Skip This
नेपाली वायुसेवा कम्पनीहरूले पुराना एक दर्जन जहाज बिक्री गर्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format १o:४o:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली वायुसेवा कम्पनीहरूले पुराना एक दर्जन जहाज बिक्री गर्दै

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

गुणका पाँचवटा जेट स्ट्रिम खरिद गर्ने कम्पनी भेटियो, सौर्यको ग्राउन्डेड जहाज बिक्रीमा 

वायुसेवा कम्पनीहरूले पुराना जहाज धमाधम बिक्री गर्न थालेका छन् । नेपाली आकाशमा २५ वर्ष उडान गरेका बुद्ध एयरका दुईवटा ‘बिचक्राफ्ट १९०० डी’ जहाज क्यानडा पुगिसकेका छन् । पुराना जहाज उडाउँदा खर्च धेरै हुन थालेपछि बुद्धले हालै क्यानेडियन कम्पनीलाई बिचक्राफ्ट बिक्री गरेको हो । आन्तरिक उडानमा अग्रणी बुद्धले सन् १९९७ मा १८ सिटको बिचक्राफ्ट जहाजबाटै व्यावसायिक उडान सुरु गरेको थियो ।

गुण एयरलाइन्सले आफूसँग भएका पाँचवटा जेट स्ट्रिम–४१ सिरिजका जहाज बिक्री गर्न लागेको छ । जेट स्ट्रिम खरिद गर्न इच्छुक अमेरिकन कम्पनीले नेपाल आएर जहाजसमेत हेरिसकेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले पनि आन्तरिक उडान गर्ने पाँचवटा चिनियाँ जहाज बिक्री गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । यस्तै, सौर्य एयरलाइन्सले एउटा ‘बम्बार्डियर सिआरजे–२००’ जहाज बिक्री गरेर एटिआर जहाज ल्याउने तयारीमा छ ।

यतिवेला विभिन्न वायुसेवा कम्पनीका एक दर्जनभन्दा बढी पुराना जहाज बिक्रीमा रहेका छन् । कतिपय वायुसेवाले पुराना जहाज बिक्री गरेर नयाँ ल्याउन लागेका छन् भने कतिपयले आम्दानीभन्दा सञ्चालन खर्च धेरै भएपछि जहाज बिक्री गर्दै छन् । चिनियाँ जहाज उडाउँदा उल्टै घाटा हुन थालेपछि निगमले पाँचवटै जहाज बिक्री गर्ने निष्कर्षमा पुगेको हो । जेट इन्जिन जहाजको पनि आम्दानीभन्दा खर्च धेरै हुने गरेको वायुसेवा कम्पनीको भनाइ छ । त्यसैले श्रीले तीनवटा र सौर्यले एउटा जहाज ग्राउन्डेड गरेर राखेको छ ।  

गुणका पाँचवटा जेट स्ट्रिम बिक्रीमा
गुणले यती एयरलाइन्ससँग ०७८ सालमा पाँचवटा जेट स्ट्रिम जहाज किनेको थियो । दुईवटा बिचक्राफ्टसहित सातवटा जहाज भए पनि गुणले चारवटा जहाज मात्र उडाउँदै आएको थियो । अब पाँचवटै जेट स्ट्रिम जहाज बिक्री गर्न लागेको गुणका मार्केटिङ प्रमुख प्रज्वल थापाले बताए । ‘पछिल्लो पाँच महिनादेखि जेट स्ट्रिम जहाज बिक्रीको तयारी भइरहेको थियो,’ उनले भने, ‘अब एउटा अमेरिकन कम्पनीले जहाज लैजाने करिब टुंगो लागिसकेको छ ।’

गुणका जेट स्ट्रिम जहाज हेर्नका लागि आएको अमेरिकन कम्पनीको प्राविधिक टोली दुई सातादेखि नेपालमै छ । अमेरिकन कम्पनीलाई जहाज बिक्री गर्ने टुंगो लागिसके पनि अझै मूल्यांकन भने भइनसकेको थापाको भनाइ छ । ‘छिट्टै जेट स्ट्रिम जहाज विदेशी कम्पनीलाई हस्तान्तरण गर्नेछौँ,’ उनले भने, ‘अब गुणसँग साना दुईवटा बिचक्राफ्ट जहाज मात्रै हुनेछन् ।’ गुणले जेट स्ट्रिम बिक्री गरेर ५० देखि ७० सिट क्षमतासम्मका मझौला जहाज किन्ने तयारीमा छ ।

ग्राउन्डेड बम्बार्डियर बिक्री गर्दै सौर्य
सौर्य एयरलाइन्ससँग तीनवटा जेट इन्जिन बम्बार्डियर सिआरजे–२०० सिरिजका जहाज भए पनि दुईवटाबाट मात्रै सेवा दिइरहेको छ । एउटा जहाज लामो समयदेखि ग्राउन्डेड छ, जसका कतिपय पार्टपुर्जा झिकेर अन्य जहाजको मर्मतमा प्रयोग गरिएको छ । ‘हामीले जहाजको इन्जिन समय–समयमा स्टार्ट गरिरहेका छौँ, तर पार्टपुर्जा झिकिसकेको हुँदा सञ्चालनमा ल्याउन तयार छैन,’ सौर्यका अध्यक्ष दीपक पोखरेलले भने, ‘ग्राउन्डेड जहाज बिक्री गर्ने योजनामा छौँ, तर अझै प्रक्रिया भने अगाडि बढाएका छैनौँ ।’

सौर्यले तीनवटा एटिआर जहाज ल्याउन पर्यटन मन्त्रालयबाट स्वीकृति पाइसकेको अध्यक्ष पोखरेलले बताए । ‘हामीले अन्तर्राष्ट्रिय उडानका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ,’ उनले भने, ‘अहिले उडिरहेका दुईवटा बम्बार्डियर जहाज भोलिका दिनमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्छौँ, आन्तरिक उडानका लागि एटिआर जहाज ल्याउन लागेका छौँ ।’ सौर्यले छिट्टै एटिआर जहाज ल्याउने उनको भनाइ छ ।

श्री एयरलाइन्ससँग पनि आठवटा जहाज रहेका छन् । तर, लामो समयदेखि चारवटा जहाज मात्रै उडाइरहेको छ । अरू जेट इन्जिन जहाजले लामो समयदेखि उडान गरेका छैनन् । यी जहाजको आम्दानीभन्दा सञ्चालन खर्च धेरै हुँदा थन्क्याएर राखेको कम्पनीको भनाइ छ । नेपाली आकाशमा एटिआर जहाज उपयुक्त देखिएपछि धेरैजसो वायुसेवा कम्पनी एटिआर भित्र्याउने प्रतिस्पर्धामा छन् ।

अहिले बुद्ध एयर र यती एयरलाइन्ससँग मात्रै एटिआर जहाज छन् । बुद्धसँग एटिआर–४२ र एटिआर–७२ गरी १४ वटा एटिआर जहाज छन् भने यतीसँग पाँचवटा एटिआर–७२ जहाज रहेका छन् । अहिले नेपालमा नेपाल एयरलान्इस, बुद्ध, यती, श्री, तारा, गुण, सीता, समिट र सौर्य गरी नौवटा वायुसेवा कम्पनीले आन्तरिक उडान सेवा दिइरहेका छन् ।  

नेपाल वायुसेवा निगमका पाँच जहाज बिक्रीमा

मध्य साउन ०७७ देखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड चिनियाँ जहाज बिक्रीका लागि निगमले प्रक्रिया अगाडि बढाएको छ । निगमले अनुदान र सहुलियतपूर्ण ऋणमा ६ वटा चिनियाँ जहाज ल्याएको थियो । जसमध्ये एउटा जहाज नेपालगन्ज एयरपोर्टमा दुर्घटनाग्रस्त भएपछि स्क्र्याप गरेर इन्स्योरेन्ससमेत दाबी गरिसकेको निगमकी प्रवक्ता खड्काले बताइन् ।

निगमले चिनियाँ जहाज भाडामा लैजाने कम्पनी नभेटेपछि बिक्री गर्ने निष्कर्षमा पुगेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । ‘पटक–पटक सार्वजनिक आह्वान गर्दा पनि जहाज भाडामा लैजाने भेटिएनन्, अनि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भनिन् । अहिले निगम चाइनिज जहाज बिक्रीका लागि मूल्यांकन गर्न भ्यालुएटर छान्ने अन्तिम प्रक्रियामा छ । 

निगमले दुईवटा ५७ सिटका एमए–६० र तीनवटा १९ सिटका वाई–१२ ई जहाज बिक्री गर्न लागेको हो । चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा नै ५० करोडसम्म हुने गरेको कारण देखाउँदै निगमले साढे दुई वर्षदेखि पाँचवटै जहाज ग्राउन्डेड गरेर राखेको छ । निगमले एउटा एमए–६० र एउटा वाई–१२ ई जहाज अनुदानमा पाएको थियो भने चारवटा जहाज सहुलियतपूर्ण ऋणमा किनेर ल्याएको हो, जसको लागत मूल्य चार अर्ब ३३ करोड रुपैयाँ हो । यी विमानले अत्यधिक इन्धन खपत गर्नुका साथै यात्रु क्षमता पनि कम, चिनियाँ पक्षबाट पार्जपुर्जा उपलब्ध गराउन ढिलाइ, तालिममा असहयोग, चर्को इन्स्योरेन्सलगायत कारण अत्यधिक घाटा व्यहोर्नुपरेको निगमको दाबी छ । 

निगमले अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७ जहाज पनि बिक्री गर्ने प्रक्रिया अगाडि बढाउँदै छ । पुरानो जहाज उडाउन सञ्चालन खर्च धेरै लागेपछि निगमले दुईवटै बोइङ बिक्री गरेको थियो । एउटा बोइङ भवन भट्टको कम्पनी बिबी एयरवेजले १५ करोड १७ लाखमा खरिद गरेर स्वामित्व लिइसकेको छ । अर्को बोइङ पनि अमेरिकन कम्पनीले खरिद गर्न दुई लाख ८५ हजार अमेरिकी डलर एडभान्स दिएको थियो । तर, रेरर्न लागेको थियो । तर, अहिलेसम्म बाँकी रकम नदिएको प्रवक्ता खड्काले बताइन् । ‘जहाजको पूरा मूल्यांकन ५.७ मिलियन डलर हो, अमेरिकन कम्पनी सम्पर्कमा नहुँदा जहाज लैजाने हो कि होइन, थाहा छैन,’ उनले भनिन्, ‘जहाज उडाएर लैजाने प्रोसेसमा थियो, कोभिडका कारण पनि लैजान सकेन होला ।’ 

अमेरिकन कम्पनीले बोइङको बाँकी पैसा नबुझाएपछि जहाज पुनः बिक्री गर्न टेन्डर आह्वान गर्ने कि नगर्ने भनेर निगम अलमलमा छ । अमेरिकन कम्पनी पछाडि हटेमा निगमको बोइङ ७५७ जहाज पुनः बिक्रीका लागि सार्वजनिक टेन्डर आह्वान हुनेछ । जहाज जति धेरै पुरानो भयो, त्यसको मर्मत खर्चदेखि तेलको खपत पनि बढ्ने हुन्छ । अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० जहाज रहेका छन् ।

किफायती जहाज भित्र्याउनु राम्रो हो  : ज्ञानेन्द्र भुल सूचना अधिकारी, क्यान

वायुसेवा कम्पनीले गर्ने जहाज खरिद–बिक्रीको डिलबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई खासै थाहा हुँदैन । हाम्रोमा रजिस्ट्रेसन र डि–रजिस्ट्रेसनको काम हुने हो । नेपालमा रहेको दर्ता खारेज गर्नुपर्ने वा स्वामित्व परिवर्तन गर्नुपर्ने भए क्यानमा आउनुपर्छ । वायुसेवा कम्पनीले पुराना जहाज हटाउने र नयाँ किफायती जहाज भित्र्याउने कुरा उड्डयन उद्योगका लागि राम्रो कुरो हो । खर्च धेरै भएका जहाज उडाएर वायुसेवा कम्पनीलाई फाइदा हुँदैन । यदि वायुसेवा कम्पनीले कमाइ गर्न सकेनन् भने उड्डयन सुरक्षामा सम्झौता गर्न सक्छन् । विश्वभरि नै सञ्चालन खर्च धेरै भएका जहाज हटाएर किफायती जहाज ल्याउने गरिन्छ । जहाजको प्रविधिमा धेरै परिवर्तन आइसकेको हुँदा नयाँ सिरिजका जहाज सञ्चालनमा वायुसेवा कम्पनीले जोड दिनु पक्कै राम्रो हो ।