१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्याद नाघेको औषधिले विवादमा रेसुंगा स्वास्थ्य शिविर

चौराह हस्पिटलको चरम लापरबाही, शिविरमा म्याद नाघेको नशाको औषधि वितरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

सोमबार बिहान रेसुंगा नगरपालिका– ८ का वडाध्यक्ष निरञ्जन थापा औषधि संकलनको दौडाहामा थिए। 

‘म्याद नाघेको औषधिले तनाव दियो। अहिलेसम्म वडा नं ८ मा दुईजना फेला परे,’ उनले भने, ‘बाँकीको तथ्यांक संकलन गरिरहेका छौँ।’ 

वडाध्यक्ष थापाका अनुसार शिविरबाट रेसुंगा नगरपालिका– ८ का देवी भलामी र सावित्रा थापाले म्याद नाघेको नसाको औषधि लगेका थिए। औषधि लगेको पत्ता लागेकाहरूका व्यक्तिहरू पहिचान गरेर फिर्ता माग्ने काम भइरहेकाे थापाले बताए। 

शनिबार रेसुंगा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा वितरण भएको नसाको औषधि म्याद नाघेको पाइएको हो। शिविरमा करिब सात सयले सेवा लिएका थिए । उनीहरूमध्ये नसाका बिरामीलाई वितरण गरिएको एमिजोए– १० को म्याद नाघेको पाइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीमगरले बताइन्। जनवरी २०२३ मा म्याद सकिएको एमिजोए– १० औषधि ४ मार्चमा वितरण गरिएको छ। 

शिविरमा चौराहा हस्पिटल प्रालि बुटवलले वितरण गरेको औषधि उपलब्ध गराएको थियो। घर्तीमगरका अनुसार चौराहा हस्पिटलले आफैँ औषधि वितरण गरेको थियो। सेवा लिएर फर्किएकाहरूबाट गुनासो आउन थालेपछि अहिले स्वास्थ्यकर्मी र जनप्रतिनिधि प्रयोग गरेर औषधि फिर्ता गर्ने काम भइरहेको छ। 

उनले आफूहरूले वितरण गरेका औषधिहरूको प्रमाण सुरक्षित भएकाले औषधि सेवन रोक्न टोल–टोलमा औषधि संकलन भइरहेको प्रतिक्रिया दिइन्। चौराहा हस्पिटल र नगरसँग म्याद नाघेको औषधिको यकिन विवरण छैन। 

सचेत नागरिकले औषधि हेरेर फिर्ता पनि गरे । केही व्यक्तिकोमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि पुगे। तर, औषधि वितरण भएको तीन दिनमा कसैले सेवन पनि गरेको भए त्यसबाट हुने क्षति कसले व्यहोर्ने यो गम्भीर विषय बनेको छ। 

रेसुंगा नगरपालिका– ८ का देवी भलामीका श्रीमान् ओमबहादुर भलामीले खोलेर पाता हेरेपछि म्याद नभएको पाइएको प्रतिक्रिया दिए। उनले तीन पाता औषधि भए पनि आफूहरूले म्याद हेरेर सेवन नगरेको बताए। सोही वडाकै हरिकला थापाले पनि छोरीहरूलाई औषधि देखाएपछि म्याद नभएको फेला परेको थियो।

उत्साहका साथ शिविर सम्पन्न गरेको रेसुंगा नगर अन्तिममा औषधिले विवादमा तानिएको छ। पवित्र उद्देश्य राखेर सञ्चालन गरिएको शिविरको चौतर्फी आलोचना रेसुंगा नगरपालिकाले खेपिरहेको छ। 

शिविरको शुभारम्भमा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, मेयर, नागरिक समाज र पत्रकारहरूसमेतको उपस्थिति रहेको थियो । रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले पवित्र भावानामा गम्भीर चोट पुगेको बताए। उनले प्राविधिक सबै काम चौराह हस्पिटलले गरेकाले गम्भीर त्रुटिका विषयमा स्पष्टीकरण मागेको प्रतिक्रिया दिए । उनले बिरामीहरूलाई औषध सेवन गर्न रोक्न टोलटोलमा पुगिएकाले हस्पिटलको प्रतिक्रियापछि थप अगाडि बढ्ने बताए। 

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल सत्यतथ्य बाहिर ल्गाउन आग्रह गरेको बताए। चौराहा हस्पिटल प्रालिका एचआर सन्तोष गुप्ताले आफूहरूको तर्फबाट भएको गल्ती स्वीकार गरे। 

नियत म्याद नाघेका औषधि वितरण गर्ने नभए पनि मानवीय त्रुटि भएको प्रतिक्रिया दिए। औषधि वितरणको तथ्यांक अझै निस्किएको छैन। सम्बन्धित फाँटलाई सही तथ्यांकको काममा लगाएको गुप्ताले बताए।