
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउन सक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको बताएका छन् ।
शुक्रबार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालू आर्थिक वर्ष ०७९–८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले व्यवस्था गरेका नीतिका विषयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताएका हुन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई अर्धवार्षिक समीक्षामा सजगतापूर्वक विगतकै कसिलो नीतिलाई निरन्तरता दिइएको उनले स्वीकार गरे ।
‘चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशामा सजगतापूर्वक कसिलो राखिएको अवस्था हो । विगतलाई नै निरन्तता दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, भोलि आउन सक्ने असहजता, अर्थतन्त्रको समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राखेर मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको हो,’ उनले भने ।
प्रवक्ता भट्टले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था विगतको तुलनामा केही सहज भए पनि स्टेकहोल्डरको अपेक्षा बढ्दै गएको र केही सहजता गरिदिनुपर्ने देखिएकाले सोहीअनुरूप नीतिगत व्यवस्था गरेको बताए ।
राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गरेको प्रवक्ता भट्टको दाबी छ । उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई ०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको दुई करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी ०८० असार मसान्तभित्र पुनः संरचना तथा पुनः तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने उल्लेख गरे ।