मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ फाल्गुण १ सोमबार ०६:३३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्रिकेटमा ‘स्पट फिक्सिङ’ प्रकरण व्यवस्थापकसहित पाँच समूहको संलग्नता

तीन खेलमा मिलेमतो पुष्टि, ११ जनाविरुद्ध मुद्दा दायर हुँदै

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ फाल्गुण १ सोमबार ०६:३३:००

एक महिनाअघि सम्पन्न नेपाल टी–२० लिगअन्तर्गतको १६औँ खेल विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीच थियो । १६ पुसमा भएको उक्त प्रतिस्पर्धामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले विराटनगरलाई एक सय ९० रनको लक्ष्य दियो । 

विराटनगरको नियमित ओपनरमा प्रदीप ऐरी र गौरंशु शर्मा तयार थिए । तर, टिमका कप्तान एन्ड्री म्याकार्थी गौरंशुलाई लिएर आफैँ ओपनिङ ब्याटिङमा उत्रिए । जसबाट प्रदीप र टिमका खेलाडी मात्र होइन कोच लिन्डर फ्रासेर पनि आश्चर्यमा परे । त्योभन्दा आश्चर्यजनक एन्ड्रीको ब्याटिङ शैली थियो । एक सय ९० रनको विशाल लक्ष्य रहेकोमा कोचले पावर प्ले (सुरुवाती ६ ओभर)मा कम्तीमा ५०–६० रनको अपेक्षा गरेका थिए । तर, एन्ड्रीले टेस्ट शैलीमा ब्याटिङ गरे ।

पावर प्लेको खेल सकिँदा टिमले जम्मा २९ रन जोडेको थियो । अर्का ब्याट्सम्यान गौरंशुले २० बलमा २२ रन बनाउँदा म्याकार्थीले १६ बलमा जम्मा सात रन मात्र जोडेका थिए । बुकी गिरोहले पावर प्लेमा २९ रनभन्दा धेरै नबनाउने गरी गरेको ‘डिल’अनुसार नै ओपनिङमा गएर उनले यसरी खेलेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानले यसलाई पुष्टि गरेको छ । 

पावर प्लेको अन्तिम ओभरमा उनको ब्याटिङबाटै मिलेमतो प्रस्ट देखिन्छ । छैटौँ ओभरको दोस्रो बलमा नै २९ रन पुगेपछि त्यसपछिका चार बल रक्षात्मक शैलीमा ‘डट बल’ खेलेर उनले फिक्सिङ गरेको सिआइबीको निष्कर्ष छ । यही फिक्सिङका लागि प्रदीपलाई रोकेर आफैँ ओपनिङ ब्याटिङमा उत्रिएका थिए । पावर प्लेमा भएको सोही गल्तीका कारण विराटनगरले खेल ४९ रनले हारेको थियो ।

खेलपछि सञ्चारमाध्यमसँग बोल्दै टिमका कोच फ्रासेरले पावर प्लेमा आफ्ना खेलाडीले अस्वाभाविक खेल खेलेको भन्दै असन्तुष्टि जनाएका थिए । अप्रत्यक्ष रूपमा उनले फिक्सिङको आशंका गरेका थिए, नभन्दै प्रहरी अनुसन्धानमा त्यो पुष्टि भएको छ । वेस्टविन्डिजका फ्रासेरले यसबारे प्रहरीमा पनि कागज गरिदिएका छन् । टिमकै अन्य खेलाडीले पनि सो खेलको पावर प्लेमा २९ रन मात्र बनाउन प्रस्ताव आएको विषयमा प्रहरीलाई जानकारी गराएका छन् । 

म्याकार्थीलाई त्यसरी फिक्सिङमा लगाउने काम टिमकै म्यानेजर राहुल शर्माले गरेका थिए । भारतीय मूलका अमेरिकी नागरिक शर्मा यस विषयमा छानबिन सुरु भएलगत्तै अमेरिका भागेका थिए । सिआइबीले विराटनगरका म्यानेजर तथा कप्तानकै मिलेमतोमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ । तर, दुवैजना अनुसन्धान चलिरेहकै वेला फर्किएकाले यसमा बाँकी गिरोह को थियो भन्ने प्रस्ट हुन सकेको छैन । उनीहरूलाई फरार अभियुक्तका रूपमा मुद्दा चलाउने सिआइबीको तयारी छ । सो टिमका खेलाडी गौरंशु राहुलकै छोरा हुन्, तर उनको भने संलग्नता देखिएको छैन । 

फिक्सिङ र व्यवस्थापन कमजोरीका कारण अस्तव्यस्त बन्दा विवादित बनेको सो लिगमा कम्तीमा तीन खेलमा फिक्सिङ भएको निष्कर्ष सिआइबीले निकालेको छ । यसमा संलग्न तीनजनालाई ब्युरोले पक्राउ गरिसकेको छ । अनुसन्धान अन्तिम चरणमा पु¥याएको प्रहरीले पाँच छुट्टाछुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।
 
चार नेपाली, सात विदेशीको संलग्नता 
सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार स्पट फिक्सिङमा हालसम्म ११ जनाको संलग्नता पुष्टि भइसकेको छ । ‘अहिलेसम्मको अनुसन्धानमा ११ जनाको संलग्नता प्रस्ट भइसकेको छ,’ उनले भने, ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ, सम्भवतः मंगलबार सरकारी वकिललाई फाइल बुझाउँछौँ ।’ यससम्बन्धी कानुन आएपछि खेलकुदमा मिलेमतोसम्बन्धी यो पहिलो मुद्दा हो । 

११ जनाको संलग्नता देखिए पनि प्रहरीले तीनजनालाई मात्र पक्राउ गर्न सकेको छ । पूर्वखेलाडी महबुब आलम, राष्ट्रिय टिमकै खेलाडी मोहमद आदिल आलम र वीरगन्जका क्रिकेटर नितेश गुप्ता पक्राउ परेका छन् । जनकपुर रोयल्सका खेलाडी आदिलले पनि बुकीकै निर्देशनअनुसार दुई खेलमा ‘नो बल’ र वाइड फालेको पुष्टि भइसकेको छ । १२ पुसमा भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा १२ ओभरमा फिक्सिङअनुसार उनले ‘नो बल’ र वाइड फालेको सिआइबी दाबी छ । १४ पुसमा फार वेस्ट युनाइटेडविरुद्धको खेलको छैटौँ ओभरमा पनि उनले त्यसैगरी लगातार ‘नो बल’ र वाइड फालेका थिए । 

आलम र आदिललाई यसरी स्पट फिक्सिङमा लगाउने बुकीको सिआइबीले पहिचान गरेको छ । आलमको सम्बन्ध सप्तरीकै रवि माझीसँग देखिएको छ । जो लामो समयदेखि बुकीको धन्दामा छन् । बुकीकै धन्दामा लागेर सम्पत्ति सिध्याएका माझी भारतमा बस्दै आएका छन् । प्रहरीसँगको बयानमा आलमले माझीकै कारण आफू यस्तो गलत बाटोमा लागेको बताएका छन् । आलमले आफूनिकट केही खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेकोमा ती खेलाडीले अस्वीकार गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियमअनुसार जानकारी गराएका थिए । आलमविरुद्ध दुईवटा छुट्टाछुट्टै अभियोग दायर हुने सम्भावना छ । चार नेपाली र सात विदेशीविरुद्ध मुद्दा दायर हुन लागेको हो । 

आदिललाई समिर सेख नामक व्यक्तिले फिक्सिङका लागि परिचालन गरेका थिए । सेखबारे प्रहरीले विस्तृत पत्ता लगाउन सकेको छैन । आदिलले नै उनीबारे धेरै बताउन नसकेको स्रोत बताउँछ । प्रहरीसँगको बयानमा भने आदिलले बुकीकै योजनाअनुसार आफूले बलिङ गरेको स्वीकार गरेका छन्, तर पैसा भने नलिएको उनको दाबी छ । उनको खातामा एक व्यक्तिले चार लाख रुपैयाँ हालिदिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सो रकम सापटीबापतको भएको उनको दाबी छ, तर त्यसको स्रोत पुष्टि गर्न सकेका छैनन् । 

आइपिएल खेलाउने प्रलोभनमा मलेसियन खेलाडीलाई फिक्सिङ प्रस्ताव 
यो लिगमा स्पट फिक्सिङको पोल सुरुमा काठमाडौं नाइट्समा आबद्ध एक मलेसियन खेलाडीले खोलेका थिए । उनीमाथि टिम व्यवस्थापनमा आबद्ध व्यक्तिबाट यस्तो प्रस्ताव आएको थियो । काठमाडौं नाइट्समा सपोर्ट स्टाफका रूपमा काम गरेका विकास ध्वानी नामक भारतीयले ती खेलाडीलाई फिक्सिङ प्रस्ताव गरेका थिए । ती खेलाडीले लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई जानकारी गराएपछि विस्तृत छानबिन सुरु भएको थियो ।

सो सूचना पाएपछि सो प्रतियोगितामा आइसिसीबाट ‘एन्टिकरप्सन म्यानेजर’का रूपमा खटिएका वीर सिंहले त्यस्तो हर्कत गरे थुनिदिने धम्की दिएपछि लिगको व्यवस्थापन टिमका तीन मुख्य व्यक्ति भोलिपल्टै भारत भागे । लिग व्यवस्थापनको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का सञ्चालकहरू जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद एकैपटक भागेका थिए । व्यवस्थापन टिमका एक सदस्यबाट त्यस्तो फिक्सिङको प्रस्ताव गएपछि काठमाडौं नाइट्सका धनी नवीन कँडेलको भने त्यसमा संलग्नता देखिएको छैन । जतिनसँगको चिनजानका आधारमा अन्तिम समयमा आफू सो टिममा आबद्ध भएको र टिमबारे विस्तृत जानकारीसमेत नभएको बयान उनले दिएका छन् । 

विनोदले ती मलेसियन खेलाडीलाई आफूले भनेअनुसार माने आइपिएलसमेत खेलाइदिने आश्वासन दिएका थिए । उनले आइसिसीलाई गराएको जानकारीअनुसार जतिन र अभिशेखको भारतमा पहुँच भएको र अहिले थोरै सहयोग गरिदिए आइपिएल र क्यानेडियन लिग खेलाइदिने आश्वासन दिएको बताएका छन् । सोही आधारमा प्रहरीले लिगको व्यवस्थापन टिममाथि नै मुद्दा दायर गर्न लागेको हो । 

यो लिगमा अर्काे बुकी समूह पनि सक्रिय थियो । वीरगन्जबाट पक्राउ परेका नितेश सोही समूहका सदस्य हुन् । उनले पोखरा एभेन्जर्सका खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेका थिए । तर, ती खेलाडीले अस्वीकार गरी तत्कालै त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराएका थिए । 

वीरगन्जका गुप्ता स्थानीय क्रिकेटर हुन् । आफ्ना एक भारतीय साथीको आग्रहमा त्यस्तो प्रस्ताव राखेको उनले स्विकारेका छन् । यसमा छुट्टै समूहको संलग्नता देखिएको छ । जसमा दुईजनालाई छुट्टै अभियोग दायर हुन लागेको छ । सिआइबीले पाँच छुट्टाछुट्टै अभियोग सरकारी वकिल हुँदै अदालत लैजाने प्रहरी तयारी छ । ‘हालसम्म क्यान र अन्य खेलाडीको मिलेमतो देखिएको छैन,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘अन्य केही खेल शंकास्पद देखिन्छन्, त्यसमा पछि छुट्टै अनुसन्धान हुन्छ ।’ खेलमा मिलेमतोसम्बन्धी कसुरमा हदम्याद नहुने भएकाले जुनसुकै वेला प्रहरीले मुद्दा चलाउन सक्ने अवस्था छ । 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अभियोग दायर गर्न लागेको छ । जसअनुसार तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । 

व्यवस्थापकको नियत नै फिक्सिङ
नेपाल क्रिकेट संघ (क्यान)बाट लिग सञ्चालनका लागि जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्को नियत नै फिक्सिङलगायत अवैध गतिविधिबाट पैसा कमाउने रहेको सिआइबीको निचोड छ । विदेशबाट खेलाडी ल्याउँदा र क्याप्टेन छान्दादेखि नै फिक्सिङ गराउने योजना देखिएको अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । सोही कारण छानबिन हुने हल्ला सुरु भएलगत्तै त्यसका सञ्चालक भागेका थिए । 

‘एकातर्फ कतिपय आफ्ना विश्वासिला खेलाडीलाई लिगमा भित्र्याइएको थियो,’ सिआइबीका एक उच्च अधिकारी भन्छन्, ‘अर्काेतर्फ टिमबाट पैसा नउठ्ने भएपछि फिक्सिङबाटै उनीहरूले कमाउन खोजेको देखिन्छ ।’ 

व्यवस्थापनले बेटिङ कम्पनी एक्सवानबेटलाई मुख्य प्रायोजक बनाएको थियो । नेपालमा बेटिङ अवैध भए पनि बेटिङ कम्पनीलाई नै यसरी प्रायोजक बनाएकामा प्रश्न उठेको थियो । फिक्सिङमा एक्सवानबेटको समेत मिलेमतो हुन सक्ने भए पनि त्यसतर्फ विस्तृत अनुसन्धान हुन सकेको छैन । क्यानले विनाप्रतिस्पर्धा सो कम्पनीलाई लिग व्यवस्थापनको जिम्मेवारी दिएको थियो । जसको क्रिकेट क्षेत्रबाटै विरोध भयो । फिक्सिङ गरेको र सम्झौताअनुसार पैसासमेत नदिएपछि क्यानसँगको सम्झौता रद्द भइसकेको छ । 

तीन खेलमा मिलेमतो पुष्टि, ११ जनाविरुद्ध मुद्दा दायर हुँदै

  • नेपाल क्रिकेट संघ(क्यान)बाट लिग सञ्चालनका लागि जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्को नियत नै फिक्सिङलगायत अवैध गतिविधिबाट पैसा कमाउने रहेको सिआइबीको निचोड छ । विदेशबाट खेलाडी ल्याउँदा र क्याप्टेन छान्दादेखि नै फिक्सिङ गराउने योजना देखिएको अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । सोही कारण छानबिन हुने हल्ला सुरु भएलगत्तै त्यसका सञ्चालक भागेका थिए ।
  • सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार हालसम्म ११ जनाको संलग्नता पुष्टि भइसकेको छ । ‘अहिलेसम्मको अनुसन्धानमा ११ जनाको संलग्नता प्रस्ट भइसकेको छ,’ उनी भन्छन्, ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ, सम्भवतः मंगलबार सरकारी वकिललाई फाइल बुझाउँछौँ ।’ यससम्बन्धी कानुन आएपछि खेलकुदमा मिलेमतोसम्बन्धी यो पहिलो मुद्दा हो । ११ जनाको संलग्नता देखिए पनि प्रहरीले तीनजनालाई मात्र पक्राउ गर्न सकेको छ । पूर्वखेलाडी महबुब आलम, राष्ट्रिय टिमकै खेलाडी मोहमद आदिल आलम र वीरगन्जका क्रिकेटर नितेश गुप्ता पक्राउ परेका छन् ।