१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
न्युयोर्क एजेन्सी
२०७९ फाल्गुण ७ आइतबार ०९:३४:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

छुरा प्रहारको ६ महिनापछि रुस्दीको नयाँ उपन्यास सार्वजनिक

Read Time : > 1 मिनेट
न्युयोर्क एजेन्सी
२०७९ फाल्गुण ७ आइतबार ०९:३४:००

छुरा प्रहार भएको ६ महिनापछि भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीले आफ्नो नयाँ उपन्यास ‘भिक्टोरी सिटी’ प्रकाशित गरेका छन् । यो सहरमा शासन गर्ने पितृसत्ताविरुद्ध विद्रोह छेड्ने १४औँ शताब्दीकी एक महिलाको ‘महाकाव्य कथा’ हो । 

यो पुस्तक उनलाई मृत्युको मुखमा पुर्‍याउने गरी भएको चक्कु आक्रमणभन्दा अघि नै लेखिएको थियो । उपन्यास मूल रूपमा संस्कृतमा लेखिएको ऐतिहासिक महाकाव्यको अनुवाद भएको बताइएको छ । धेरै अपेक्षा गरिएको यो कृतिले एक जवान अनाथ केटी पम्पा कम्पानाको कथा बताउँछ, जसलाई देवीबाट जादुई शक्ति प्राप्त छ । कम्पानाले अहिले बिस्नाग भनिने सहर फेला पार्छिन्, जसलाई भिक्टोरी सिटीको रूपमा व्याख्या गरिएको छ । 

७५ वर्षीय रुस्दीले आफ्नो शारीरिक अवस्थाका कारण आफ्नो १५औँ उपन्यासको प्रचारप्रसार भने गर्ने छैनन् । उनका एजेन्ट एन्ड्रिउ वाइलीले उनको स्वास्थ्यमा सुधार भइरहेको बेलायती समाचार संस्था द गार्जियनलाई बताएका छन् । अगस्ट १२ मा न्युयोर्ककोे चौताउकामा एउटा साहित्यक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनीमाथि अन्धाधुन्द चक्कु प्रहार भएको थियो । मुस्लिम संसारमा आलोचित उनको कृति द सटानिक भर्सेसले ईशनिन्दा गरेको भन्दै इरानका प्रथम सर्वोच्च नेता आयोतोल्ला रुहोल्ला खोमेनीले उनलाई हत्या गर्ने निर्देशन दिएपछि रुस्दी वर्षौंदेखि लुकेर बसिरहेका थिए ।

छुरा प्रहार गर्ने व्यक्ति न्युजर्सीका लेबनानी मूलका २४ वर्षीय हाडी माटरलाई आक्रमणपछि तुरुन्तै गिरफ्तार गरिएको थियो । आक्रमणपछि २० वर्षदेखि अमेरिकामा बस्दै आएका रुस्दीको एउटा आँखाको दृष्टि गुमेको र एउटा हातमा समस्या देखिएको उनका एजेन्टले अक्टोबरमा बताएका थिए । आक्रमणले पूरै पश्चिमा जगत्लाई स्तब्ध बनाएको थियो भने पाकिस्तान र इरानजस्ता मुस्लिम देशका अतिवादीले स्वागत गरेका थिए ।

व्यक्तिगत रूपमा पुस्तकको प्रचार नगरी रुस्दीले आफ्नो नयाँ उपन्यासको प्रेस समीक्षाहरू सेयर गर्न सामाजिक सञ्जाल ट्विटरमार्फत कुराकानी गर्न थालेका छन् । प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसका अनुसार रुस्दीको नयाँ कृतिले ‘पितृसत्तात्मक संसारमा महिलाहरूलाई समान हैसियत दिने’ आन्दोलनमा लागेकी एक नायिकालाई पछ्याउँछ । पुस्तकले पम्पा कम्पाना सिर्जित सहर र त्यसको पतनको कथा बताउँछ । 

अमेरिकी लेखक कोलुम म्याकक्यानले न्युयोर्क टाइम्समा लेखेअनुसार रुस्दीले भिक्टोरी सिटीमा ‘निकै गहिरो कुरा’ बताइरहेका छन् । अट्लान्टिक म्यागेजिनले पुस्तक वशीभूत बनाउने खालको रहेको भन्दै यसलाई क्रान्तिको रूपमा अथ्र्याएको छ । म्यागेजिन टिप्पणी गर्छ, ‘रुस्दीका उपन्यासहरू अद्भूत हुन्छन् ।’ 

सन् १९४७ मा मुम्बईमा जन्मेका रुस्दीले १९७५ मा आफ्नो पहिलो उपन्यास ‘ग्रिमस’ प्रकाशित गरेका थिए । त्यसको ६ वर्षपछि ‘मिडनाइट्स चिल्ड्रेन’सँगै विश्वव्यापी ख्याति कमाए । यसका लागि उनले बेलायतमा बुकर पुरस्कार प्राप्त गरे । भिक्टोरी सिटी केही दिनअघिबाट अमेरिका र बेलायतमा सार्वजनिक भएको छ । 
– एजेन्सी