मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ फाल्गुण १३ शनिबार १६:५३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज महानगर : ७ महिनामा पुँजीगत खर्च १५ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १३ शनिबार १६:५३:००

वीरगन्ज महानगरपालिकाले पुँजीगततर्फ विनियोजन गरेको बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ। चालू आर्थिक वर्ष ०७९/८० को ७ महिना बितिसक्दासमेत पुँजीगत खर्च १५ प्रतिशत मात्र रहेको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरी ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार वार्षिक आय–व्ययको अनुमानित बजेट विनियोजन गरेको छ। महानगरपालिकाले नगरसभाबाट पुँजीगततर्फ १ अर्ब ३६ करोड ४८ लाख बजेट विनियोजन गरेकोमा हालसम्म २० करोड ९५ लाख मात्र खर्च भएको प्रशासन महाशाखाका प्रमुख रामकुमार कुशवाहाले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाभित्र विभिन्न विकाश निर्माणको कार्य जारी रहेको, तर भुक्तानी लिने कार्य ढिला भएकाले खर्च कम देखिएको हो। अहिलेसम्म देशभरि नै यही अनुपातमा पुँजीगत खर्च रहेकाले महानगरको खर्चको अवस्था कमजोर नरहेको कुशवाहाको दाबी छ। विगतको ५ वर्षे कार्यकालमा पनि महानगरपालिकाको पुँजीगततर्फ ५० प्रतिशतभन्दा बढी खर्च गर्न नसकेको तथ्यांक छ।

जनप्रतिनिधिले निर्वाचनको समयमा विकास निर्माणको लहर ल्याउने प्रतिबद्धता गरे पनि बजेट सदुपयोग गर्न सकिरहेका छैनन्। जसले गर्दा एक वर्षमा हुने विकास निर्माणको काम लामो समयसम्ममा पूरा हुन सकेको छैन।

किन भएन पुँजीगत खर्च ?
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगरपालिकामा विकास निर्माणको काम तीव्रगतिमा भइरहेकाले पुँजीगत खर्च हुने क्रम जारी रहेको बताए। उनले महानगरपालिकाभित्रको काम नियमित रूपमा भइरहे पनि निर्माण कम्पनीले भुक्तानी लिन ढिलो गरेकाले खर्च नदेखिएको जिकिर गरे।

निर्माण कम्पनीले आफ्नो आवश्यकताअनुसार बुझ्ने प्रक्रियामा रहेकाले महानगरपालिकाको तथ्यांकअनुसार भुक्तानी कम भएको देखिएको भए पनि अहिले बढ्ने क्रममा रहेको सिंहले बताए।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले विभिन्न प्राविधिक कारणले अहिलेसम्म पुँजीगत खर्च नदेखिएको बताए। पौडेलले नियमित रूपमा काम जारी रहेकाले सुरुको काम भदौमा वर्षाको कारण रोकिएको बताए। यस्तै, असोज र कात्तिकतिर चाडपर्वको कारण विकास निर्माणको काम तीव्र रूपमा नभएको अधिकृत पौडेलले बताए।

गत मंसिरमा भएको निर्वाचनले आचारसंहिता लागू भएपछि काम रोकिएको र केही समयअघि पुनः क्रसर बन्द भएकाले ढिलाइ भएको उनको भनाइ छ। अहिले धमाधम काम भइरहेको र नियमित रूपमा विकास निर्माण कार्यको प्रगति र खर्च अनुपात बढ्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले दाबी गरे।

जनप्रतिनिधिबीच आपसी समन्वय नहुँदा समस्या
वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिबिच आपसी समन्वय नहुँदा विकास निर्माणको कार्य अघि नबढेकाले पुँजीगत खर्चमा वृद्धि नभएको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंहले बताए।

अहिलेका जनप्रतिनिधिबीच एकअर्कालाई सहयोग गर्ने वातावरण पनि नरहेकाले विकास निर्माणका कार्यमा प्रत्यक्ष असर परेको उनको आरोप छ। समस्या कहाँ छ र निराकरण कसरी गर्ने भन्नेबारे अझैसम्म सम्बद्ध पक्षले नसोचेको उनी बताउँछन्। महानगरपालिकामा आवश्यकताअनुसार कर्मचारीको पदपूर्ति नभएकाले पनि निर्माण कार्यमा असर परेको छ।