Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार १६:२६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा बालीनाली सुक्दै

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार १६:२६:००

हिमाली जिल्ला ताप्लेजुङमा पाँच महिनादेखि वर्षा नहुँदा बालीनाली सुक्न थालेका छन् । असोजको पहिलो सातापछि वर्षा भएको छैन । वर्षा नहुँदा जिल्लाको प्रमुख नगदेबाली अलैँची र सुन्तलासहित अन्य बालीहरू सुक्न थालेका छन् ।

खोल्सा र मूलमा समेत पानी हराउन थालेपछि कृषक चिन्तित भएका छन् । सबैभन्दा धेरै समस्य नगदेबाली अलैँचीमा परेको छ । यतिवेला हरिया देखिने अलैँची बगानहरू सुकेर उजाड देखिन थालेका छन् । अझै हिउँ नपरेपछि चिस्यान क्षेत्रमा समेत सुक्खा लागेको छ ।

फुङलिङ नगरपालिका– १० मयामका  किसान  मानबहादुर कार्कीले खेतको अलैँची राताम्मै  भएर सुकेको बताए । गत वर्षहरूमा अनुकूल मौसम हुँदा यसअघि उत्पादनमा वृद्धि भएको थियो  । तर, अर्को वर्ष भने उत्पादनमा ठूलो ह्रास आउने भन्दै फुङलिङ– ६ का कृषक बलबहादुर गुरुङले चिन्ता व्यक्त गरे । उनले भने, ‘पालो गरेर बोट भिजाउने गरेका थियौँ । तर, यस वर्ष खोलामा समेत पानी सुकेकाले सिँचाइ गर्न सकेका छैनौँ ।’ 

ताप्लेजुङका तल्लो भेगमा साउन र माथिल्लो भेगमा कात्तिक अन्तिमसम्म अलैँची टिप्ने गरिन्छ । त्यसपछि मंसिर पहिलो सातादेखि सिँचाइ गर्नुपर्छ । किसानले जरामा चिस्यान बनाउन पात–पतिंगरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने गरेका छन् । गएको हिउँदमा माघ अन्तिमसम्म हिउँसँगै चारपटकसम्म वर्षा भएको थियो । तर, यस वर्ष हिमपात र वर्षा नहुँदा हिउँदे बालीमा असर परेको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्षमा जिल्लामा दुई हजार ६ सय ५० मेट्रिक टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । फल लाग्नुअघि यो समयमा अलैँचीको टुसा लाग्ने गर्छ, जसले अर्को वर्ष  मात्र उत्पादन दिन्छ ।

तर, पानी अत्यधिक चाहिने समयमा नै वर्षा नभएपछि आगामी वर्ष उत्पादनमा ह्रास आउने निश्चित भएको छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने भए पनि यस वर्ष फागुन लाग्दा पनि हिमालमा हिउँ नपरेको स्थानीय किसान भीम गुरुङले बताए ।