
उच्च अदालतले क्षेत्राधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधीवक्ता कार्यालयले थुनामै राख्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएकै दिन नेपाल क्रिकेट संघ क्यानले बालिका बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा चलिरहेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकका सहभागी एक सदस्यले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपमाथि लागेको निलम्बन फुकुवा भएको नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।
‘बैठकको मुख्य एजेन्डामध्ये सन्दीपको फुकुवा पनि एक थियो, आजको बोर्ड बैठकमा त्यो पास भएको छ,’ ती सदस्यले भने, ‘बैठकमा उपस्थिति सबै सदस्यले सन्दीपको फुकुवामाथि सहमति जनाएका छन् ।’
बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई २३ भदौमा निलम्बन गरेको थियो ।
सन्दीप गत २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो ।
तर, २९ पुसमा पाटन उच्च अदालतले २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएपछि उनलाई राष्ट्रिय टोलीमा बोलाउने र फुकुवा गर्नुपर्ने पक्षमा छलफल चलेको थियो । यद्यपि सन्दीप दोषी हुन् वा होइनन् भन्ने फैसला आउन बाँकी छ ।
सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि २३ भदौमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
महान्यायाधीवक्ता कार्यालयले सातवटा आधारमा लामिछानेलाई छाडिएको भन्दै उच्च अदालतले अघि सारेका ती आधार कानुनी र न्यायिक दृष्टिकोणले समेत उपयुत्तः नभएको दावी गर्दै लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आज सर्वोच्चमा निवेदन दिएको छ ।