१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस चितवन
२०७९ माघ २९ आइतबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वि.सं. २०८० लाई ‘भरतपुर भ्रमण वर्ष’को रूपमा मनाइने

Read Time : < 1 मिनेट
रासस, चितवन
२०७९ माघ २९ आइतबार १५:३६:००

भरतपुर महानगरपालिकाले वि.सं. २०८० लाई भ्रमण वर्षका रूपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो ।

महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आइतबार छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । 

पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो । उनीहरूले वडामा रहेका हरेक टोलसुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा सुधारको आवश्यकता रहेको बताए । भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर ६ सयभन्दा बढी होटेल सञ्चालनमा छन् । जिल्लामा भएका होटेललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो ।

भरतपुर महानगरका पर्यटनविज्ञ डा. विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक रहेको बताए । बिग्रँदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको स्पष्ट पारे ।