Skip This
प्रशिक्षक तयार पार्दै पटिहानी फुटबल क्लब
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रशिक्षक तयार पार्दै पटिहानी फुटबल क्लब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

माध्यमिक तहका नेपाली शिक्षक गुणराज महताे ५४ वर्षका भए। खेलकुदमा अत्यधिक रुचि भएका उनी शिक्षकसँगै आफू कार्यरत विद्यालयको खेलशिक्षक पनि हुन्। पढाइसँगै विद्यालयका विद्यार्थीलाई भलिबल र फुटबल खेल सिकाउने उनी विद्यालय सहभागी भएको प्रतियोगितामा प्रशिक्षक बनेर पुग्छन्। 

भरतपुर– २२ पदमपोखरीको अमर उच्च माध्यमिक विद्यालयको खेलमैदानमा पटिहानी फुटबल क्लबले आयोजना सञ्चालित खेल प्रशिक्षक प्रशिक्षण तालिममा भेटिएका महताेले भने, ‘हामीले त अवसर नै नपाएका रहेछौँ। हचुवाको भरमा विद्यार्थीलाई सिकाएका रहेछौँ । आफूले जे देखेँ र विगतमा जे गरेँ पराम्परागत शैलीमा नै विद्यार्थीलाई खेलसम्बन्धी ज्ञान दिँदै आएको रहेछु। फुटबल भनेको छलाएर गोलपोस्टमा लगेर खुट्टाले बल हान्ने हो भन्ने मात्र बुझाइ थियो।’

खेलाडी र प्रशिक्षकका लागि शारीरिक अभ्यास मात्र नभई मनोविज्ञान, संस्कृति, मौसमलगायतका धेरै विषय बुझ्नपर्ने रहेछ। खेलशिक्षक भए पनि विगतमा मसँग यसबारे शून्य ज्ञान रहेछ । तालिम सकिँदै गर्दा महताे बल्ल पो साधारण तालिम दिन सक्ने प्रशिक्षक बने। 

पटिहानी फुटबल क्लबको आयोजनामा ‘शिक्षासँगै खेलकुद’ भन्ने नारासहित फागुन ६ देखि ९ गतेसम्म आयोजना गरिएको चारदिने तालिममा १२ जना विद्यालयका खेलशिक्षकसहित २९ जनाले प्रशिक्षण लिएका थिए। उनीहरू सबैको अनुभव महताेको जस्तै छ । भरतपुर– १३, उज्ज्वलनगरका रविन अधिकारी स्थानीय क्षेत्रमा टिम बनाएर चितवनसहित छिमेकी जिल्लाका विभिन्न फुटबल प्रतियोगितामा सहभागी हुँदै आएका छन्। 

२७ वर्षका अधिकारीले भने, ‘सानै उमेरदेखि हामीले सक्षम प्रशिक्षकबाट प्रशिक्षण पाएको भए आफ्नो खेललाई थप सुधार गर्न सकिन्थो होला।’ यद्यपि, अधिकारीको लक्ष्य तालिमपश्चात् गाउँमा रहेका बालबालिकालाई फुटबल सिकाउने र राष्ट्रिय टिममा सहभागी भएको हेर्ने छ। 

विद्यालय तहको खेलकुद सुधार्न र समुदायमा खेल प्रशिक्षक तयार पार्न खेल प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको पटिहानी फुटबल क्लब (पिएफसी)का अध्यक्ष पोष्टराज तिमल्सिनाले बताए। 

खेलको जगका रूपमा विद्यालय खेलकुद भएकाले त्यही तहबाट अब्बल खेलाडीको छनोट र उचित प्रशिक्षण दिन तालिम सफल हुने क्लबको विश्वास छ। 

तिमल्सिनाले भने, ‘क्लबहरूले सांस्कृतिक कार्यक्रम गर्छन्, राहत सामग्री हस्तान्तरण गर्छन् भन्ने सोचबाट माथि उठेर नेपालमा नै पहिलोपटक खेल प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेका छौँ। यसको रिजल्ट तत्काल नआए पनि दीर्घकालीन रूपमा धेरै अर्थ राख्छ।’ 

गण्डकी विश्वविद्यालयले प्राविधिक सहयोग गरेको यो तालिममा भरतपुर महानगरपालिका– २२ को कार्यालय र एलटिके आर्ट एन्ड स्पोर्टसले पनि समन्वय गरेको थियो।

नेपाली फुटसलका मुख्य प्रशिक्षक एवं एएफसी ए लाइसेन्स प्राप्त राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक विष्णु गुरुङसँगै चितवन जिल्ला फुटबल संघका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

तालिममा गण्डकी विश्वविद्यालयका ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदी, प्राध्यापक सुरेशबहादुर थापा, आशिष आचार्य र सोनाम बुद्ध लामाले सैद्धान्तिक ज्ञान दिए।

तालिममा सहभागी भरतपुर महानगरपालिका– २२ का वडासदस्य सूर्यबहादुर गुरुङले चार दिनको तालिमले आफूलाई विकासको परिभाषा नै बदलेको बताए। 

उनले भने, ‘विकास भनेको सडक, भवनलगायतका भौतिक पूर्वाधार मात्र हो जस्तो लाग्थ्यो। तर, खेलकुदको विकास पनि देश विकासको मुख्य आधार रहेछ,’ उनले भने । गुरुङका अनुसार राज्यले गर्नुपर्ने काम क्लबले गरेको छ । हामी वडा कार्यालयले पनि खेलकुदको विकासका लागि योजना बनाएर अघि बढ्नेछौँ।

०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले यसअघि विद्यालयमा खेलकुदको विकासका लागि जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो। क्लबले नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। क्लबका सचिव सुमन पौडेलका अनुसार लगत्तै क्लबले ग्रसारुट फुटबल सञ्चालन गर्दै छ।