१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका न्युयोर्क
२o७९ फाल्गुण ८ सोमबार ११:o८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सन् २०२२ : तापक्रमको अभिलेख राख्न थालेयताको पाँचौँ तातो वर्ष

जलवायु परिवर्तनले वर्षा र उष्ण क्षेत्रीय आँधीलाई तीव्र बनाएको छ, खडेरीको गम्भीरतालाई गहिरो बनाएको छ भने आँधीबेहरीको प्रभाव बढाएको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार ११:o८:oo

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले सन् २०२२ पृथ्वीको सतहको औसत तापक्रमका दृष्टिमा पाँचाैँ तातो वर्ष थियो । तापक्रमको रेकर्ड राख्न थालिएको सन् १८८० यता गत नौ वर्ष सबैभन्दा तातो रह्यो । पृथ्वीको तापक्रम वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिँदै सन् २०२२ को विश्वव्यापी तापमान १९औँ शताब्दीको औसतभन्दा १.६ डिग्री फरेनहाइट वा ०.८९ डिग्री सेल्सियसभन्दा बढी रहेको अध्ययनले जनाएको छ । ‘तापमानको यो प्रवृत्ति डरलाग्दो छ,’ नासाका प्रशासक बिल नेल्सनले भने ।

‘बढ्दो तापमानले पहिलेबाटै छाप छोडिरहेका छन् । डढेलो तीव्र रूपमा बढिरहेको छ । आँधीबेहरीहरू पहिलेभन्दा बलिया हुँदै छन् । खडेरीको विनाशलीला बढिरहेको छ भने समूह सतह बढिरहेका छन् । यसबीच, नासाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न प्रतिबद्धतालाई घनीभूत बनाउँदै छ’, नेल्सनले भने । 

‘मानव गतिविधिहरूले वायुमण्डलमा ठूलो परिमाणमा हरितगृह ग्यासहरूको उत्सर्जन गरिरहनु तापमान वृद्धिको प्रवृत्तिका लागि जिम्मेवार छ । पृथ्वीमा यसका दीर्घकालीन प्रभाव जारी रहनेछन्’, जिआइएसएसका निर्देशक गेभिन स्मिटले भने । हरितगृह ग्यासको मानव उत्सर्जन सन् २०२० मा कोभिड–१९ महामारीका कारण अल्पकालीन गिरावट भए पनि अहिले पहिलेकै स्तरमा फर्किएको अध्ययनले जनाएको छ । हालैमा नासा र अन्य अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले सन् २०२२ मा कार्बन–डाइअक्साइडको उत्सर्जन उच्चस्तरमा रहेको भनी निर्धारण गरेको अध्ययनले बताएको छ । 

नासाले गत वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको अर्थ सरफेस मिनिरल डस्टसोर्स इन्भेस्टिगेसन उपकरण प्रयोग गरेर मिथेन (अर्को शक्तिशाली हरितगृह ग्यास)का केही उच्च उत्सर्जनकर्ता पनि पहिचान गरेको अध्ययनले जनाएको छ । गत वर्षको अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकमा प्रस्तुत जिआइएसएस अनुसन्धानका साथै अन्य छुट्टै अध्ययनअनुसार पनि आर्कटिक क्षेत्रले तापमान वृद्धिको सबैभन्दा बलियो प्रवृत्तिको अनुभव जारी राखेको छ, जुन विश्वव्यापी औसतको करिब चार गुणा बढी छ । जलवायु परिवर्तनले वर्षा र उष्ण क्षेत्रीय आँधीलाई तीव्र बनाएको छ, खडेरीको गम्भीरतालाई गहिरो बनाएको छ भने आँधीबेहरीको प्रभाव बढाएको छ ।

गत वर्षले ल्याएको मुसलधारे मनसुनी वर्षाले पाकिस्तानलाई तहसनहस बनायो । अमेरिकाको दक्षिणपश्चिममा लामो खडेरी निम्त्यायो । सेप्टेम्बरमा आएको इयान नामक तुफान अमेरिकालाई प्रहार गर्ने सबैभन्दा शक्तिशाली र महँगो आँधीमध्ये एक बन्यो ।

कसरी विश्वव्यापी तापमान समयसँगै परिवर्तन हुन्छ भन्ने जान्नका लागि नासाले सन् १९५१ देखि सन् १९८० को अवधिलाई बेसलाइनका रूपमा प्रयोग गरेको थियो । यो बेसलाइनमा ला निना र एल निनोजस्ता जलवायु ढाँचाका साथै अन्य कारणले असामान्य रूपमा तातो वा चिसो वर्ष समावेश छन् । बेसलाइनले पृथ्वीको तापक्रममा आउने प्राकृतिक भिन्नतालाई समेटेको अध्ययनको दाबी छ । 
–एजेन्सी