१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भारतविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै नेपाली खेलाडी
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २५ बुधबार ०६:२३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतलाई हराउँदै नेपाल फाइनलमा

राउन्ड रोबिन लिगको अन्तिम खेलमा उपाधि दाबेदार भारतमाथि ३–१ को जित निकाल्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम दुईमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २५ बुधबार ०६:२३:००

नेपाल दक्षिण एसियाली साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपाली महिला टोलीले मंगलबार बंगलादेशको ढाकामा उपाधि दाबेदार भारतमाथि ३–१ को सानदार जित निकाली अन्तिम दुईको स्थान पक्का गरेको हो । साफ यू–२० महिलामा नेपालको यो पहिलो फाइनल यात्रा हो । राउन्ड रोबिन लिगमा नेपालले तीन खेलबाट ६ अंक बटुली अन्तिम दुई स्थान सुरक्षित गरेको हो । लिगअन्तर्गत बंगलादेशले भुटानसँग खेल्दै छ । नेपालसँग पराजित भएको भारतको फाइनल पुग्ने गणितीय आधार बाँकी नै छ । 

बंगलादेशले भुटानलाई सहजै पराजित गर्दा लिग चरणको शीर्ष स्थान वा बराबरीमा रोक्दा पनि दोस्रो स्थानमा रहँदै नेपालसँग उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ । भुटानसँग अनपेक्षित नतिजा सामना गर्दा बंगलादेश र भारतमध्ये एक टोली फाइनल पुग्नेछ । दुवैले दुई खेलबाट समान चार अंक बटुलेका छन् । भुटानविरुद्ध बंगलादेश विजयी हुँदा भारत प्रतियोगिताबाट बाहिरिनेछ । यसै कारण भारत प्रतियोगितामा टिकिरहेको हो । भुटान भने अंकविहीन छ । भुटानले बंगलादेशलाई हराउँदा पनि फाइनल पुग्न सक्दैन । 

 दोस्रो हाफमा नेपालको पुनरागमन 
ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा रंगशालामा नेपाली टोली एक समय १–० ले पछि परेको थियो । खेलमा सम्हालिन नपाउँदै भारतले २१औँ मिनेटमा १–० को अग्रता बनायो । नेपाली डिफेन्स लाइन कमजोर हुँदा भारतीय खेलाडी अपूर्णा नार्जरीले अग्रता गोल गरिन् । पहिलो हाफमा नेपालले भारतलाई थप गोल गर्न दिएन । नेपालले भारतीय स्ट्राइकरहरूलाई सहजै डिबक्समा छिर्न दिएको थिएन । मध्यान्तरपछि नेपालको खेलमा परिवर्तन आयो । 

दोस्रो हाफको खेल सुरु भएसँगै नेपाली महिला खेलाडी आक्रामक रूपमा प्रस्तुत भए । खेलको ४८औँ मिनेटमा अञ्जली चन्दले नेपाललाई १–१ को बराबरीमा ल्याइन् । भारतकी गोलरक्षकले बल राम्रोसँग क्लियर गर्न नसकेको फाइदा लिँदै अञ्जलीले खाली पोस्टमा गोल गरेकी हुन् । बराबरी गोलपछि नेपाली खेलाडी उत्साहित मात्र भएनन्, भारतमाथि दबाब राख्दै गएका थिए । भारतले थप अग्रता गोल गर्न कोसिस गरिरहेको थियो । खेलको ६९औँ मिनेटमा नेपालले खेलमा पहिलोपटक २–१ को अग्रता लियो । यसपटक कप्तान प्रीति राईले सहजै पेनाल्टीमा नेपाललाई अग्रता दिलाइन् । दीपा शाहीमाथि भारतीय डिफेन्डरले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । कप्तान प्रीतिले कुनै पनि गल्ती नगरी पेनाल्टीमा गोल गरिन् । 

 अमिषाको नाममा चार गोल 
निर्धारित समयको प्रतिस्पर्धा सकिन एक मिनेटअघि अमिषा कार्कीले नेपाललाई ३–१ को जितका लागि गोल गरिन् । अमिषाले उत्कृष्ट फिनिसिङ गरेकी हुन् । प्रतियोगितामा अमिषाले चार र प्रीतिले समग्रमा दुई गोल गरेका छन् । राउन्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले भुटानमाथि ४–० को जित निकाल्दा अमिषाले ह्याट्रिक गरेकी थिइन् । प्रतियोगितामा नेपालले दुई जित र एक हारको सामना गरेको छ । भारतले तीन खेलमा समान एक जित, हार र बराबरी खेल्यो । बंगलादेशले दुई खेलमा समान जित र बराबरी खेलेको छ । भुटानले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । भारतले भुटानलाई पहिलो खेलमा १२–० को फराकिलो अन्तरले हराएको थियो । भारत र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो ।

खुसी छैनन् प्रशिक्षक गुरुङ
राउन्डरोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि सानदार जित निकाल्यो । यद्यपि, नेपालका मुख्य प्रशिक्षक यम गुरुङ नतिजाबाट खुसी हुन सकेनन् । खेलाडीहरूले भारतसँग सोचे जस्तो खेल्न नसकेको उनको भनाइ छ । यसै कारण भारतमाथिको ऐतिहासिक जितले पनि उनी खेलाडीको प्रदर्शनबाट खुसी देखिएनन् । उनका अनुसार निर्णायक खेलमा नेपाली खेलाडीले शतप्रतिशत खेल्न सकेनन् । ‘म खेलाडीहरूको प्रदर्शनबाट खुसी छैनँ, उनीहरूले भारतविरुद्ध ६० प्रतिशत मात्र प्रयास गरे,’ प्रशिक्षक गुरुङले भने । प्रतिस्पर्धामा नेपालले पेनाल्टी हात पार्नु नै खेलको टर्निङ प्वाइन्टका रूपमा रहेको गुरुङले बताए । ‘पेनाल्टी प्राप्त गर्नु खेलको टर्निङ प्वाइन्ट थियो,’ उनले भने, ‘त्यसपछि नेपाल खेलमा फर्किएको हो ।’ 

यस्तो छ इतिहास
दक्षिण एसियाली फुटबल महासंघले पहिलोपटक साफ यू–२० महिला च्याम्पियनसिप आयोजना गरेको हो । सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिप आयोजना भएको थियो । पाँच वर्षअघि भएको प्रतियोगितामा ६ टोली सहभागी थिए । भुटानमा भएको प्रतियोगितामा नेपालले भारतलाई सेमिफाइनलमा टाइब्रेकरमा हराउँदै फाइनल पुगेको थियो । उपाधि भिडन्तमा बंगलादेशसँग नेपाल १–० ले पराजित भयो ।

सन् २०२१ मा साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना भयो । बंगलादेशमा भएको सो प्रतियोगितामा पाँच टोली सहभागी थिए । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हरायो । नेपालले तेस्रो खेलमा भुटानलाई पनि पाखा लगायो । राउन्ड रोबिन लिगमा नेपाल अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदा फाइनल पुग्न असफल भयो ।

सन् २०२२ मा भारतले आयोजना गरेको साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले राम्रो नतिजा निकाल्न सकेन । केवल तीन टोली मात्र सहभागी भएको यू–१८ प्रतियोगितामा नेपालले भारत र बंगलादेशसँग समान दुई खेल खेलेको थियो । नेपाल चारवटै खेलमा पराजित भएको थियो । 

नेपाली महिला टोलीले उमेरस्तर तथा सिनियरस्तरको अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन । दक्षिण एसियाली फुटबल महासंघले महिलातर्फ आयोजना गरेको उमेरसमूहको प्रतियोगितामा भारतले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । एकपटक बंगलादेशले उपाधि हात पारेको छ । गत वर्ष भुटानमा आयोजित प्रतियोगिताको फाइनलमा भारत बंगलादेशसँग पराजित भयो ।