
सन् २०१८ को फिफा विश्वकप च्याम्पियन फ्रान्सेली टोलीका रक्षक राफायल भारानेले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका छन् ।
२९ वर्षीय सेन्ट्रल ब्याक भारानेले बिहीबार अन्तर्राष्ट्रिय खेलबाट अलग्गिने निर्णय लिएका हुन् । ‘मैले केही महिनादेखि सन्न्यास लिने सोच बनाएको थिएँ । समय आएपछि निर्णय लिने बताएको थिएँ, आज त्यो समय आएको छ,’ सोसल मिडियामा सन्न्यासको घोषणा गर्दै भारानेले भने ।
चार वर्षअघि फ्रान्सले रसियामा विश्वकप उपाधि जित्दा भाराने प्रमुख खेलाडी थिए । कतार विश्वकप २०२२ मा उपविजेता हुँदासमेत भाराने टोलीमै थिए । इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका रक्षक भारानेले सन् २०१३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।
भारानेले फ्रान्सको राष्ट्रिय टोलीबाट ९३ क्याप जितेका छन् । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले गत महिना सन्न्यास लिएका थिए ।