Skip This
सहकारीका सञ्चालक बेपत्ता भएपछि बचतकर्ता आक्रोशित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण १० बुधबार २o:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सहकारीका सञ्चालक बेपत्ता भएपछि बचतकर्ता आक्रोशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार २o:५५:oo

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारीका सञ्चालक फरार भएको भन्दै बुधबार बचतकर्ताहरूले सहकारीको कार्यालय र सहकारीले सञ्चालन गरेको डिपार्टमेन्ट स्टोरमा घेराउ गरेका छन्।

सहकारीका सञ्चालक सहकारी बन्द गरेर फरार भएको बचतकर्ताहरूको दाबी छ। उनीहरूले आफूहरूको करोडौँ रुपैयाँ जोखिममा परेको भन्दै गुनासो गरेका छन्।

बचत गरेको रकम फिर्ता लिन आउँदा सहकारीको कार्यालय नै बन्द भएको पाइएपछि बचतकर्ताहरूले एकअर्कालाई फोन गरेर बुधबार दिउँसो सहकारीको कार्यालयअघि जम्मा भएका थिए। सहकारी आइतबारदेखि नै बन्द रहेको बचतकर्ताहरूको दाबी छ।

बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै हेटौँडा शाखामा पनि बचतकर्ताले रकम फिर्ता माग्न थालेको केही बचतकर्ताहरूले बताएका छन्। उनीहरूले आफ्नो बचत रकम जोखिममा पर्न सक्ने भएपछि फिर्ता लिन चाहेको बताएका छन्। 

‘यस सहकारीले बचत फिर्ता गर्न नसकेको भन्ने हल्ला चलेपछि आफ्नो बचत रकम फिर्ता लिन सहकारी आएको तर बन्द छ। आइतबारदेखि नै सहकारी बन्द रहेको छ। सञ्चालकको फोन पनि स्विच अफ छ,’ बचतकर्ता सत्यमान श्रेष्ठले भने।

बचतकर्ताहरू आफूले बचत गरेको पैसा फिर्ता लिन भिड लाग्न थालेपछि गत आइतबारबाट हेटौँडा शाखा बन्द भएको उनको भनाइ छ। कार्यालय नै बन्द गरेर सञ्चालक तथा कर्मचारी नै बेपत्ता भएपछि हेटौँडाका बचतकर्ता चिन्तित बनेका छन्।

हेटौँडामा १६ शाखाको रूपमा रहेको यस सहकारीको केन्द्रीय कार्यालय भक्तपुरमा रहेको छ। केन्द्रीय कार्यालयबाट समेत सहकारीले सेवाग्राहीको बचत फिर्ता गर्न नसकेको सहकारीका बचतकर्ताहरूले बताएका छन्। 

सञ्चालक फरार भएपछि आक्रोशित बनेका बचतकर्ताहरूले हेटौँडा ४ पारिजात पथमा रहेको सहकारीले सञ्चालन गरेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको सटर बन्द गरिदिएका छन्।