
काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटघाट भएको छ। भेटमा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच समन्वय गर्ने विषयमा छलफल भएको पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो। काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु,’ भेटबारे पौडेलले फेसबुकमा लेखेका छन्।
भेटमा अतिक्रमित सार्वजनिक जमिन फिर्ता ल्याउन तथा टुकुचाको पानी ओभरफ्लो र ढल निकासी गर्ने, कलंकीदेखि धोबी खोलासम्म रिङ रोड विस्तारलाई तीव्रता दिन पहल गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।