१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे पुरी शंकराचार्य, यस्तो छ तीनदिने कार्यतालिका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:o१:oo

उडिसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्रि पर्वका लागि बिहीबार काठमाडौं आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट आइपुगेका हुन्। 

उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। भारत वर्षमा हिन्दु धर्मका सर्वाेच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा रहनेछन्। शंकराचार्यले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र हिन्दु धर्मका अनुयायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

सोमबारदेखि पशुपति क्षेत्रमा सुरु भएको लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन्। शनिबार महाशिवरात्रिमा उनी प्रमुख पात्रका रूपमा रहन्छन्। ‘महाशिवरात्रि पर्वमा कोही पनि प्रमुख अतिथि हुँदैनन्। उहाँको प्रमुख उपस्थिति हुने गरी कार्यक्रम तय भएको छ,’ खतिवडाले भने। 

आइतबार पनि उनले पशुपतिनाथ परिसरस्थित शंकराचार्य मठमा सहभागीहरूलाई सम्बोधन गर्ने र दीक्षा दिने कार्यक्रम छ। 

शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ। जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ,’ खतिवडाले भने। 

शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग समबन्धित प्राध्यापक एवं विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। ‘वैदिक गणितका उहाँ प्रकाण्ड विद्वान हुनुहुन्छ। उहाँले वैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनु हुने कार्यक्रम छ,’ खतिवडाले भने। 

शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाइएको छ। उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए। 

शंकराचार्य निश्चलानन्द सरस्वती आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औँ उत्तराधिकारी हुन्। 

भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पीठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन्। 

गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने भारतवर्षको पूर्वी क्षेत्र  हेर्दै आएका छन्। नेपाल सांस्कृतिक रूपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ। 

शंकराचार्य सरस्वती सोमबार बुद्ध एयरको उडानबाट भारतको वाराणसी प्रस्थान गर्ने कार्यक्रम छ।

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका 

ad
ad