Skip This
त्रिसिद्धेश्वरी यातायातले ल्यायो सुतेर यात्रा गर्न मिल्ने बस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ माघ २५ बुधबार १६:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

त्रिसिद्धेश्वरी यातायातले ल्यायो सुतेर यात्रा गर्न मिल्ने बस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार १६:१७:oo

त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुरले सुतेर यात्रा गर्न मिल्ने बस ल्याएको छ। 

मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी साबिकको राप्ती अञ्चलमै पहिलोपटक ‘एयर सस्पेन्सन सिलिपर एसी’ गाडीबाट सेवा दिन थालिएको अध्यक्ष सुरेश हमालले बताए। ‘हामीले पहिलोपटक एयर सस्पेन्सन गाडीहरू ल्याएका छौँ,’ उनले भने, ‘यसले यात्रुहरूलाई सहजता थप्नेछ।’ 

यस्ता चारवटा गाडी तुलसीपुर ल्याएको अध्यक्ष हमालको भनाइ छ। उनका अनुसार ती गाडी ४० सिटे छन्। जसमध्ये ३२ वटा सिटमा बसेर यात्रा गर्न सकिने र आठवटा सिटमा सुतेर यात्रा गर्न सकिने बताए। एउटा क्याबिनमा दुईजना सुतेर यात्रा गर्न मिल्छ।

पहिलो चरणमा ती गाडी दाङ–काठमाडौं चल्नेछन्। दाङ–काठमाडौं यात्राका क्रममा सामान्य सिटमा एक हजार आठ सय र सुतेर जाने सिटमा दुई हजार भाडा कायम गरिएको अध्यक्ष हमालले बताए। उनका अनुसार ८० लाखको लागतमा उक्त गाडी भित्र्याइएको हो। ती गाडीले बिहीबारदेखि सेवा दिनेछन्।  

हाल प्रालिले नेपालका विभिन्न स्थान तथा भारतमा पनि सेवा दिँदै आएको छ। प्रालिसँग हाल पाँच सय ६५ साना, ठूला तथा मझौला गाडी छन्।  

यात्रुहरूको मागलाई मध्यनजर गरी आफूहरूले डिलक्स, एसी, ब्लु स्काई, सेभेन स्टार गाडीहरू यसअघि नै सञ्चालनमा ल्याएको अध्यक्ष हमालको भनाइ छ। 

साथै केही समयमा अनलाइनबाट टिकेट बुकिङ गर्ने तयारी गरेकोसमेत उनको भनाइ छ। अध्यक्ष हमालका अनुसार नेपालका ५० जिल्ला तथा भारतको नयाँदिल्लीसम्मका लागि सेवा प्रदान गर्दै आएको छ। 

०४१ सालमा राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न थालिएको हो। त्यसपछि समितिहरूलाई प्रालिमा जानुपर्ने नीति ल्याएपछि ०७६ सालमा प्रालिमा गएको थियो। 

हाल प्रालिमा एक सय ८७  जना कर्मचारी कार्यरत छन्। प्रालिमा मजदुर तथा कर्मचारी गरी दुई हजारजनाले रोजगार पाएकोसमेत अध्यक्ष हमालले बताए। समितिले कर्मचारी तथा व्यवसायीको १० लाखसम्मको दुर्घटना बिमा, तीन लाखसम्मको औषधाेपचारको बिमाको समेत व्यवस्था गरेको छ। साथै प्रालिमा आबद्ध व्यवसायीको मृत्यु भएमा परिवारलाई एक लाख तथा कर्मचारी वा मजदुरको मृत्यु भएमा २५ हजार सहयोग गर्दै आएको छ। 

त्यस्तै, कर्मचारी तथा मजदुरहरूलाई क्यान्सर, मिर्गौलाजस्ता रोग लागेमा ५० हजार सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस्तै प्रालिमा दर्ता भएका गाडीको बिमा गराउँदा पाँच हजार नगदसमेत सहयोग गर्ने गरेको अध्यक्ष हमालले बताए। 

प्रालिले दुर्घटना न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा बाबाका मन्दिरहरू र प्रतीक्षालयहरू निर्माण गरेको छ। प्रालिमार्फत सञ्चालन भएका गाडीहरूमा दृष्टिविहीन यात्रुहरूलाई निःशुल्क र अगांग यात्रुहरूलाई ५० प्रतिशतसम्म छुट दिर्दै आएको छ। 

गोला प्रथाबाट बस उपहार

त्रिसिद्धेश्वरी यातायात प्रालिले अधिवेशनको अवसरमा गोलाप्रथाबाट एकजना व्यवसायीलाई बस उपहार दिने भएको छ। फागुन १२ र १३ गते हुने अधिवेशनका क्रममा उक्त कार्यक्रम हुनेछ। अधिवेशनको उदघाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका केन्द्रीय अध्यक्ष विजयकुमार स्वाँरले गर्ने तय भएको छ।