मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तेजराज भट्ट नयाँ पत्रिका
२०७९ फाल्गुण २५ बिहीबार ०९:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई वर्षमा सक्नुपर्ने धनगढीको ६ लेन सडकको काम ६ वर्षसम्म अधुरै 

Read Time : > 1 मिनेट
तेजराज भट्ट, नयाँ पत्रिका
२०७९ फाल्गुण २५ बिहीबार ०९:०९:००

भारतीय गौरीफन्टा नाकादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने धनगढी मोहना पुल–अत्तरिया ६ लेन सडकको काम पाँचाैँपटक थपिएको अवधि सकिँदा पनि अधुरै छ । दुई वर्षमा सक्नुपर्ने व्यापारिक रूपमा महŒवपूर्ण यो सडक आयोजना निर्माण सम्झौता भएको ६ वर्ष पुग्नै लाग्दासमेत पूरा हुन सकेको छैन । सडक कालोपत्रेको काम सकिए पनि रेलिङ, फुटपाथ, रङरोगनलगायत काम लामो समयदेखि अलपत्र छन् ।

१४.२ किलोमिटर लामो सडकलाई तीनवटा खण्डमा छुट्याएर दुई वर्षभित्र पूरा गर्ने सर्तमा जेठ ०७४ मा अलग–अलग सम्झौता गरिएको थियो । निर्माण कम्पनीले काममा चरम लापरबाही गर्दा पटक–पटक गरी पाँचपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक थपिएको म्याद पनि गत असोजमा सकिएको छ । तर, सडकछेउतिर रेलिङ राख्ने, फुटपाथ बनाउने, ट्राफिक संकेत राख्ने, रङरोगन गर्नेलगायत काम पूरा भएका छैनन् । आयोजना हेर्दै आएका सबइन्जिनियर भुवन खड्काले पाँचौँपटक थपिएको अवधि गत असोजमा सकिए पनि सबै काम पूरा नभएको स्वीकार गरे ।

बाटो काट्ने ठाउँमा जेब्राक्रसिङलगायत ट्राफिक संकेत राख्ने, किलोमिटरको पोस्ट बनाउने, रङरोगन गर्नेलगायत काम अधुरै रहेको उनले बताए । केही ठाउँमा सडकमा छेउतिर रेलिङ राख्न बाँकी छ । केही ठाउँमा फुटपाथमा ब्लक बिछ्याउने काम पूरा भएको छैन । ‘तीनवटा प्याकेजको छुट्टाछुट्टै ठेक्का हो तर कुनै पनि प्याकेजमा काम पूर्ण रूपमा सम्पन्न भएको छैन,’ खड्काले भने, ‘केही समययता काम पूर्ण रूपमा बन्द छ ।’ 

डेढ मिटर फुटपाथ र तीनदेखि साढे चार मिटरसम्म सर्भिस लेन बनाउनुपर्ने स्टिमेट छ । तर, कतिपय ठाउँमा सर्भिस लेन राम्रोसँग ग्राभेल गरिएको छैन । आयोजना पूरा नहुँदै केही ठाउँमा कामको गुणस्तरमाथि प्रश्न उठेको छ । रेलिङ राखेको कतिपय ठाउँमा रेलिङ र पोल भाँचिएका छन् । फुटपाथमा बिछ्याइएका ब्लक भासिएका छन् भने केही ठाउँमा सडक चर्किएको छ । एकातिर सडक निर्माणमा चरम लापरबाही भइरहेको र अर्कोतिर कामको गुणस्तरमाथि प्रश्न उठेको स्थानीयले बताएका छन् ।

मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्डको काम शर्मा–अमर–नागार्जुन जेभीले गरिरहेको छ । बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ । करिब एक अर्ब ६५ करोडको लागतको यो आयोजनाको बाँकी काम लामो समयदेखि ठप्प छ । 

६ लेन सडकको काम पूरा नहुँदै मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयलाई गत असोजमा कञ्चनपुरस्थित महाकाली पुल आयोजना कार्यालयमा गाभिएको छ । 

तीनवटा पुल निर्माणको काम पनि निकै सुस्त 
६ लेन सडकमा पर्ने तीनवटा पुल निर्माणको काम पनि निकै सुस्त छ । गौरीफन्टा नाका जोड्ने मोहना नदी तथा गेटाको मनहरा र सुनिखोलामा पुल निर्माणको काम भइरहेको हो । तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको सुनिखोला पुल गत असोजमै सम्पन्न हुनुपर्ने हो । तर, अहिलेसम्म ४९ प्रतिशत मात्र काम भएको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । यो पुलको ठेक्काको म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ ।

मनहरा खोलामा करिब सात करोडको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति १५ प्रतिशत मात्र छ । निर्माण अवधि १५ महिना बाँकी रहे पनि हालसम्मको प्रगति निराशाजनक सबइन्जिनियर खड्काले बताए । उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले पुल निर्माण गरिरहेको छ । २७ महिनामा सक्ने गरी माघ २०७८ मा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशत मात्र रहेको खड्काले जानकारी दिए । उनका अनुसार १२ करोड १३ लाखमा यो पुल निर्माणको ठेक्का भएको हो । तीनै ठाउँमा साबिकको पुलको दुवैतिर नयाँ पुल बनाएर ६ लेन बनाउन लागिएको हो ।