मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानास्थित शिशु स्याहार केन्द्र । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०६:२२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्रै शिशु स्याहार केन्द्र

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०६:२२:००

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या

नेपाल प्रहरीमा महिला सुरक्षाकर्मी आठ हजार तीन सय ४३ छन्, जुन कुल संख्याको ११ प्रतिशत हो । जसमध्ये अधिकांश विवाहित छन् र शिशु भएका महिला प्रहरीको संख्या उल्लेख्य छ । तर, उनीहरू ड्युटीमा खटिँदा बच्चा राख्न सम्बन्धित कार्यालयमा शिशु स्याहार केन्द्र छैनन् । प्रहरीका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)बाहेक अन्य ठाउँमा शिशु स्याहार केन्द्र छैन । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा पनि शिशु स्याहार केन्द्र राख्ने योजना रहेको बताए । ‘महिला प्रहरीका लागि शिशु स्याहार केन्द्र लाभदायक रहेको हाम्रो बुझाइ छ । प्रहरी प्रधान कार्यालयमा पनि शिशु स्याहार केन्द्रको आवश्यकता महसुस भएको छ । राख्ने योजना पनि बनेको छ । नभएका अन्य कार्यालयमा पनि राख्ने योजना छ,’ उनले भने ।

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या 
काठमाडौं ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छिन् प्रहरी सहायक हवल्दार नारायणी सापकोटा । साढे दुई वर्षको छोरासँगै उनी बिहान ९ बजे कार्यालय आउँछिन् । कार्यालयपरिसरमै रहेको दिवा शिशु स्याहार केन्द्रमा छोरा राख्छिन् । साँझ ५ बजे ‘ड्युटी’ सकिएपछि छोरा लिएर अनामनगरस्थित डेरा फर्किन्छिन् । दुई वर्षदेखि उनको यो रुटिन नियमित छ । 

नारायणीका श्रीमान् देवीराम भण्डारी पनि नेपाल प्रहरीकै इन्स्पेक्टर छन् । उनी रोल्पामा छन् । काखे छोरा हेर्न डेरामा कोही सहयोगी नभएपछि आफूसँगै कार्यालय ल्याउनु नारायणीका लागि बाध्यता हो । उनी भन्छिन्, ‘बाबु सानो छ । कोठामा हेर्न मान्छे कोही छैन । बिहान ९ बजे आफूसँगै कार्यालय लिएर आउँछु । शिशु स्याहार केन्द्रमा राख्छु । ‘ड्युटी’ सकिएपछि छोरा लिएर फर्किन्छु । ६ महिनाको हुँदादेखि स्याहार केन्द्रमा राख्दै आएकी छु । स्तनपानका लागि समय मिलाउन निकै गाह्रो हुन्थ्यो, अहिले त दूध छुटाइसकेँ ।’ 

सिंहदरबारको दक्षिण ढोकामा ‘ड्युटी’ छ, प्रहरी सहायक हवल्दार मीना भट्टको । बिहानको ठीक ९ बजे उनलाई सिंहदरबार दक्षिण ढोका पुग्नुपर्छ । तीन वर्षकी छोरी छिन्, हेरचाह गर्न डेरामा कोही सहयोगी छैन । ८ नबज्दै उनी छोरी लिएर उपत्यका ट्राफिक कार्यालयस्थित शिशु स्याहार केन्द्र पुग्छिन् । छोरीलाई स्याहार केन्द्रमा राख्छिन् । अनि ‘ड्युटी’ भ्याउन पुग्छिन् । ड्युटी सकेर बेलुकाको ४:३० मा स्याहार केन्द्र पुग्छिन् । केन्द्रमै छोरीलाई दूध खुवाउँछिन् । त्यसपछि लिएर डेरामा फर्किन्छिन् । उनको यो नियमित रुटिन आठ महिनादेखि चलिरहेको छ । 

छोरी लिन पुग्दा स्याहार केन्द्रमै भेटिएकी उनले भनिन्, ‘श्रीमान् पनि प्रहरी नै हुनुहुन्छ । उहाँको ‘ड्युटी’ हेडक्वार्टरमा छ । छोरी हेर्ने मान्छे छैन । त्यसो हुँदा कार्यालय आउँदा छोरीलाई सँगै ल्याउँछु । स्याहार केन्द्रमा राख्छु । दिनभर ‘ड्युटी’ गर्छु । ड्युटी सकेपछि छोरी लिएर घर फर्किन्छु ।’ 

छोरी अझै सानी छँदा उनले झन् ठूलो कष्ट भोगिन् । यसअघि उनको ‘ड्युटी’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा थियो । मन्त्रालयमै छोरी लिएर जान्थिन्, तर त्यहाँ शिशु स्याहार केन्द्र थिएन । त्यसवेला छोरी हुर्काउन उनलाई निकै कठिन पर्‍यो । ‘ड्युटी’स्थल बदलिएसँगै उनले छोरीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयपरिसरस्थित शिशु स्याहार केन्द्रमा राख्न थालेकी हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमै कार्यरत अर्की प्रहरी सहायक हवल्दार हुन्, सावित्रा खड्का । उनको पनि १६ महिनाको छोरा छ । श्रीमान् प्रहरी संगठनमै कार्यरत हुँदा छोराको हेरचाह गर्ने डेरामा कोही छैन । त्यसो हुँदा उनी प्रत्येक बिहान ९ बजे छोरालाई आफूसँगै कार्यालय लिएर आउँछिन् । शिशु स्याहार केन्द्रमा राख्छिन् । दिनभर ‘ड्युटी’ गर्छिन् । सकेर छोरा लिन जाँदा सधैँ साँझ पर्छ ।

अनामनगर बस्दै आएकी उनी भन्छिन्, ‘बिहान ९ बजे नै छोरा लिएर कार्यालय आउँछु । छोरालाई स्याहार केन्द्र राख्छु । आफू ‘ड्युटी’मा जान्छु । काम सकेर बाबु लिन जाँदा सधैँ बेलुका हुन्छ ।’ 

प्रहरीको ‘ड्युटी’ स्थान र समय सधैँ निर्धारित हुन्छ । त्यसभन्दा दायाँबायाँ गर्ने छुट उनीहरूलाई हुँदैन । विशेषगरी आमा प्रहरीका लागि यो नियम कहिलेकाहीँ व्यावहारिक हुँदैन । स्याहार केन्द्रमा राखे पनि बच्चालाई स्तनपान गराउन भने समस्या छ । स्याहार केन्द्रमै भेटिएकी सहायक हवल्दार खड्काले भनिन्, ‘प्रहरीको ‘ड्युटी’ कडा हुन्छ । खटिएको ठाउँ र निर्धारित समयभन्दा दायाँबायाँ गर्न पाइँदैन । यस्तो वेला बच्चा रोए पनि दूध खुवाउन पाइँदैन । आफ्नो भने दूध चुहिएर खेर जान्छ ।’ 

सिंहदरबारस्थित प्रहरी गणमा कार्यरत प्रहरी सहायक हवल्दार जमुना घिसिङ उपत्यका ट्राफिक कार्यालयस्थित शिशु स्याहार केन्द्र पुग्दा दुई वर्षको छोरालाई स्तनपान गराइरहेकी थिइन् । बिहान ९ बजे उनले छोरालाई शिशु स्याहार केन्द्रमा छाडेकी थिइन् । ‘ड्युटी’ सकेर छोरा लिन स्याहार केन्द्र पुग्दा अपराह्न ५ बजेको थियो । १५ महिनादेखि केन्द्रमा छोरा राख्दै आएकी उनले भनिन्, ‘श्रीमान् पनि प्रहरीमै जागिरे हुनुहुन्छ । घरमा बच्चा हेर्ने कोही सहयोगी छैन । त्यसो हुँदा कार्यालय आउँदा सँगै ल्याउँछु ।’ 

सेनाको देशभर ६ स्थानमा मात्रै शिशु स्याहार केन्द्र 
नेपाली सेनामा महिला सुरक्षाकर्मी तथा कर्मचारीको संख्या ६ हजार ६ सय ३२ छ । यो कुल सैनिक संख्याको करिब ६ प्रतिशत हो । जसमध्ये पाँच हजार चार सय एक साधारणतर्फ छन् भने बाँकी एक हजार दुई सय ३१ प्राविधिक र कर्मचारी छन् । सेनामा पनि शिशुसहितका आमा निकै छन् । उनीहरूका लागि सेनाले मुलुकभर ६ स्थानमा शिशु स्याहार केन्द्र खोलेको छ । जसमध्ये उपत्यकामा सैनिक जंगी अड्डा भद्रकाली र छाउनीमा छ । बाँकी चार स्याहार केन्द्र उपत्यकाबाहिर छन् । 

सेनाका अनुसार प्रत्येक शिशु स्याहार केन्द्रले दैनिक ३० देखि ४० सैनिकका बच्चालाई सेवा दिँदै आएको छ । केन्द्रमा ६ महिनादेखि तीन वर्षसम्मका बच्चा राख्ने गरिएको छ । कार्यालयमा कार्यरत सैनिकले बिहान ९ बजे आफूसँगै बच्चा लिएर आउँछन् । स्याहार केन्द्रमा राख्छन् । ‘ड्युटी’ सकेर साँझ पुनः स्याहार केन्द्र पुग्छन् र बच्चा लिएर घर फर्किन्छन् । 

नेपाली सेनाका जवान गोमा बस्नेतले शिशु स्याहार केन्द्रमा बच्चा राख्दा दिनभर ‘ड्युटी’मा खटिन सहज भएको बताइन् । उनले भनिन्, ‘स्याहार केन्द्रमा बच्चा राख्न पाउँदा ढुक्क छु । स्याहार केन्द्रले रेखदेख राम्रोसँग गरेको पाएँ । दुई–तीन दिनको अध्ययनपछि मैले यहाँ बच्चा राखेकी हुँ ।’ 

सशस्त्र प्रहरीको सबै बटालियनमा शिशु स्याहार केन्द्र 
सशस्त्र प्रहरीमा महिला सुरक्षाकर्मीको संख्या दुई हजार तीन सय ९९ छ । ३७ हजारको फौजमा यो संख्या ६.४८ प्रतिशत मात्रै यो । सेना र नेपाल प्रहरीको तुलनामा यो संख्या कम हो । तर, सशस्त्रले प्रधान कार्यालयदेखि मुलुकका ४४ वटै बटालियनमा शिशु स्याहार केन्द्र खोलेको छ । त्यसबाहेक अधिकांश गुल्ममा पनि शिशु स्याहार केन्द्र खोलिएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्रको मुलुकभर ३७ वटा गुल्म छन् । 

सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी पुरुषोत्तम थापाले शिशु स्याहार केन्द्र प्रधान कार्यालयसहित मुलुकको सबै बटालियनमा रहेको बताए । 

‘समावेशी सिद्धान्तका आधारमा हामीकहाँ ठूलो संख्यामा महिला सुरक्षाकर्मी छन् । उनीहरूबाट काम लिनुपर्ने हुन्छ । सानो बच्चाका कारण समस्या पर्ने देखियो । यसको निराकरणका लागि हामीले सबै बटालियन र गुल्ममा शिशु स्याहार केन्द्र राख्न लगाएका छौँ । केही गुल्ममा भने राख्न बाँकी होलान्,’ उनले भने, ‘प्रधान कार्यालयमा त मन्टेसरी नै चलाउने योजना छ । यसो गर्दा बच्चासहितका आमा सुरक्षाकर्मीलाई फाइदा हुन्छ । उनीहरूबाट संगठनले काम पनि लिन सक्छ ।’