
प्रहरीले अमेरिकाबाट जहाज हुँदै नेपाल आएको ६.९ किलो गाँजा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद गाँजा चकलेटको बट्टा तथा बच्चाको खेलौनाभित्र लुकाई नेपाल ल्याइएको थियो।
घटनामा संलग्न भारतीय नागरिक ३० वर्षीय निमेश अशोकभाई दयानी, सर्लाही हरिहरपुर नपा–३ का २८ वर्षीय फैज आलम र गोरखा गण्डकी गापा–४ का २३ वर्षीय रूपक अर्याल छन्।
उनीहरूलाई अमेरिकाबाट आएको पार्सल बुझ्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले निमेश र फैजलाई ४.५ किलो गाँजासहित विमानस्थलबाट पक्राउ गरेको थियो। अमेरिकाको क्लालिफोर्नियास्थित लसएन्जल्स सहरबाट आएको पार्सल बुझ्न उनीहरू आइतबार विमानस्थल पुगेका थिए।
उनीहरूको नाममा आएको पार्सलमा ‘चकलेट एन्ड चाइल्ड आइटेम’ उल्लेख थियो। शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। यस क्रममा प्रहरीले चकलेटको बट्टाभित्र लुकाई राखिएको ४.५ किलो गाँजा बरामद गरेको थियो। उनीहरूको साथबाट प्रहरीले दुई लाख २० हजार रुपैयाँ पनि बरामद गरेको छ।
त्यस्तै, अमेरिकाको क्यालिफोर्नियाबाटै आएको पार्सल बुझ्न विमानस्थल जाने क्रममा प्रहरीले गोरखाका रूपक अर्याललाई २.४ किलो गाँजासहित पक्राउ गरेको थियो।
उनको पार्सलमा ‘होम डेकोर वाटर फाउन्टेन एन्ड चाइल्ड गेम आइटेम’ लेखिएको थियो। चेकजाँचका क्रममा पार्सलभित्र गाँजा फेला परेको थियो।