मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २१ शनिबार ०६:१३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपक्षी गठबन्धन बनाउँदै कांग्रेस

Read Time : > 1 मिनेट
२०७९ माघ २१ शनिबार ०६:१३:००

शनिबार बिहान साढे नौ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा जनमोर्चा, लोसपा र एकीकृत समाजवादीलाई बोलाइएको छ, नेमकिपालाई भने बोलाइएको छैन

सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा तनाव भइरहेका वेला संसद्को ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसले विपक्षी गठबन्धन बनाउने गृहकार्य थालेको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले प्रतिपक्षी दलहरूकोे बैठक आह्वान गरेको छ । 

कांग्रेस मुख्य सचेतकसमेत रहेका नेता रमेश लेखकका अनुसार शनिबार बिहान साढे नौ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ । सरकार गठनपछि पहिलोपटक कांग्रेसले औपचारिक रूपमा अन्य दलहरूसँग छलफल गर्न लागेको हो । 

नेता लेखकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनलगायत समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताए । बैठकमा राष्ट्रपतिको विषयमा पनि छलफल हुन सक्ने उनले बताए । ‘समसामयिक विषयमा छलफल गर्न लागेका हौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको विषयमा छलफल हुनेछ । राष्ट्रपति निर्वाचनको विषयमा पनि कुराकानी होला । तर, त्यसका लागि हामीसँग समय छ,’ उनले नयाँ पत्रिकासँग भने ।

बैठकमा जनमोर्चा, लोसपा र एकीकृत समाजवादीलाई बोलाइएको छ । बैठकमा प्रतिपक्षी भूमिकामा रहेको नेमकिपालाई भने बोलाइएको छैन । अरू दलसँग पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भएको सभामुख र उपसभामुख निर्वाचनमा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा एक ठाउँ थिए । कांग्रेसले यही आधारमा विपक्षी गठबन्धनलाई राष्ट्रपति निर्वाचनसम्म लैजान प्रयास गरेको हो । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रतिपक्षमा रहेका दलहरूबीच के–कसरी अघि बढ्ने भन्ने विषय टुंगो लाग्ने बताए । ‘राजनीतिक परिस्थितिका विषयमा दलहरूबीच हुने छलफल सामान्य हो । छलफलमा बसेपछि के–कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी हुन्छ,’ उनले भने ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै राष्ट्रपति निर्वाचनमा चासो राख्दै आएको छ । कांग्रेसको ९ माघमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा समझदारी जुटाउन प्रयत्न गर्ने निर्णय गरेको थियो । 

राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने कांग्रेसको रणनीति छ । संविधान रक्षाका लागि पनि राष्ट्रपतिमा दाबी गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् । उम्मेदवारीबारे कांग्रेसले अन्य दलहरूस“ग अनौपचारिक छलफल जारी राखेको छ । 

५९ सांसद रहेका राष्ट्रिय सभामा एमालेका १६, माओवादीका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोसपा र जनमोर्चाका एक–एक, स्वतन्त्र एक, मनोनीत तीनजना सदस्य रहेका छन् । एक सिट रिक्त छ । जित हासिल गर्नका ३० संख्या आवश्यक पर्छ ।