ‘महिलाको समस्या तथा सवालको वास्तविक तस्बिर आएको छ । कार्यविधि बनाएर अघि बढ्नुपर्ने देखिन्छ । बनेका कानुन नीतिलाई कार्यान्वयन गरी महिला दिदीबहिनीको नेतृत्व विकास, अवस्था र व्यवस्था फेर्न पहल गर्छाैँ ।’ 

प्रतियोगितामा नीलकण्ठ नगरपालिकाकी रीता खनाल प्रथम, सरिता तामाङ द्वितीय, नमिता अधिकारी तृतीय र सपना अर्याल सान्त्वना भएका छन् । विजयी प्रतियोगीलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।