मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १ सोमबार ०६:२३:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

चितवनका मतदाताले दिएको जिम्मेवारी पूरा गर्न फेरि उम्मेदवारी दिन्छु : रवि लामिछाने

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १ सोमबार ०६:२३:००

निर्वाचन आयोगले चितवन २ मा उपनिर्वाचन घोषणा गरेको छ, तपाईंंको उम्मेदवारी रहन्छ वा रास्वपाबाट अरू कोही अघि सार्नुहुन्छ ? 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो उम्मेदवारी रहन्छ । चितवनका मतदाताले दिएको जिम्मेवारी पूरा गर्न फेरि उम्मेदवारी दिन्छु । 

तपाईं गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना छ कि ?
यसमा कुनै छलफल भएको छैन । चुनावमा गठबन्धन गर्ने पक्षमा हामी छैनौँ । तर, अरू दलले सघाए भने स्वीकार गर्छाैँ, यो अरू दलले सोच्ने विषय हो । हाम्रोतर्फबाट गठबन्धनको पहल हुँदैन, आफ्नै बलमा उठ्नुपर्छ भन्ने विश्वास राख्छौँ । 

तपाईंले उपनिर्वाचन नभई सरकारमा जान्न भन्नुभएको छ । तपाईंको पार्टी उपनिर्वाचनअगावै सरकारमा फर्किने सम्भावना कतिको छ ?
यसमा छलफल चलाउँछौँ । उपनिर्वाचनमा म मात्रै उठ्ने हो । पार्टी सरकारमा सहभागिताका लागि आफ्नै विषय छन् । विभिन्न उल्झन देखिएका छन् । राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नु छ । न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषय छन् । उपनिर्वाचनलाई सरकारमा सहभागी हुने आधार मान्नुहुँदैन । दलहरूको समझादारीको अवस्थालगायत विषयमा आधारित हुन्छ । 

राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र मतभेद भएको विषय तपाईंले संयन्त्रको बैठकमा उठाउनुभएको थियो । के रहेछ वास्तविकता ? 

तपाईंहरूको मतभेद के हो ? छलफल गर्नुस् र सहमतिमा स्पष्ट भएर टुंग्याउनुस् भन्ने मत राखेका छौँ । सहमतिको स्पिरिटमा जाने सल्लाह भएको छ । 

राष्ट्रपति निर्वाचनको असर उपनिर्वाचनमा पर्छ कि पर्दैन ? 
मैले यसरी हेरेको छैन । यी दुई अलग विषय हुन् । यसले असर गर्नुपर्ने देख्दिनँ । तर, सत्तासमीकरण र गठबन्धन नै तलमाथि भयो भने समग्र राजनीतिमा असर पर्छ, त्यो नहोला । अनुभवीलाई समेटेर लैजाने प्रतिबद्धता छ । कुनै असमझदारी छन् भने त्यसलाई सरसल्लाहमा जाने कुरा भएकाले उपनिर्वाचनलाई असर नपर्ला कि ! समीकरण फेरिएको अवस्थामा कसले उम्मेदवारी दिने वा नदिने अरू दललाई लागू होला । तर, हाम्रो दलले जुनसुकै परिस्थितिमा उम्मेदवारी दिन्छ । रास्वपाको हकमा खासै फरक पार्दैन । 

दोहोरो राहदानी प्रयोग सम्बन्धमा तपाईंविरुद्ध अनुसन्धान सुरु भएको छ, यसले तपाईंको उम्मेदवारी प्रक्रिया वा परिणाममा कस्तो असर पार्ला कि ? 
यसलाई मैले सामान्य रूपमा लिएको छु, मैले पहिले नै सबै कुरा स्पष्ट पारिसकेको छु । राज्यबाट हुने अनुसन्धानमा पूर्ण रूपमा सघाउँछु । कुनै पनि चिजमा अनुसन्धान सुरु हुनु भनेको त्यसले एउटा उम्मेदवारलाई फरक पार्ने भन्ने हुँदैन । त्यस्तो कुनै प्रावधान छ जस्तो मलाई लाग्दैन । अन्तिम किनारा लागेर दोषी ठहर भइसकेपछिको बेग्लै कुरा हो । चरणहरू छन् । अनुसन्धान असाध्यै प्रारम्भिक चरणमा छ । त्यसैले त्यसको त्यति धेरै असर गर्छ छ जस्तो लाग्दैन । 

उपनिर्वाचन मिति घोषणा हुनुअघि नै चितवन पुगेर मतदाता भेट्नुभयो प्रतिक्रिया के पाउनुभयो ? 
धेरै मतदाता दुखी हुनुभएको छ । मसँग भेटेर रुनु भएको छ । चिन्ता नगर्नुस्, अझ बढी मतले जित्नुहुन्छ, तपाईंबाट हामीले आशा अपेक्षा गरेका छौं, हामी साथमा छौं, जुनसुकै विषम परिस्थितिमा पनि साथ दिन तयार छौं भनेर अधिकांशले भनिरहनुभएको छ । मतदाताले घण्टीको आवाज अझै दह्रो गरी बजाउँछौं भनेर आश्वस्त बनाउनुभएको छ, त्यही गर्नुहुन्छ होला । 

फेरि जित्नेमा आशावादी हुनुुहुन्छ ?
जित्ने भनेरै चुनाव लड्ने हो । तर, निर्वाचनलाई कम आकलन गर्नुहुन्न् । प्रशस्त आधारसहित एउटा उम्मेदवार जित्ने भनेर लाग्ने हो । तर, निर्वाचनमा गइसकेपछि परिणामभन्दा अघि नै ठोकुवा गर्न मलाई राम्रो लाग्दैन । पहिला पनि ठोकुवा गरिनँ । तर प्रशस्त आधार छन् । लार्जेस्ट जनमतले जितेको मान्छे हुँ । भर्खरै निर्वाचन क्षेत्रमा गएको र त्यहाँको उत्साह हेर्दाखेरी म एकदमै आशावादी छु । भर्खरै सम्पन्न निर्वाचनमा मुलुकै सर्वाधिक मतान्तरले जितेको आधारमा अलि बढी विश्वस्त छु ।