१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
टेकराज थामी काठमाडाैं
सुवास भट्ट काठमाडाैं
Invalid date format o७:o२:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘पाम नट’ भन्दै प्रतिबन्धित सुपारी आयात

करिब पौने तीन करोड राजस्व छली, भन्सार विभागले थाल्यो अनुसन्धान

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

‘पाम नट’ उल्लेख गरेर ल्याइएको एउटा कन्टेनर गत महिना नेपालगन्ज भन्सार कार्यालयले शंका लागेपछि नियन्त्रणमा लियो । पामको दानाबाट तेल निकाल्ने उद्योग नेपालमा नभएकाले कार्यालयले नमुना भन्सार विभागमा पठायो । प्रयोगशाला परीक्षणबाट पाम नट भनिएको वस्तु सुपारी देखियो । पाम नट नाम दिएर सुपारी आयात गरेको खुल्यो । 

सरकारले जथाभावी सुपारी आयातलाई प्रतिबन्ध नै लगाएको छ । उद्योगहरूले कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्ने गरी वाणिज्य विभागबाट अनुमति लिएर सुपारी आयात गर्न पाउँछन् । तर, पामको तेल निकाल्ने दाना ‘पाम नट’को नाम दिएर प्रतिबन्धित सुपारीको व्यापक तस्करी हुँदै आएको तथ्य खुलेको छ । 

एक वर्षको प्रारम्भिक तथ्यांक हेर्दा ‘पाम नट’को छद्म नाममा एक सय ३५ टनभन्दा बढी परिमाणमा सुपारी आयात भएको छ । यसबाट भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)समेत गर्दा झन्डै पौने तीन करोड राजस्व छली भएको अनुमान गरिएको भन्सार स्रोतले बतायो । यस विषयमा भन्सार विभागले अनुसन्धान थालेको छ । कोटा तोकिएको सुपारी यसरी निर्वाध आयात गर्न पाइँदैन । सरकारले कोभिड– १९ को पहिलो संक्रमण सुरु भएदेखि सुपारी आयातलाई रोकेको थियो । तर, पछि भने परिमाणात्मक बन्देज लगाइयो । पाम नट घोषणा गरेर ल्याइएको वस्तु सुपारी भएको पुष्टि भएपछि विभागले यस सम्बन्धमा छानबिन थालेको छ । 

विभागका अधिकारीहरूका अनुसार यो सुपारी बर्माबाट आयात भएको हो । इन्डोनेसियालगायतबाट पनि सुपारीको अवैध आयात हुने गरेको छ । यसबीचमा पाम नटको नाममा धेरैपटक वस्तु आएको पाएपछि विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक रूपमै हेर्दा पनि एक वर्षयता मात्रै करिब पाँच कन्टेनर पाम नट आयात भएको देखिन्छ । पाम नटकै नाममा तथा अन्य नाममा पनि विगतमा सुपारी तस्करी भएको हुन सक्ने अनुमान छ । एक कन्टेनरमा २७ देखि २८ टन अट्छ । यी सबै एउटै पार्टीले आयात गरेको हुन सक्ने विभाग स्रोत बताउँछ । 

यो तस्करीको विषयमा छानबिनका लागि भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयलाई पत्राचार गरेको छ । विभागले तीन दिनअघि पत्राचार गरेर यस विषयमा बुझेर जवाफ दिन भनेको छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यस विषयमा छानबिन भइरहेको बताए । ‘यस विषयमा विस्तृत छानबिन गरेर प्रतिवेदन पठाउन नेपालगन्ज कार्यालयलाई पत्राचार भएको छ,’ उनी भन्छन्, ‘छानबिनपछि सबै विषय थाहा होला ।’ 

करिब पौने तीन करोड राजस्व छली 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको आवश्यकता मूल्यांकन गरेर कोटाका आधारमा मात्र सुपारी आयातको अनुमति दिन्छ । विभिन्न मुलुकबाट अनेक नाममा आयात गरेर सुपारी भारत निकासी गर्ने तस्करी मौलाएपछि सरकारले कोटा तोकेको थियो । 

सुपारी आयात गर्दा प्रतिकिलोमै सय रुपैयाँ भन्सार, सय रुपैयाँ अन्तःशुल्क र त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । जसले गर्दा सुपारी महँगो पर्न जान्छ । सुपारी आयात गर्दा अहिले त्यसको घोषणा गर्ने मूल्य एक सय २० रुपैयाँ छ । त्यसमा सय रुपैयाँ भन्सार, सय रुपैयाँ अन्तःशुल्क जोड्दा तीन सय २० पुग्छ । तीन सय २० मा भ्याट लगाउँदा ४१.६ रुपैयाँ थपिन्छ । भ्याटसहित प्रतिकिलो सुपारी ३६१.६ रुपैयाँ पुग्छ । तर, पाम नट सस्तो छ । पाम नटमा घोषणा गरिएको मूल्यको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्र लाग्छ । भन्सार स्रोतका अनुसार सुपारीको परिमाण र त्यसमा लाग्ने करको मोटामोटी मूल्यांकन गर्दा पौने तीन करोड राजस्व छली भएको छ । 

 के हो पाम नट,यसको नाममा किन हुन्छ सुपारी तस्करी ?
पाम नट भनेको पामको तेल निकाल्ने दाना हो । तर, पामको दानाबाट तेल निकाल्ने उद्योग नेपालमा छैन । त्यसैले नेपालमा पान नट ल्याउनुको अर्थ नै छैन । तस्करले पाम नट नाम दिएर सुपारी तस्करी गर्नुको एउटै कारण हो राजस्व छली । पाम नटभन्दा सुपारीको भन्सार शुल्क प्रतिटनमै दुई लाखभन्दा बढी पर्ने भन्सार अधिकारीहरू बताउँछन् । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पामको तेल पनि पर्छ । उक्त तेल नेपालमा पाम नट पेलेर तयार हुँदैन । विदेशबाटै ट्यांकरमा तेल ल्याएर नेपालमा प्याकेटिङलगायतको काम मात्रै हुन्छ । 

‘पाम नट’ भनेको वस्तुको ल्याब परीक्षण गर्दा सुपारी पुष्टि, छानबिनपछि अन्य विषय खुल्छ
चक्रबहादुर बुढा, महानिर्देशक, भन्सार विभाग 

कच्चा तेलका लागि भनेर पाम नटको नाममा आएको वस्तुमाथि शंका लागेपछि नेपालगन्ज भन्सारले विभागमा परीक्षणका लागि पठाएको थियो । ल्याब परीक्षण गर्दा त्यो वस्तु सुपारी भएको पुष्टि भयो । त्यसपछि यही नाममा पहिला पनि सुपारी आयात भएको छ कि भनेर विस्तृत छानबिन गरेर प्रतिवेदन पठाउन नेपालगन्ज कार्यालयलाई पत्राचार भएको छ । छानबिन प्रतिवेदन आएपछि रिपोर्ट राजस्व अनुसन्धान विभागमा पठाउँछौँ । छानबिनपछि सबै विषय खुल्नेछ ।

 सुपारी सुटुसुटु सीमापारि

नेपालमा वर्षमा औसत पाँच हजार टन मात्रै खपत हुने सुपारी स्वदेशमै साढे १० हजार टन उत्पादन हुन्छ । विदेशबाट थप साढे आठ हजार टन (भन्सार छलेर अझै धेरै) आयात हुन्छ । तर, स्वदेशमा खपत हुनेबाहेक कम्तीमा १४ हजार टन सुपारी कहाँ जान्छ ? यो प्रश्नको जवाफ भन्सार विभागको तथ्यांकले नै दिन्छ । गत आर्थिक वर्ष ०७८÷७९ मा एक हजार चार सय ११ टन मात्रै सुपारी नेपालबाट निर्यात भएको विभागको तथ्यांक छ । यो हिसाबले स्पष्ट पार्छ– साढे १२ हजार टन सुपारी नेपालबाट तस्करी हुन्छ । 

सुपारी तस्करीको पुष्टि प्रहरीको तथ्यांकले पनि गर्छ । प्रहरीले तस्करीको सुपारी पटक–पटक बरामद गर्दै आएको छ । सबैभन्दा धेरै सुपारी तस्करी झापा हुँदै हुन्छ । प्रहरीले ०७९/८० को ६ महिनामा काँकडभिट्टा नाकाबाट मात्रै ४.४६ टन सुपारी बरामद गरेको छ । अघिल्लो वर्ष ०७८/७९ मा सोही नाकाबाट ७.९५ टन तस्करीको सुपारी बरामद गरेको थियो । त्यस्तै, ०७७/७८ मा ३.६५ टन, ०७६/७७ मा ४.२५ टन र ०७५/७६ मा ४.५ टन अवैध सुपारी बरामद गरेको थियो ।

त्यस्तै, भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा तीन हजार सात सय ८३ टन सुपारी आयात भएको छ । तर, यही अवधिमा जम्मा ९६ टन मात्रै अर्थात् तीन करोड ८७ लाख रुपैयाँबराबरको मात्रै निर्यात भएको छ । करिब तीन हजार सात सय टन अर्थात् ७४ करोड ८६ लाख ९५ हजार रुपैयाँबराबरको सुपारी गायब भएको छ । विभागकै अनुसार गत वर्ष ०७८/७९ मा ७० करोड ८५ लाख ८५ हजार रुपैयाँबराबरको आठ हजार चार सय ५२ टन सुपारी आयात भएको थियो । जब कि निर्यात भने ५६ करोड ८७ लाख ७० हजार रुपैयाँबराबरको एक हजार चार सय ११ टन मात्रै भएको थियो । 

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसी आयात भएका अधिकांश सुपारी तस्करीमार्फत भारत पुग्ने गरेको बताउँछन् । ‘मुलुकको विभिन्न नाका हुँदै तस्करी भएर जाने सुपारी प्रहरीले पटक–पटक बरामद गरेको छ । नापतौल लिँदा यसको परिमाण ठूलै हुन आउँछ । यी घटनाले पुष्टि गर्छ कि आयात भएका अधिकांश सुपारी तस्करी भएर भारत पुग्छन् । तस्करीको केही परिमाण मात्रै बरामद गर्न सकिएको छ,’ उनले भने । 

सुपारी विशेष गरी पानमसला तथा गुड्खामा प्रयोग हुन्छ । नेपालमा गुड्खा उत्पादन गर्ने कम्पनी २५ वटा छन् । जसमध्ये सबैभन्दा धेरै गुड्खा उत्पादन गर्ने उद्योग श्रीराम टोबाको र देउती गुड्खा उद्योग हुन् । बाँकी उद्योगको उत्पादन निकै कम छ । नेपालमा उत्पादित र विदेशबाट आयातित सुपारी २४ उद्योगले मात्रै खपत गर्नु असम्भव छ । जसले पुष्टि गर्छ कि आयात भएका मात्रै होइन, उत्पादित सुपारीसमेत तस्कर भएर भारतीय बजार पुग्छ । जसबाट सरकारले वार्षिक करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा अहिले सुपारीको मूल्य प्रतिटन दुई हजार पाँच सय अमेरिकी डलर छ । भारतीय बजारमा प्रतिटन दुई हजार ६ सय अमेरिकी डलर छ । तर, नेपालमा भने प्रतिटन एक हजार ५० डलर मात्रै तोकिएको छ । अर्थात् नेपालमा भन्दा भारतीय बजारमा सुपारी प्रतिटन एक हजार पाँच सय ५० डलर महँगोमा बिक्री हुन्छ । यसकारण पनि तस्करले विदेशबाट सीधै नेपाल आयात गरेर भारतमा तस्करी गर्ने गरेका छन् ।