मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
साढे ६ लाखमा खरिद गरिएका कम्प्युटर ब्रजमोहन झब्बुराम जनता मावि माडरमा यसरी थन्काइएको छ
२०७९ फाल्गुण ९ मंगलबार १०:५९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सिराहाका विद्यालयमा कम्प्युटर शिक्षा प्रभावहीन

कतै विद्यार्थीले छुन नपाउँदै कम्प्युटर बिग्रिए, कतै गोदाममा थन्क्याइए

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार १०:५९:००

सिराहा नगरपालिका– १८ लक्ष्मीनियाँमा रहेको जनता माध्यमिक विद्यालयको कक्षा आठमा ८२ छात्रछात्रा छन् । ती छात्रछात्रालाई यसपटक कम्प्युटर विषयमा कसरी उत्तर लेख्ने भन्ने भए थपिँदै गएको छ । विद्यालयमा पाँच थान डेस्कटप र दुई थान ल्यापटप कम्प्युटर छन् । बालबालिकालाई कम्प्युटर शिक्षा दिन स्थानीय सरकारले ती कम्प्युटर दिएको हो । तर, ती विद्युतीय उपकरण बालबालिकाले छुनसम्म पाउँदैनन् । 

विद्यालयमा कम्प्युटर शिक्षक छैनन् । यसले विद्यार्थीको पठनपाठन नै प्रभावित भएको छ । यससँगै प्रविधिसँग जोडिने उनीहरूको धोको पूरा हुन सकेको छैन । विद्यालयले खरिद गरेको कम्प्युटर बालबालिकाले प्रयोग गर्न नपाए पनि विद्यालयको प्रशासनिक कार्यमा प्रयोग भइरहेको छ ।

सिराहा नगरपालिका– १७ मा रहेको ब्रजमोहन झब्बुराम जनता माध्यमिक विद्यालय माडरमा विद्यार्थीलाई प्रविधिसँग जोड्न भन्दै ६ थान कम्प्युटर सेट प्रदान गरिएको छ । विद्यालयको एक स्टोर कक्षमा ६ सेट कम्प्युटर राखिएको छ । कक्षा आठमा एक सय ६० बालबालिका छन् । उनीहरू यसपटक कम्प्युटर नछोएरै परीक्षामा सहभागी हुँदै छन् । स्थानीय तहले उपलब्ध गराएको कम्प्युटर शिक्षक अभावले बिग्रिसकेको छ । जसले गर्दा बालबालिकाले माउस पनि छुन पाएका छैनन् ।

सिराहा नगरपालिका– १६ मा रहेको लालजी शकुन्तला माध्यमिक विद्यालयको अवस्था झन् बिजोग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षअगाडि विद्यालयमा २४ थान कम्प्युटर, युपिएसलगायत सामग्री प्रदान गरेको छ । त्यस विद्यालयमा कक्षा आठमा ६१ जना बालबालिका अध्ययन रहेका छन् । तीमध्ये कसैले कम्प्युटर छुन पाएका छैनन् । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आइसिटी कार्यक्रम सञ्चालनमा आएको छ । जसअन्तर्गत सामुदायिक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँ निकासा दिँदै आएको छ । विद्यालयले सो रकमबाट कम्प्युटरलगायत प्रविधिका सामग्री खरिद गरी पठनपाठन गराउनुपर्छ । त्यससँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा नेपाल दूरसञ्चार प्राधिकरणले पनि विभिन्न विद्यालयमा कम्प्युटरलगायत सामग्री प्रदान गरेको छ ।

कक्षा आठमा कम्प्युटर शिक्षा
चालू शैक्षिक सत्रमा कक्षा आठमा कम्प्युटर शिक्षा विषय रहेको छ । सिराहा नगरपालिकाका आधारभूत तहभन्दा माथि अर्थात् माध्यमिक तहका विद्यालयमा स्थानीय तह र विभिन्न संस्थाले आइसिटीका लागि नगद र सामग्री प्रदान गरेको छ । 
आगामी शैक्षिक सत्रदेखि कक्षा पाँच, आठ र दशको पाठ्यक्रम फेरिँदै छ । तर, यसपटक कक्षा आठमा अध्ययनरत बालबालिका विनातयारी परीक्षामा सहभागी हुनेछन् ।

कम्प्युटरसँग राम्रो स्पिडको इन्टरनेट सुविधा पनि हुनुपर्ने लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रामविनोद यादवले बताए । ‘आजको समयमा कम्प्युटर शिक्षा नितान्त जरुरी छ,’ उनले भने, ‘विद्यालयको पूर्वाधार विकास र कम्प्युटर शिक्षक अभावमा पठनपाठन नै भएको छैन ।’

विद्यालयमा आइसिटी दिएसँगै त्यसको जानकार शिक्षकको व्यवस्थापन गर्नुपर्ने माध्यमिक विद्यालय लक्ष्मीनियाँका प्रधानाध्यापक प्रमोद यादवले बताएका छन् । ‘शिक्षकको अभाव छ । सञ्चालन र कार्यान्वयन गर्न शिक्षक चाहियो,’ उनले भने, ‘कम्प्युटर भए पनि बालबालिकालाई पठनपाठन गराउन असमर्थ भयौँ ।’

ब्रजमोहन झब्बुराम जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज यादवले चलाउन नपाउँदै कम्प्युटर बिग्रिएको बताएका छन् । ‘कम्प्युटर खरिद गरी विद्यालयमा आए पनि सञ्चालनमा आउन सकेनन्,’ प्रअ यादवले भने, ‘मर्मतसम्भार भयो भने मात्र विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ, तर शिक्षकको अभाव छ ।’

पाठ्यपुस्तक समयमै नपाउने समस्या
विश्व प्रविधिमैत्री भइरहेको समयमा विद्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी छ । झन् पाठ्यपुस्तक समयमै पाउन नसक्ने अवस्था छ । जसले गर्दा प्रविधि जोडिएपछि विद्यार्थी र शिक्षकको स्वअध्ययनमा गर्न सहयोग मिल्ने बाल अधिकारकर्मी अशोक कामतीले बताए । उनले भने, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने अवस्था छैन । यसले समयमै करिकुलम डाउनलोड गरी पठनपाठन गराउन सकिन्छ । विद्यार्थीले कम्प्युटरको ज्ञान आर्जन गर्न सक्छ ।’

१२ मध्ये नौ विद्यालयमा शिक्षक अभाव
सिराहा नगरपालिका क्षेत्रमा १२ वटा माध्यमिक विद्यालय रहेका छन् । जसमध्ये नौवटामा कम्प्युटर शिक्षा प्रदान गर्न आइसिटी स्थापना गरिएको छ । ती विद्यालयमा शिक्षक अभाव छ । जसले गर्दा स्थानीय तह र नेपाल दूरसञ्चार प्राधिकरणले दिएको कम्प्युटर प्रयोगमा आउन सकेको छैन ।

सिराहा नगरपालिका– ११ मा रहेको माध्यमिक विद्यालय भलुवाही, वडा नम्बर २२ मा रहेको जनता माध्यमिक विद्यालय हकपारा, वडा नम्बर १९ मा रहेको जनता माध्यमिक विद्यालय सन्हैठा, सिराहा नगरपालिका– १ मा रहेको चन्द्र माध्यमिक विद्यालय सिराहा, वडा नम्बर १३ मा रहेको जनता माध्यमिक विद्यालय फुलबरिया, वडा नम्बर १६ मा रहेको लालजी शकुन्तला माध्यमिक विद्यालय माडर, वडा नम्बर १७ मा रहेको ब्रजमोहन झब्बुराम जनता माध्यमिक विद्यालय माडर र वडा २० मा रहेको जनता माध्यमिक विद्यालय लगडी गदियानीमा आइसिटीअन्तर्गत कम्प्युटर सामग्री उपलब्ध भएको छ ।