पछिल्लो समय नेपाली पौडी क्षेत्रमा गौरिका सिंहपछि चर्चामा आएकी खेलाडी डुवाना लामा हुन् । गत कात्तिकमा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुवानाले आफू सहभागी इभेन्ट्समा पाँच राष्ट्रिय कीर्तिमानसहित नौ स्वर्ण र एक रजत पदक जितिन् । यस सफलतापछि डुवानाको चर्चा चुलिएको हो ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडीमा करिश्मा कार्की र गौरिका हुन् । यी दुई खेलाडीपछि अब डुवानाको नाम आउँछ । पोखरा संस्करणमा डुवानाले आफूलाई भावी स्टारका रूपमा संकेत गरिसकेकी थिइन् ।
डुवानाले बिस्तारै घरेलु पौडीमा आफ्नो प्रभुत्व जमाएको देखिन्छ । तीन वर्षअघि नेपालगन्जमा आयोजित आठौँ राष्ट्रिय खेलकुदमा उनले पाँच स्वर्ण र ६ रजत जितेकी थिइन् । पौडीमा बटरफ्लाई र ब्रेस्टस्ट्रोक डुवानाको सबैभन्दा मन पर्ने विधा हो । त्यसैले पनि उनले आफूलाई सोही विधामा परिष्कृत गर्दै लगेकी छिन् ।
गत असारमा हंगेरीमा आयोजित १९औँ फिना विश्व च्याम्पियनसिप र पेरुमा आयोजित आठौँ फिना विश्व जुनियर स्विमिङ च्याम्पियनसिपमा डुवानाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनले दुवै प्रतियोगितामा ५० मिटर र सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरिन् । डुवाना जुनियर विश्व च्याम्पियनसिपमा आफ्नो हिटमा पहिलो बनेकी थिइन् ।
१३औँ दक्षिण एसियाली खेलकुदपछि उनी थाइल्यान्डमा स्थायी रूपमै बसोवास गर्दै आइरहेकी छिन् । पौडीमा आफ्नो सपना साकार पार्न र परिवार छाडेर थाइल्यान्डमा पढाइसँगै प्रशिक्षणलाई निरन्तरता दिनु डुवानाका लागि बाध्यता र अवसर दुवै हो । लगभग तीन वर्षदेखि डुवाना थाइल्यान्डमा प्रशिक्षणमा व्यस्त छिन् । नेपालमा स्कुल बिदा भएका वेला उनी थाइल्यान्डमा प्रशिक्षण गर्न जान्थिन् । नेपालमा सुविधासम्पन्न पूर्वाधार नहुँदा आफ्नो करिअर बनाउन परिवारबाट टाढा रहनु नेपाली स्विमिङ खेलाडीको बाध्यता हो ।
१६ वर्षीया डुवाना नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकी छिन् । समर्थक, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा विजेता घोषणा हुनेछ । यो अवार्डमा उनीसँगै क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र भलिबलकी उषा भण्डारी छन् ।
प्रशिक्षक शुभ श्रेष्ठले डुवानालाई स्विमिङको पहिलो र आधारभूत ज्ञान दिएका हुन् । ‘सानोमा पानीलाई असाध्यै माया गर्ने र तैरिने प्रयास गरेको देखेपछि प्रशिक्षणमा राखेका हौँ,’ डुवानाका बुबाले भने । ‘छोरी आठ वर्षको हुँदा यू–१० विधामा स्वर्ण जित्न थालिसकेकी थिइन् ।’ घरेलु प्रतियोगितामा डुवानाले त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्छिन् ।