एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नमिल्ने तर्क धारणा राखे ।
संसदमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा विगतका सरकारहरूले अध्यादेश ल्याएर गल्ती गरेको नेम्वाङको निष्कर्ष थियो । संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै उनले त्यस्तो गर्न नमिल्ने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
‘तत्काल केही गर्न आवश्यक पर्याे भने अध्यादेश ल्याउने व्यवस्था छ । सरकारलाई दिइएको यो राइट नै हो । तर, यो अपवादका लागि हो,’ उनले भने, ‘आज १२ बजेसम्म उसको पार्लियामेन्ट चलिराखेको छ । त्यसलाई बन्द गरेर भोलिपल्ट अध्यादेश ल्याउने होइन । अध्यादेश ल्याउनुपर्ने अवस्था रहेछ, कानुन बनाउनुपर्ने अवस्था रहेछ भने पार्लियामेन्ट १४ दिन लम्ब्याउनुपर्दछ । पार्लियामेन्टमा ल्याउनुपर्छ कानुन ।’
उपाध्यक्ष नेम्वाङले भारतीय संविधान निर्माता अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरू आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने प्रस्ट्याए ।