Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार १०:१७:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

तारा एयर दुर्घटना प्रतिवेदन : ‘पाइलटको कमजोरीले दुर्घटना’

पाइलटले डाँडाकाँडा र सम्भावित जोखिमबारे जानकारी दिने सिस्टम ‘टिएडब्लुएस’ अफ गरिँदा जहाज दुर्घटना भएको प्रतिवेदनमा उल्लेख

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार १०:१७:००

१५ जेठमा पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको ट्विनअटर जहाज दुर्घटनामा पाइलटको त्रुटि देखिएको छ । उडिरहेको जहाजमा अगाडिका पहाड र त्यसको सम्भावित जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एन्ड वार्निङ सिस्टम (टिएडब्लुएस) नै बन्द गरिएको भेटिएको छ ।

चालक दलको कमजोरीका कारण जहाज पहाडमा ठोक्किएर दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगले निकालेको छ । चालक दलका सदस्यसहित २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनापश्चात् तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षमा पाँचसदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । जाँच आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

वरिपरि रहेका डाँडाकाँडा र सम्भावित जोखिमबारे जानकारी दिने प्रणाली ‘टिएडब्लुएस’ पाइलटले नै अफ गरेर जहाज उडाएको अध्ययनमा देखिएको आयोगका सदस्यसचिव एवं मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । जहाजको को–पाइलटलाई सम्बन्धित सेक्टर उडानमा कम अनुभव हुनु र जहाजमा रहेका नेभिगेसन उपकरण प्रयोग नगरिनु पनि दुर्घटनाको मुख्य कारण बनेको छ । जहाजको पाइलट प्रभाकर घिमिरे र को–पाइलटको भूमिकामा उत्सव पोखरेल थिए । तारा एयरको सेफ्टी डाइरेक्टरसमेत रहेका घिमिरे अनुभवी पाइलट मानिन्थे ।

पोखराबाट जोमसोमतर्फ उडेको ९एन–एइटी/डिएचसी६–३०० ट्विनअटर जहाज थासाङ गाउँपालिका– २ सानुसरेमा दुर्घटनामा परेको थियो । जहाज दुर्घटना भएको करिब नौ महिनापछि आयोगले विस्तृत जाँचबुझ गरी तयार गरेको मस्यौदा अन्तिम प्रतिवेदन बुधबार पर्यटनमन्त्री सुदन किराँतीलाई बुझाएको छ । जहाजको एउटा उपकरणको अनुसन्धान गर्न अमेरिका पठाउनुपर्दा प्रतिवेदन तयार पार्न ढिलाइ भएको सदस्यसचिव लामिछानेको भनाइ छ ।

प्रचालित कानुन र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अमेरिकाको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्ड (एनटिएसबी)समेतको सहयोगमा अन्तिम प्रतिवेदन तयार पारेको बताइएको छ । यो प्रतिवेदन मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) एनेक्स–१३ को प्रावधानबमोजिम ६० दिनको समय दिएर आइकाओलगायत सम्बन्धित मुलुक र निकायलाई आवश्यक रिभ्युका लागि पठाउने र ६० दिनपछि सार्वजनिक गरिने लामिछानेले बताए । 

आयोगको अध्ययन प्रतिवेदनअनुसार जहाज उडिरहेको इनरुटको मौसम हुस्सुले खराब बनेको थियो । खराब मौसमभित्र प्रवेश गरेको जहाजमा ‘वार्निङ’ दिने उपकरण ‘टिएडब्लुएस’ बन्द गरिएको हुनाले अगाडि रहेको पहाडबारे पाइलटले भेउ पाएनन् । ‘नचाहँदा–नचाहँदै जहाज बादलभित्र छिर्‍यो, बादलभित्र अन्धाधुन्ध भइहाल्यो, पाइलटले केही देख्न सकेनन्,’ लामिछानेले भने, ‘यदि पाइलटले टिएडब्लुएस सिस्टम बन्द नगरी जहाज उडाएको भए अगाडिको पहाड र सम्भावित जोखिमबारे सूचना (वार्निङ) प्राप्त हुन्थ्यो र दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो ।’

चालक दलले उडानमा पालना गर्नुपर्ने ‘प्रोपर रुल’ फलो नगरेको पनि अध्ययनमा भेटिएको छ । यस्तै, चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड ‘एसओपी’समेत पालना नगर्दा जहाज दुर्घटनामा परेको भेटिएको छ । इनरुटको मौसम खराब हुनु, टिएडब्लुएस अफ गरिँदा जहाज पहाडनजिकै पुग्दा पनि वार्निङ नआउनु, कुहिरोभित्र फसेको जहाजका चालक दलले तत्कालीन अवस्थाबारे जानकारी प्राप्त गर्न नसक्नु, को–पाइलटको सम्बन्धित सेक्टर उडानमा कम अनुभव हुनु, उडानका क्रममा क्रु रिसोर्स म्यानेजमेन्ट (सिआरएम) कमजोर हुनु, जहाजमा रहेका नेभिगेसन उपकरण पनि प्रयोग नगरिनु दुर्घटनाको मुख्य कारण बनेको प्रतिवेदनमा उल्लेख छ । 

तारा एयरको ट्विनअटर जहाज दुर्घटना भएको आठ महिना पनि नबित्दै यती समूहकै यती एयरलाइन्सको एटिआर–७२ जहाज १ माघमा पोखरामा दुर्घटनामा पर्‍यो । सो दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको छ । जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवैतर्फका इन्जिनको प्रोपेलर फेदरमा जाँदा जहाज दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

इन्जिनको प्रोपेल फेदरमा गएपछि इन्जिन चलिरहे पनि जहाज तान्नका लागि आवश्यक पावर दिन सक्दैन र जहाज भुइँमा बजारिन पुग्छ । यतीको एटिआर दुर्घटनामा पनि जहाजलाई तान्न आवश्यक पावर नपुग्दा जहाज खसेको भेटिएको छ । प्रोपेलर फेदरमा जानुमा प्राविधिक वा मानवीय वा दुवै पक्ष कसको कमी–कमजोरी थियो भन्ने विषयमा थप अध्ययन भइरहेको दुर्घटना जाँच आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्र घिमिरेले बताए ।