१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सय फिट अग्लो सलिकसहितको यलम्बर पार्क निर्माण ८० प्रतिशत पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:३o:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ मा निर्माणाधीन यलम्बर पार्कको काम अन्तिम चरणमा पुगेको छ । किराँत ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरी भ्याटसहित रु. ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको सय फिट अग्लो सालिकसहितको पार्क निर्माण भइरहेको छ ।

नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इन्जिनियर राजन पुडासैनीले जानकारी दिए । ‘निर्माणाधीन पार्कको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ,’ उनले भने, ‘अहिले यलम्बरको सालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने गरी कामलाई तीव्रता दिइएको छ ।’

यलम्बर पार्कमा आर्थिक वर्ष ०७६–७७ मा नगरपालिकाबाट विनियोजन भएको रु. ७२ लाख बजेटबाट प्रवेशद्वार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेस्टुरेन्ट र पसल सञ्चालन गर्ने गृह (भवन)लगायत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।

निर्माणाधीन यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका– १४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण भइरहेको पञ्चदोबाटोको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।

पार्कमा राखिने यलम्बर राजाको सालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्ध–निर्देशक सुनील राईले बताए । ‘पार्कमा स्थापना गरिने सय फिट अग्लो प्रथम किराँती राजा यलम्बरको सालिकको अहिले टाउको निर्माण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर निर्माणाधीन सालिक आगामी चैत मसान्तसम्म बुइपास्थित पार्कमा ल्याएर स्थापना गरिसक्छौँ ।’

नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर पार्कको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने यलम्बर पार्क पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिए ।

यलम्बर पार्क निर्माणको काम करिब रु. १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । ३० रोपनीभन्दा बढी सरकारी जग्गामा निर्माण सुरु गरिएको पार्क व्यवस्थित तथा आधुनिक हुने जनाइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीनजिक रहेको बुइपामा निर्माण सुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने जनाइएको छ । यलम्बरपार्कदेखि किराँत सभ्यताको उदगमथलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्गसमेत निर्माण गर्ने योजना बनाइएको नगर उपप्रमुख विसन राईले जानकारी दिए ।

नेपाल सरकारले निर्धारण गरेको सयवटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बरपार्कलाई महत्वका साथ हेरिएको छ । पञ्चदोबाटोमा निर्माणाधीन अवस्थामा रहेको यलम्बर पार्कमा राखिएको जोडी बाबु (चिण्डो) निकै आकर्षक देखिएको छ ।

ad
ad