
व्याँस गाउँपालिकाका कर्मचारी कार्यालय छोडेर धनगढी पुगेका छन्। प्रमुख प्रशासकीय अधिकृतसँगै लेखापाल, इन्जिनियर, सबइन्जिनियर र प्राविधिक कर्मचारी धनगढी गएका हुन्।
व्याँस गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडू फागुन ३ गतेदेखि फागुन ९ गते महेन्द्रनगर काज भनेर बाहिर गएका छन्। लेखापाल गोपालसिंह विष्ट फागुन ३ गतेबाट ९ गतेसम्मै भनेर काज धनगढी देखाएका छन्। लेखापाल र प्रमुख प्रशासकीय अधिकृत बडूले सँगै कार्यालय छोडेका छन्।
गाउँपालिकाका इन्जिनियर रमेशसिंह धामी, सबइन्जिनियर भुवन पन्त, प्राविधिक वीरेन्द्र विष्ट र प्रेम कोट्टारी पनि धनगढी पुगेका छन्।
गत पुस ७ गते हाजिर भएका इन्जिनियर धामीले माघ २२ गतेबाट कार्यालयमा हाजिरसमेत लगाएका छैनन्। अहिलेसम्म इन्जिनियर के काममा गएकोबारे पालिका बेखबर छ।
यस्तै, सबइन्जिनियर भवुन पन्तले माघ २९ गतेबाट हाजिर लगाएका छैनन् । प्राविधिक भुवन विष्ट माघ २५ गतेबाट फिल्ड देखाएर धनगढी पुगेका छन्।
प्रेम कोट्टारी माघ १३ गतेबाट हाजिर भएका छैनन्। उनी अभिमुखीकरण कार्यक्रमका लागि भन्दै बिदामा उल्लेख गरे पनि कहाँ के–कति दिनका लागि गए उल्लेख छैन।
कार्यालय छोडेकोबारे प्रमुख प्रशासकीय अधिकृत बडू भने लेखापाल र आफू कार्यालयकै काममा महेन्द्रनगर धनगढी आएको बताउँछन्। उनले भने, ‘हामी व्याँस विशेष कार्यक्रमको कामका लागि आएका हौँ। कार्यालय प्रमुख आएपछि लेखापालको पनि काम हुँदैन। त्यही भएर हामी यता आएका हाैँ।’
प्राविधिक फाँटका चारजना कर्मचारी बाहिर गएकोबारे भने उनले एकजना कर्मचारी बिरामी भएका कारण पुग्न ढिलाइ भएको प्रस्ट्याए। ‘अरू कर्मचारी एक–दुई दिन बिदा भएको कारण बाहिर आएका होलान्,’ उनले भने।
व्याँस गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने दुई दिनदेखि प्राविधिक शाखा बन्द रहेको भन्दै फागुन ८ गते हुने कार्यपालिका बैठकमा यो विषयमा समीक्षा हुने बताए।
उनले सामाजिक सञ्जालमै लेखेका छन्, ‘व्याँस गाउँपालिका प्राविधिक शाखामा कुनै कर्मचारी भेटिएनन्। पैसा नै चाहिन्छ भने भिख माग न कचौरी थापेर ।’ उनले अगाडि लेखेका छन्, ‘व्याँसका कर्मचारी व्याँस सरकारका हुन्। कुनै अमुक ठेकेदारका प्रतिनिधि होइनन्। कसैको आदेशमा चल्ने भए उसैको उतै गए हुन्छ।’
कर्मचारी कार्यालयमा नभएको विषयमा गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले अनभिज्ञता देखाए। उनले भने, ‘खै कर्मचारी कता छन् कता मलाई कुनै जानकारी छैन।’
कतिपयले भने व्याँस गाउँपालिकाले १५ शय्या अस्पतालको ठेक्का मिलाउन गएको आशंका व्यक्त गरेका छन्। ठेक्काको अहिले प्राविधिक मूल्यांकन भइरहेको छ। आर्थिक प्रस्ताव खोल्न बाँकी छ। प्रमुख प्रशासकीय अधिकृत बडू भने आफूहरू ठेक्का मिलाउन नगएको दाबी गर्छन्।
उनले भने, ‘हामी कुनै ठेक्का मिलाउन गएका होइनौँ, व्याँस विशेष कार्यक्रमको कामले मात्रै आएका हौँ। इबिडिङमा खोलेको ठेक्का मिलाउने काम सम्भव छैन।’
तर, गाउँपालिका प्रवक्ताको सामाजिक सञ्जालमा लेखिएको स्टाटस र प्राविधिक जनशक्ति पूरै लिएर धनगढी जानुमा ठेक्कासँग सम्बन्धित विषय हुन सक्ने धेरैले आकलन गरेका छन्।