Skip This
नागरिक उन्मुक्तिका सांसद नफर्केपछि प्रदेश सभा बैठक अन्याेलमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिका सांसद नफर्केपछि प्रदेश सभा बैठक अन्याेलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट आज विश्वासको मत लिँदै छन्।

दिउँसो १ बजे आह्वान गरिएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, मुख्यमन्त्रीले विश्वासको मत पाउने निश्चित छैन। 

काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य फर्किएका छैनन्। नागरिक उन्मुक्ति पार्टीका सांसदलाई कुर्न बैठक केहीबेर सर्ने सम्भावना छ। संसद् सचिवालय स्रोतका अनुसार १ बजे बोलाइएको बैठक सरकारको आग्रहमा केही घन्टा सार्ने तयारी भइरहेको छ। 

बहुमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिका सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री रावलको सरकार ढल्नेछ। संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने आज अन्तिम दिन हो। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

गत २७ पुसमा नियुक्त भएका मुख्यमन्त्री रावलले आज बेलुकी पाँच बजेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन्।

सातजना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी बहुमतका लागि निर्णायक छ । ५३ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ । सत्तापक्षमा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाका एक गरी २१ जना मात्र छन्। 

कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र प्रतिपक्षमा छन्। नागरिक उन्मुक्तिले मत नदिए सरकार जोगाउन प्रतिपक्षी कांग्रेसले मत दिनुपर्नेछ, तर त्यो सम्भावना छैन । मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके संविधानको व्यवस्थाअनुसार ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।

नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य अहिले पार्टीका संरक्षक रेशम चौधरी रहेको डिल्लीबजार कारागारमा छन्। तत्काल फर्कने कुनै तयारी नरहेको उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए। 

सत्तापक्षसँग कुनै सहमति नभएकाले फर्कने तयारी नरहेको उनले बताए । ‘छलफल भइरहेको छ, सहमति भइसकेको छैन, त्यसैले हामी फर्कने–नफर्कने निर्णय भएको छैन,’ चौधरीले भने, ‘हामी डिल्लीबजार कारागारमा छौँ। भित्र छलफल भइरहेको छ।’

चौधरीका अनुसार एमाले महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्टले रेशमसँग छलफल गरिरहेका छन् । 

यसैबीच नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आत्मसमर्पणको शैलीमा सरकारलाई विश्वासको मत दिन नसक्ने संकेत गरेकी छिन् । प्रदेश सभाका सातैजना सदस्यसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने । योद्धाहरू त सहिद भएर मर्छन्, तर परिचय मर्न दिँदैनन् ।’